मन्त्रिपरिषद्को निर्णय, केही सचिवहरूको सरुवा

मन्त्रिपरिषद्को निर्णय, केही सचिवहरूको सरुवा


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ६ कात्तिक ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले केही सचिवहरूको सरुवा गरेको छ । यस क्रममा शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

यसैगरी बैठकले
ङइन्द्रप्रसाद उपाध्याय – लोक सेवा आयोग,
मधुप्रसाद रेग्मी – शिक्षा,
मोहन कृष्ण सापकोटा – गृह,
रेश्मीराज पाण्डे – सामान्य प्रशासन,
युवकध्वज जिसी – वन, र
प्रकाश माथेमा – पशुपक्षी मन्त्रालय को सचिवमा पदस्थापन गरेको छ ।

त्यसैगरी विष्णु ओम बाँडेलाई सह–सचिवबाट सचिवमा बढुवा गरिएको छ भने शिक्षा सचिव शेषनाथ अधिकारी र भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्द पोखरेलको राजीनामा बैठकले स्वीकृत गरिएको छ ।

‘गिरानचौर एकीकृत नमूना’ बस्तीलाई रजिस्टर दस्तुर छुट

बैठकले भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा पूर्व अर्थसचिव युवराज भुसाललाई तत्कालका लागि जिम्मेवारी दिएको छ । बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकस्थित भूकम्पपीडितका लागि ‘गिरानचौर एकीकृत नमूना’ बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लिखित पारितमा लाग्ने रजिस्टर दस्तुर छुट दिने व्यवस्था पनि स्वीकृत गरेको छ ।

नेपाल सरकार र युरोपियन युनियनबीच निर्वाचनको परिवेक्षणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निणयसमेत बैठकले गरेको छ । लाइभ स्टक्स सेक्टर इनोभेसन प्रोजेक्टका लागि विश्व बैंकबाट ८० मिलियन डलर ऋण सहायता लिने सम्झौतासम्बन्धी वार्ताका लागि टोली गठन गर्ने अख्तियारी दिने निर्णय बैठकले गरेको जनाएको छ ।

त्यस्तै “चिकित्सा शिक्षा अध्यादेशका बारेमा सहमति भएको छ, छलफल गरेर निर्णयमा पुग्न बाँकी छ, अर्कोपटकमा यसबारेमा निर्णय हुन्छ”, सरकारका प्रवक्ता बस्नेतले भने।

Logo