सरकारमा सहभागी हुन राप्रपाले बोलायो आकस्मिक बैठक

सरकारमा सहभागी हुन राप्रपाले बोलायो आकस्मिक बैठक


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीका शीर्ष नेतृत्वको गए राति नेपाली काँग्रेसका नेताहरुसँग सरकारमा सहभागिताका लागि भएको सहमतिपछि अहिले ११ बजे आकस्मिक बैठक बोलाइएको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी अध्यक्ष कमल थापाले सरकारमा सहभागी हुन प्रस्ताव आएको बताए ।

सत्तारुढ माओवादी केन्द्रले विपक्षी एमालेसँग चुनावी तालमेलसँगै एकता गर्ने सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनगर्ठनको प्रयास थालेका छन् । यदि बहुमत पुगेमा माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने उनको तयारी छ ।

कांग्रेसले राजपा, फोरम, राप्रपासहितका ६ दलको लोकतान्त्रिक गठबन्धन बनाएको छ । गठबन्धनमा आवद्ध दलहरुलाई सरकारमा समेट्न देउवाले लगातार छलफल गर्दै आएका छन् ।

राप्रपा बैठकले पनि नैतिक रुपमा माओवादी सरकारमा बस्न नहुने निष्कर्ष निकालेको छ ।

बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा दिउँसो फेरि बस्ने राप्रपा बैठकले नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको बृहत् लोकतान्त्रिक गठबन्धनमा समेत अब पार्टीले सहभागिता जनाउने बताइएको छ । गठबन्धनमा सहभागी भएमा राप्रपालाई सरकारमा सामेल हुन सहज हुनेछ ।

Logo