शिक्षकहरुको आन्दोलन कति जायज कति नाजायज ?

(रामजी बलामी)

शिक्षक अर्थात गुरु । जोबिना कुनै पनि व्यक्तिको जीवन सार्थक बन्न सक्दैन । तसर्थ हरेक व्यक्तिकालागि सबैभन्दा आदरणीय व्यक्ति हुन् गुरु । संसारमा ‘सर’ भन्न लायक सिमित व्यक्तिहरु मध्ये अग्रपंक्तिमा पर्छन् गुरुहरु । त्यसकारण शिक्षण पेशा सबैभन्दा सम्मानित र मर्यादित पेशा हो ।

यतिबेला तिनै गुरुहरु सडक संघर्षमा होमिएका छन् । बार्षिक तथा एसईई परीक्षाको संघारमा मौका नै छोपे जसरी एकाएक आन्दोलन चर्काएका गुरुवर्गहरुका बारेमा टिका टिप्पणी र बहसहरु भईरहेका छन् । बिद्यालय नै बन्द गरि राजधानी केन्द्रित आन्दोलन गरिरहेका मर्यादित गुरुहरुमाथि प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा र मुक्का प्रहार गरे । जुन फोटो अहिले सामाजिक सञ्जालमा मसला बनिरहेको छ ।

कुनै पनि पेशाकर्मीले आफ्नो पेशागत सुरक्षा र हकहितका लागि लड्न पाउनुपर्छ । सरकार अथवा मालिकले जो कोहीले पनि पेशाकर्मीको मागप्रति संवेदनशील भएर सोच्नुपर्छ । अझ सबैभन्दा मर्यादित मानिने शिक्षण पेशा अंगालेका आदरणीय गुरुवर्गहरुलाई यसरी सडकमै आउन बाध्य तुल्याउनु झनै लज्जास्पद कुरा हो । तर, आन्दोलित गुरुवर्गलाई सडकमा आउन बाध्य पारेका हुन् कि मौका छोप्दै सडकमा होमिएका हुन् ? यो मुख्य विषय हो ।

आन्दोलन किन ?

अहिले करिव ४० हजार राहत शिक्षक, ३६ हजार बाल विकास शिक्षक, ६ हजार उच्च माविका शिक्षक र ९९८ स्रोत व्यक्ति शिक्षकहरु आन्दोलनमा होमिएका छन् । शिक्षा मन्त्रालयले ल्याउन लागेको शिक्षा ऐनमा आफूहरुको माग सम्बोधन गराउनका लागि यसअघिको अस्थायी परीक्षामा छुटेका, राहत, स्रोत व्यक्तिका सट्टा शिक्षक, साविक उच्च माविमा कार्यारत शिक्षक र इसिडीमा कार्यालय शिक्षकहरु आन्दोलनमा होमिएका हुन् । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्नुपर्याे ।

आन्दोलनरत शिक्षकहरुले राहत शिक्षकले सेवा अवधि गणनासहित विशेष प्रक्रियाबाट स्थायी गरिनुपर्ने, स्थायी परीक्षामा सामेल गराउनुपर्ने, उमेरको हद हटाउनुपर्ने, शिक्षक सेवा आयोगको नियमावली संशोधन गरिनुपर्ने, सह प्रअ, विषय विशेषज्ञ, दुर्गम भत्ता, सरुवा, रोष्टर प्रशिक्षकलगायतका विषयमा हुने विभेद हटाउनुपर्ने उनीहरुको माग छ ।

राहत तथा बाल विकास शिक्षक संघर्ष समितिलेले उमेरको हदबन्दी हटाउनुपर्ने, बालविकास केन्द्रमा कार्यारत सबै शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने लगायतको माग राख्दै आएको छ । त्यस्तै स्रोत व्यक्ति सट्टा शिक्षकहरुले पनि शिक्षाको गुणस्तर कायम राख्नका लागि आफूहरुको पेशागत सुरक्षा अत्यावश्यक रहेको दावी गरेको छ । लामो सयमदेखि स्रोत व्यक्तिका रुपमा रहेका शिक्षक फिर्ता भएर पढाउँदा गुणस्तर नहुने उनीहरुको तर्क छ ।

सरकारले स्रोत केन्द्रमा कार्यालय शिक्षकहरुलाई साविकको दरवन्दीमा काज फिर्ता गर्ने निर्णय गरेको थियो । स्रोत व्यक्तिका रुपमा कार्यारत शिक्षक आफ्नो पुरानो दरवन्दीमा फर्किनासाथ हाल कार्यारत सट्टा शिक्षकहरुको रोजगारी गुम्ने भएपछि उनीहरु आन्दोलनमा होमिएका हुन् । आफूहरुले गर्दै आएको काम विद्यालय निरिक्षकले गर्नै नसक्ने उनीहरुको तर्क छ । राहत शिक्षकहरुले आफूहरुलाई सरकारले ‘युज एण्ड थ्रो ‘ गर्न खोजेको भन्दै स्थायीत्वको माग गर्दै आन्दोलनमा होमिएको छ ।

आन्दोलनरत शिक्षकहरुले आगामी फागुन २८ गतेदेखि हुने बार्षिक परीक्षा र आगामी चैत १० गतेदेखि हुने एसइइ परीक्षा समेत बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

के भन्छ शिक्षा विभाग ?

गत फागुन ९ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच ३१ बुंदे सहमति भएको थियो । जसमा हाल कार्यारत राहत शिक्षक, साविक उच्च माविका शिक्षक, प्राविधिक धारका शिक्षक, विशेष विद्यालयका शिक्षक, इसिडीका शिक्षकहरुलाई निश्चित मापदण्ड बनाएर स्वीकृत दरबन्दीमा परिणत गर्ने उल्लखे गरिएको छ ।

मन्त्रालयले सोमवार एक विज्ञप्ती जारी गरि सहमतिलाई कार्यान्वयन गर्नका लागि संघीय शिक्षा ऐन मस्यौदा भईरहेको जनाएको छ । मस्यौदामा शिक्षकहरुको मागलाई सकेसम्म सम्बोधन गर्ने मन्त्रालयको तयारी छ ।

‘हाल शिक्षा मन्त्रालय शिक्षा विधेयक तर्जुमा गर्ने प्रकृयामा रहेको छ, ऐन निर्माण प्रारम्भिक चरणमा रहेकै अवस्थामा विभिन्न विषयहरुमा आधारित रहेर आन्दोलनका कार्यक्रमहरु नगर्न मन्त्रालय अपील गर्दछ’ विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले विधेयक तर्जुमा प्रकृया लामो हुने र विधेयक मन्त्रीपरिषद्बाट सिफारिस सहित संघीय संसदमा पेस भई ब्यापक छलफलबाट मात्र टुङ्गोमा पुगिने विषय भएकोले प्रारम्भिक चरणमै तरंगित नहुन मन्त्रालयले आग्रह गरेको छ ।

आन्दोलनको विरोध किन ? 

अनौठो त के छ भने आदरणीय गुरुवर्गहरुको मागप्रति नै आम सर्वसाधारणले विरोध जनाईरहेका छन् । त्यसकारण पनि विरोधको कारण जान्न जरुरी छ । कुनै पनि पेशामा प्रवेश गर्न निश्चित मापदण्ड र प्रक्रिया हुन्छ । राहत शिक्षक कोटामा कार्यारत शिक्षकहरु कुन प्रक्रियाबाट जागीर खाईरहेका छन् भन्ने कुरा छर्लंगै छ । केही अपवादसिवाय धेरैजसो शिक्षकहरु साम, दाम, दण्ड, भेदबाट सेवामा प्रवेश पाएका छन् ।धेरैजसो शिक्षकहरु नेता तथा उच्च पदस्थ कर्मचारीका आफन्त र कार्यकर्ता छन् । सट्टा शिक्षकहरुले ‘सट्टा’ शब्दको अर्थ मात्रै बुझिदिँदा पनि आन्दोलन मत्थर हुने देखिन्छ । शिक्षाविद् मनप्रसाद वाग्लेले त राहत शिक्षकलाई स्थायी गरे नेपालको शैक्षिक विकास २५ बर्ष पछाडि धकेलिने अभिव्यक्ति नै दिएका छन् ।

अनौठो त के छ भने सरकारले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनका लागि प्रक्रिया जारी रहेको बताईरहँदा पनि शिक्षकहरुले विद्यालय नै बन्द गरेर किन काठमाडौं ओइरिए ? अलिकति विवेक समेत प्रयोग नगरी आफ्नो मर्यादाको समेत ख्याल नगरी बार्षिक परीक्षालाई नै टार्गेट गरेर किन आन्दोलन चर्काए ? आन्दोलनरत शिक्षकका छोराछोरी कस्तो विद्यालयमा अध्ययन गरिरहेका छन ? हरेक क्षेत्रमा कार्यारत कर्मचारीहरुले यसरी आन्दोलन गर्दै जाने र सरकारले माग पूरा गर्दै जाने हो भने नेपालको हालत के होला ? आम सर्वसाधारणको आक्रोश यस्तै यस्तै छ ।