भारतमा रु.२०० को नयाँ नोट चल्तीमा

भारतमा रु.२०० को नयाँ नोट चल्तीमा


केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ भदौ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले शुक्रबारदेखि रु. २०० र रु.५० का नयाँ नोटहरू प्रचलनमा ल्याएको छ । नागरिकहरूको ठुलो हिस्सा यी नयाँ नोट निकाल्न एटिएम र बैंकहरूमा पुगिरहेका छन् ।

भारतमा रु.५० को नोट त पहिलेदेखि चल्तीमा थियो । तसर्थ नयाँ नोट आएको भए पनि ती पुराना नोटहरू पनि चलिरहने छन् । तर रु.२०० को नोट भने भारतमा पहिलोपटक प्रचलनमा आएको हो । आज जारी भएका नोटहरूमा रिजर्भ बैंकका गभर्नर उर्जित पटेलको हस्ताक्षर छ ।

५० रुपैयाँको नोटमा भारतको सांस्कृतिक विरासतलाई दर्शाइएको छ । नोटको पछिल्लो भागमा विजयनगर साम्राज्यको राजधानी हम्पीको तस्बिर छापिएको छ । यस नोटको चौडाइ ६६ मिलिमिटर र लम्बाइ १३५ मिलिमिटर छ ।

भारतका सोसल मिडियाहरूमा पछिल्लो महिनादेखि नै ५० र २०० रुपैयाँको नोटहरूको तस्बिर निरन्तर आइरहेको थियो ।

२०० रुपैयाँ नोटको रंग उज्यालो पहेंलो छ । यसको पछाडितर्फ सांची स्तूपको प्रतिकृति तस्बिर छ । यस नोटको लम्बाइ १४६ मिलिमिटर र चौडाइ ६६ मिलिमिटर छ ।
आज जारी दुवै नोट पनि महात्मा गान्धी सिरिजकै हुन् । नयाँ नोटहरूमा सुरक्षा मानकहरूलाई विशेष ध्यान दिइएको छ । यसका साथै दृष्टिविहीनहरूका लागि पनि यी नोटमा खास सेक्युरिटी फिचर्स समावेश गरिएको छ ।

नोटको माथिल्लो भागमा २०० हिन्दी (देवनागरी) र अंग्रेजी (रोमन) दुवैमा लेखिएको छ । यसलाई प्रस्ट देख्न सकिन्छ । उज्यालोमा हेर्दा पनि वारिपा िदुवैतिरबाट २०० लेखिएको देख्न सकिन्छ । महात्मा गान्धीको तस्बिर नोटको बीच भागमा राखिएको छ ।

यसका अतिरिक्त नोटमा RBI, भारत, India र 200 सानासाना अक्षरमा लेखिएको छ । नोटको सुरक्षा धागोमा ‘भारत’ र ‘RBI’ लेखिएको भारतीय समाचार माध्यमहरूले जनाएका छन् ।

Logo