स्वदेशमै मेडिकल पढेका ३५ प्रतिशत काउन्सिलको परीक्षामा फेल

स्वदेशमै मेडिकल पढेका ३५ प्रतिशत काउन्सिलको परीक्षामा फेल


काठमाडौं : प्रा.डा. गोविनद केसी पटक–पटक किन आमरण अनशन बस्छन्? उत्तर थाहा पाउन मुलुककै मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेकाहरूको लाइसेन्स परीक्षाको परिणाम हेरे छर्लंग हुन्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

गत वर्ष स्वदेशी मेडिकल कलेजबाट एमबीबीएस गरेका ३५ प्रतिशतभन्दा बढी विद्यार्थी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास हुन सकेनन् । २ सय ७६ जनाले परीक्षा दिएकामा एक सय ७८ मात्र उत्तीर्ण भए । काउन्सिलका अनुसार यो अनुत्तीर्ण प्रतिशत हालसम्मकै उच्च हो । ११ मुलुकका विश्वविद्यालयबाट एमबीबीएस पढेर आएका ८ सय ८९ जनाले उक्त परीक्षा दिएकामा ३ सय ९१ मात्रै सफल भए ।

काउन्सिलको परीक्षा समितिका अध्यक्ष डा. गणेश गुरुङले यो परिणाम हेर्दा मेडिकल कलेजहरूको परीक्षा प्रणालीबारे समीक्षा गर्नुपर्ने अवस्था आएको बताए । ‘नेपालका जुनसुकै मेडिकल कलेजमा पढाइको गुणस्तर राम्रो छ भनेर हामी छाती फुलाउँछौं, गुरुङले भने, ‘तर ३५ प्रतिशतभन्दा माथि फेल भएपछि शंका उत्पन्न भयो ।’ शिक्षाविद् केदारभक्त माथेमाले लाइसेन्सिङ परीक्षाको परिणामलाई मुलुकमा चिकित्सा विज्ञानको पढाइ र गुणस्तर कमजोर रहेको संकेतको रूपमा व्याख्या गरे ।

‘यो परिणामले हाम्रा विश्वविद्यालयको परीक्षा प्रणाली र पढाइको गुणस्तरमा प्रश्न उठाइरहेको छ’, उनले भने, ‘एकदुई जना पास हुन नसक्नु भिन्दै कुरा हो, यतिका संख्यामा फेल हुनुले पढाइ राम्रो छैन भन्ने देखाउँछ ।’

Logo