१३ बर्षमा बिबाह, ९ महिनामै सौता

(रामजी बलामी)

जीवन संघर्ष । यो शब्दले निकै भारी र कष्टप्रद अर्थ बोकेको छ ।

मानव जीवनको संघर्ष आमाको गर्भदेखि नै शुरु हुन्छ । आमाको गर्भमा साल नालमा बेरिएर संघर्ष, धर्तीमा आउन उत्तिकै संघर्ष, जब धर्तीमा पाइला टेक्छ तब उसको संघर्ष झनै झांगिदै जान्छ । कोही बाँच्न संघर्ष गर्छन् त कोही उच्चस्तरको जीवनशैलीका लागि संर्घषरत हुन्छन् । तर कतिपय भने सामाजिक उत्थानका लागि संघर्ष गरिरहेका हुन्छन् । व्यक्तिगत आवश्यकता परिपूर्तिका लागि गरिने संघर्ष र सामाजिक हितका लागि गरिने संघर्षबीच ठूलो भिन्नता छ ।

अझ विकट क्षेत्र, अशिक्षित समुदाय र त्यसमाथि स्वयं आफै पनि अशिक्षित भएपछि सामाजिक उत्थानको सपना कसरी साकार होला ? यस्तो भुगोल र समुदायमा सामाजिक अभियान थाल्नु फलामको चिउरा चपाउनु जत्तिकै साह्रो कुरा हो । त्यसैले हाम्रो समाजमा यस्ता व्यक्तिहरु मुस्किलले भेटिन्छन् । त्यसरी मुस्किलले भेटिने मध्येका एक हुन् चमेली वाइवा । जो अहिले थाहा नगरपालिका ५ की वडा सदस्य समेत हुन्।

यहाँ सम्म आइपुग्न उनले थुप्रै हण्डर ठक्कर ब्यहोरेकी छन्। संघर्ष नै संघर्षले थिचिएर चमेलीको शरिर थिलथिलो बनेको छ भने उनको व्यक्तित्वले ‘अन एक्सपेक्डेट’ फड्को मारेको छ । कुनै बेला मुहार लुकाएर हिड्ने उनी अचेल दैनिक जसो बैठक र कार्यक्रममा भाषण गर्छिन् । कुनै बेला नाम समेत लेख्न नजान्ने चमेली यतिबेला शिक्षा, स्वास्थ्य र संस्कृतिका नमुना अभियन्ताकारुपमा  परिचित छिन् ।

चमेलीको जीवन संघर्ष सुन्ने जो कोहीको मनमा पनि हिम्मत, साहस, आत्मबल र उत्प्रेरणाको ज्वारभाटा पैदा हुन्छ । उनको जीवनका कथा व्यथाहरुलाई संक्षिप्तमा लेख्न थालियो भने उनीमाथि अन्याय हुन्छ । त्यसकारण हामीले उनको संघर्षका मोडहरुलाई सकेसम्म न्याय दिलाउने अठोटका साथ क्रमशः प्रकाशन गर्नेछौ । जसले गर्दा आम पाठकवर्गमा हिम्मत र साहसको ऊर्जा भरियोस् ।

चमेलीको जन्म आज भन्दा ४७ बर्ष अगाडि मकवानपुरको दुर्गम गाउँ तसरमा भएको हो । जुन अहिले थाहा नगरपालिकाको वडा नम्वर ५ मा पर्छ । यो गाउँ अझै पनि थाहा नगरपालिकाकै दुर्गम गाउँका रुपमा सुचिकृत छ । चमेली सामाजिक कार्यमा लाग्नुपूर्व यो गाउँका मानिसहरु मर्दा पर्दा समेत माइती र ससुराली जान सक्दैनथे । किनकी त्यहाँको खोलामा एउटा पूल समेत बन्न सकेको थिएन । शिक्षा, स्वास्थ्य, यातायात त निकै परको कुरा ।

बैबाहिक संघर्ष

चमेली ११ बर्ष हुँदादेखि नै उनको घरमा बिबाहको कुरा चल्न थाल्यो । तर उनले त्यतातिर वास्तै गरिनन् । बिबाहको कुरा सुन्नासाथ उनलाई रिस उठ्यो । एकखाले एलर्जी भएर आउँथ्यो । किन त ? “महिलाको लागि आफू जन्मेको घर चाँही शत्रु हुन्छ कि के हो जस्तो लाग्थ्यो ।” उनले भनिन् । उनी आफू सानैदेखि जिज्ञासु र विद्रोही स्वभाव भएको बताउँछिन् । तिनै स्वभाव अहिले उनका लागि ‘हुने विरुवाको चिल्लो पात’ सावित भएको छ ।

उनको बुबाले उनका लागि छिमेकी गाउँमै धनी केटो खोजेका रहेछन् । उनलाई अभिभावक र आफन्तले बिबाहका लागि निरन्तर दबाब दिन थाले । आफन्तले पनि बुबाकै लागि भए पनि त्यही घरमा बिबाह गरि दिन उनलाई दैनिकजसो दबाब दिन थाले । एउटी अबुझ नाबालिका न हुन् । अभिभावक र आफन्तको जोर जवरजस्तीका अगाडि उनको जिद्धी २ बर्ष भन्दा बढी टिक्न सकेन । अन्ततः उनले २०४३ साल फागुन ५ गते छिमेकी गाउँमै बिबाह गरे । १३ बर्षकी उनले आफू भन्दा ४ बर्ष जेठो केटोलाई श्रीमानका रुपमा स्विकारिन् ।

बिबाह लगतै चमेलीको संघर्षको यात्रा शुरु भयो । वि.सं. २०४४ सालको कार्तिक १ गतेदेखि नै भारी बर्षा भयो । उनलाई माइती जाने मन थियो । तर, ठूलो बर्षाका कारण खोला पारीको माइती जान सकेकी थिइनन् । किनकी खोलामा पूल थिएन । तर अहिले यो ठाउँमा उनकै पहलमा पुल बनिसकेको छ ।

दैनिकरुपमा नियमित बर्षा भएपछि बाहिर अरु काम पनि गर्न नमिल्ने, तिहार र देवाली पूजा पनि नजिकिएकाले घरमा रक्सी पार्ने योजना बन्यो । कार्तिक ३ गते रक्सी पार्नका लागि पानी लिन उनी घरभन्दा मूनि रहेको खोलामा पुगिन् । खोलाबाट उनको घर जान अहिले पनि ओकालो चढ्नुपर्छ । पानी लिएर उकालो चढ्दै गर्दा उनी एक्कासी भीरबाट लडिन् । “मनमा माइतीको याद आईरहेको थियो, एक्कासी लडेपछि मात्रै झसंग भए ।” उनले अतित यसरी सम्झिइन् । भीरबाट लडेर उनको दाँत भाँचियो, निधारमा पनि ठूलो घाउ भयो । “खोलामा अहिले जस्तो पूल भैदिएको भए मेरो यो घाउँ हुने नै थिएन ।” निधारमा घाउको खत देखाउँदै चमेलीले भनिन् ।

ठूलै चोट लागे पनि उनले धामी झाँक्री र जडिवुटीबाहेक अरु कुनै औषधि उपचार गर्न पाइनन् । घाउँको रगत बग्न नरोकिँदै तिहार आयो । काठमाडौंमा काम गर्ने उनको श्रीमान तिहार मनाउन घर आए । तिहार मनाएर फर्किने बेलामा उनलाई पनि उपचारका लागि जाऊ भनेको उनी सम्झिन्छन् । तर, देवाली (कुलपूजा) नजिकिएकाले उनी काठमाडौं जान पाइनन् ।

उनको समुदायमा कुलपूजाको ७ दिनसम्म घरबाट निस्किन नहुने धार्मिक मान्यता छ । अझ खोला त पार गर्नै नहुने जनविश्वास छ । “अहिले जस्तो भए त म जहाँसुकै गएर भए पनि उपचार गर्थे तर त्यतिबेला निस्किनै हुदैन भन्ने जन विश्वास थियो त्यसैले निस्किन डर लाग्यो ।” उनले चेतनाकै अभावमा आफूले उपचार गर्न नपाएको पीडा पोखिन् । तिहार र देवालीको ब्यस्तताका कारण उनले उपचार गर्न स्वास्थ्य सस्था जाने समय नै पाइनन् । समय जति जति बित्दै गयो, उनको घाउँहरुमा पनि त्यतिकै खात बस्न थाल्यो । ‘अजिंगरको आहार दैवले पु¥याउँछ’ भने झै उनको घाउहरु विस्तारै निको हुँदै गए ।

भीरबाट लडेर भएको घाउँ निको नहुँदै उनको जीवनमा अर्काे बज्रपात आईलाग्यो । उनले आफ्नो श्रीमानले काठमाडौंमा अर्कैसँग बिबाह गरेको खबर सुनिन् । त्यसबेला उनको बिबाह भएको ९ महिना मात्रै पुगेको थियो । भनिन्छ, ‘शरिरमा लागेको चोट त ढिलोचाँडो निको हुन्छ तर सम्बन्धमा लागेको चोट जीवनभर निको हुँदैन ।’ उनको जीवनमा पनि यो भनाई ठ्याक्कै मेल खाएको छ । उनको शरिरमा लागेको चोट बर्षाैअघि नै निको भैसक्यो तर उनको दामपत्य जीवनमा लागेको चोटले अझै बिझाईरहन्छ । त्यसैले त उनलाई ति सम्बन्धका हरेक पलहरुले झस्काईरहन्छ ।

श्रीमानले अर्काे बिहे गरेको सुन्दा उनलाई त्यतिबेला त खासै नौलो लागेन । बैबाहिक सम्बन्ध गाँसेको ९ महिनामै यति ठूलो बज्रपात पर्दा पनि किन उनलाई केही महशुस भएन त ? “किनकी मैले आमाबुबा र आफन्तका लागि बिहे गरि दिएको थिएँ ।” उनले विगत स्मरण गरिन् । श्रीमानले अर्की बिबाह गरे पनि उनले तत्कालै त्यो घर भने छाडिनन् । किनकी उनको साथमा सासु, ससुरा, देवर, नन्दहरु थिए । त्यसकारण उनीहरुसँगै चमेलीले त्यो घरमा १० बर्ष बिताइन् ।

यो दश बर्ष नै उनको जीवनको सबैभन्दा ठूलो पश्चाताप हो । पश्चाताप केवल पश्चाताप मात्रै हो । न माफी मागेर फर्किन्छ न त पश्चातापको क्षतिपूर्ति नै पाईन्छ । हो, चमेलीलाई पनि अचेल तिनै पश्चातापहरुले बारम्वार झस्काई रहन्छ । त्यसबीचमा उनले ठूलो संघर्षहरु झेलिन् ।

उनले आफ्नो श्रीमानको घरबाट नागरिकता बनाउने ठूलो इच्छा थियो । तर, उनले त्यसकालागि बलबुत्ताले भ्याएसम्मको मिहिनेत गर्दा पनि नागरिकता पाउन सकिन्न् । त्यसैले नागरिकताको सिफारिस लिन वडा कार्यालय (बज्रवाराही) पुगेका उनी त्यही दिनदेखि सदाका लागि कर्मघर त्यागेर जन्मघर फर्किन् । “नागरिकता समेत माइतीको नामबाट आउने भएपछि म किन त्यो घर जाने भनेर माइती गएँ ।” उनले भनिन् । अन्तत: उनले २०५२ माघ २६ गते माइतीको नामबाट नागरिकता पाइन् ।

प्रौढ कक्षादेखि शिक्षिकासम्म

संघर्षकै क्रममा एक पटक गाउँमा प्रौढ शिक्षा कार्यक्रम आयो । केही जान्नु बुझ्नुपर्छ भन्ने मनशाय बोकेकी उनी प्रौढ शिक्षाको कक्षामा सहभागि भइन् । यसै सिलसिलामा एकिकृत बागमती जलाधार परियोजनाको कार्यक्रम आयो । उक्त संस्थाले पनि गाउँमा प्रौढ कक्षा सञ्चालनका लागि तालिम सञ्चालन गर्याे । गाउँबाट तालिममा जाने कोही नभएपछि उनी आफै अघि सरिन् ।

उनी काठमाडौं पुग्दा तालिमको तीन दिन सकि सकेछ । “अहिले जस्तो फोन थिएन, जे पर्ला पर्ला भनेर आएको, तालिम शुरु भएको तीन दिन भईसकेछ ।” उनले भनिन् । तालिममा सहभागि हुन पनि प्रारम्भिक परीक्षा उत्तिर्ण गर्नुपर्ने थियो । उनले परियोजनाले उपलब्ध गराएको परीक्षाको फारम भरिन् । उनको प्रारम्भिक नतिजा देखेर परियोजनाका कर्मचारीहरु नै दंग परिन् । किनकी प्रौढ शिक्षाका विद्यार्थी उनी प्रौढ शिक्षा पढाउनका लागि तालिम लिन पुगेकी थिइन् ।

“तालिममा सहभागिहरु कोही ८ कक्षा उत्तिर्ण थिए, कोही दश कक्षा उत्तिर्ण थिए, म मात्रै प्रौढ कक्षा पढेकी सहभागि थिए ।” उनले भनिन् । प्रौढ शिक्षा पढेर शिक्षिका बन्नका लागि तालिम लिन पुगेकी उनलाई देखेर तालिममा सहभागिहरु समेत अनौठो मानेको उनी स्मरण गर्छिन् ।

त्यो तालिम उनका लागि निकै फलदायी बन्यो । ९ दिनको तालिममा उनले जम्मा ६ दिन मात्रै भाग लिन पाइन् । तालिममा सहभागि १७ जना मध्ये उनले नै सबैभन्दा बढी (३० वटा) किताव लिएर गाउँ फर्किन् । सबैभन्दा कम पढेकी, थोरै तालिम लिएकी र राम्ररी लेख्न बोल्न समेत नजानेकी चमेलीको यो साहस देखेर परियोजनाका कर्मचारी र साथीहरु तिनछक परेको उनी बताउँछिन् ।

तीन पटक प्रौढ कक्षा पढेकी उनले विभिन्न संस्थाको सहयोगमा तीन पटक नै शिक्षिका भएर काम गरिन् । क्रमशः…

चमेलीको बाँकी कथा अर्काे पटक प्रकाशन गर्नेछौ ।