उत्तरी नाकामा फेरि अल्झनः खुल्नु पर्ने ६ वटा, खुलेका छन् २ वटा

उत्तरी नाकामा फेरि अल्झनः खुल्नु पर्ने ६ वटा, खुलेका छन् २ वटा


नेपाल र चीनबीचको सम्झौता अनुसार ६ नाका सञ्चालनमा आउनु पर्ने हो । तर, जसोतसो सञ्चालित दुई नाका (तातोपानी र रसुवागढी) पनि खुल्दै, बन्द हुँदै गर्छन्। पछिल्लो पालि बल्ल खुलेका यी नाका फेरि केही दिनका लागि भन्दै बन्द भएका छन्।  

दुई मुलुकबीच सन् २०१६ मा पारवहन ढुवानी सम्झौता भएको थियो । त्यसलाई कार्यान्वयन गर्न सन् २०१९ अप्रिल २९ मा नेपाल–चीन पारवहन ढुवानी प्रोटोकल भयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिव प्रकाश दाहालले उक्त सम्झौता अनुसार ६ नाकामार्फत नेपालले चीनसँग आयातनिर्यात कारोबार गर्न पाउने सुविधा प्राप्त गरेको बताए। तर, सिन्धुपाल्चोकस्थित तातोपानी (कोदारी)–जाङमु र रसुवास्थित केरुङ–रसुवागढीमार्फत मात्र व्यापारिक कारोबार गरिँदै आएको छ।

यी नाकाबाट नेपालले चाहे अनुसार पर्याप्त मात्रामा द्विपक्षीय कारोबार भने हुन सकेको छैन। ‘हामीले चीनसँग आर्थिक कारोबार गर्न हालसम्म ६ वटा नाका पाएका छौं’, मन्त्रालयकै अर्का उच्च अधिकारीले भने, ‘तर, लामो समयदेखि तातोपानी र रसुवा नाका व्यवस्थित रूपमा सञ्चालन हुन सकेका छैनन्। यस्तो अवस्थामा अन्य नाकाबाट आर्थिक कारोबार गरौंला भनेर तत्कालै विश्वस्त हुन आवश्यक छैन।’

ती अधिकारीका अनुसार नाका सञ्चालन गर्न सरकारको पहल नपुगेको र चीनले पनि चासो देखाएको छैन। यी नाका गुल्जारमय रूपमा सञ्चालनमा आउन अझै केही वर्ष कुर्नु पर्ने उनको ठम्याइ छ। चीनको सिगात्से जिल्ला अन्तर्गत जाङमु–तातोपानी, केरुङ–रसुवागढी र लिजी–नेचुङ नाका पर्छन्।

विभिन्न बहानामा अवरुद्ध हुँदै आएका तातोपानी र रसुवागढी नाका पुनः ठप्प भएका छन्। दुवै नाकामा कार्यरत चिनियाँ भन्सार कर्मचारी, यार्डमा कार्यरत कामदार र क्लियरेन्स एजेन्ट चीनको नयाँ वर्ष मनाउन भन्दै १० बिदा बसेका छन्। चीन सरकारले नयाँ वर्षका अवसरमा एक साता बिदा दिएको छ।

तातोपानीस्थित भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जाङमु र खासा बजारबाट बिहीबारसम्म दैनिक ४–५ कन्टेनर सामान आए पनि शुक्रबारदेखि भने रोकिएको बताए। अबको शुक्रबारदेखि पहिलेकै अवस्थामा नाका सञ्चालनमा आउने दाबी भन्सार प्रमुख खत्रीले गरे।

‘२० तारिखदेखि भन्सार खुल्नुका साथै कामदार र कर्मचारी पनि काममा फर्कने कुरा छ’, खत्रीले भने, ‘त्यो दिनदेखि पूर्ववत् रूपमा तातोपानी नाका सञ्चालनमा आउनेछ।’ नाका सञ्चालनमा आएपछि दैनिक रूपमा नयाँ सामानसहित २५ देखि ३० कन्टेनर सामान जाङमु र खासा बजारबाट लोड भएर तातोपानी सुक्खा बन्दरगाहसम्म आउने उनले बताए। यसअघि रसुवागढी र तातोपानी भन्सार कार्यालयका अधिकारीले चीनको नयाँ वर्षको अवसरमा ती दुवै नाका बन्द नहुने दाबी गरेका थिए।

रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले आगामी शनिबार वा आइतबारदेखि नाका पुनः सञ्चालनमा आउने जानकारी दिए। सामानसहितको कन्टेनर केरुङतर्फ अलपत्र नपरेको भन्सार प्रमुख रेग्मीको भनाइ छ। कोभिड सुरु हुनुअघि उक्त नाकाबाट दैनिक १ सय कन्टेनर सामान आउने गरेकामा हाल जम्मा पाँच वटासम्म मात्रै आइरहेका छन्।अन्नपूर्णबाट

Logo