सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रचण्ड-नेपाल समूहलाई उपप्रधानमन्त्री पोखरेलको चुनौती

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रचण्ड-नेपाल समूहलाई उपप्रधानमन्त्री पोखरेलको चुनौती


उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । 

शुक्रबार नेकपा ओली पक्षिय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षलाई चुनौती दिएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताए । अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने पनि बताए । 

उपप्रधानमन्त्री पोखरेलले केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पारे । संसदमा अविश्वासको प्रस्तावको सामना गरेर लोकतन्त्र प्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने उनको दाबी छ । सडकमा भुस्याहा कुकुरजस्तो कराउनेहरुले नारा लगाउँदैमा प्रधानमन्त्री ओली आफ्नो जिम्मेवारीबाट नपन्छिने पनि बताए । 

उपप्रधानमन्त्री पोखरेलले सबैभन्दा ठूलो फैसला दिने न्यायाधिशहरु जनता भएकाले आफूहरु जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको बताए । सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको, राजनीतिक अस्थिरता निम्त्याउने, आर्थिक समृद्धिमा बाधा पुर्याउने, अराजकतालाई बढावा दिने तथा मुलुकको राष्ट्रियता र स्वाभिमानको पक्षलाई कमजोर बनाउने बताए। 

त्यसैगरी, कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टी निर्वाचन अथवा सदनमा भिड्न तयार रहेको बताए । उनले भने,  ‘हामीलाई संसद पुनर्स्थापना होस् या निर्वाचन होस्, हाम्रो टिम केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी र संस्था निर्वाचनमा भिड्न होस् या सदनमा भिड्न होस् हर क्षेत्रमा तयार छ । हर मोर्चामा लड्न तयार छ । हामी थाकेका छैनौँ । हामी आत्तिएका छैनौँ । हामी मात्तिएका छैनौँ ।’ मन्त्री रायमाझीले पुनः मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको पनि दाबी गरे ।

Logo