२०७५ मा उदाएका ९ नायक (भिडियो रिपोर्ट)

(मन्दिरा खत्री)

हामी वर्ष २०७५ को अन्त्यमा आईसकेका छौं । वर्षको अन्त्यसँगै नेपाली रजतपटमा हुने गरेका हरेक क्रियाकलापहरुको समीक्षा भईरहँदा यसै विषयमा केन्द्रित रहेर ‘केन्द्र बिन्दु डटकम’ ले यो वर्ष फिल्मी क्षेत्रमा प्रवेश गरेका केही नवनायकहरुको रिर्पोट तयार पारेको छ ।

वर्ष २०७५ निकै कम नवनायकलाई मात्र लक्की सावित भयो । एकाध बाहेक अधिकांश नवनायकले आफ्नो अभिनयले दर्शकलाई आकर्षित गर्न सकेनन् । यो वर्ष रजतपटमा प्रवेश गर्ने नायिकाहरुको तुलनामा नवनायकको सङ्ख्या निकै कम रह्यो । प्रदर्शनको हिसाबले लगभग ९५ वटा चलचित्रहरु प्रदर्शनमा आए तर आधा दर्जन चलचित्रहरु मात्र व्यापारिक रुपमा सफल भए ।

१) मुकुन भुषाल – बुलबुल

चलचित्र ‘बुलबुल’ बाट नेपाली रजटपटमा प्रवेश गरेका नायक हुन् मुकुन भुषाल । यो चलचित्रलाई बिनोद पौडेलले निर्देशन गरेका हुन् । राम्रो अभिनयको कारण मुकुन भुषालको चर्चा निकै चुलिएको थियो । ‘बुलबुल’ मा भुषालले चोपेन्द्रको भूमिका निभाएका थिए । यस चलचित्रले मध्यम व्यापार गरेको थियो । आम दर्शकले रुचाउने खालको हिरोइजम उनमा नभए पनि अब्बल अभिनयले गर्दा उनलाई सम्भावना बोकेको नायकको रुपमा लिन थालिएको छ ।

२) धिरज मगर – इन्टु मिन्टु लण्डनमा

यसै वर्ष अर्का मंगोलियन लुक्सका ‘चक्लेटी’ नायक धिरज मगरले पनि रजतपटमा इन्ट्रि गरे । उनले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहसँग एउटै स्क्रिन शेयर गरे । रेनेशा बान्तवा राई निर्देशित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ यो वर्षको एक सफल चलचित्रमा पर्दछ । पहिलो चलचित्र हिट भएपछि फिल्मी क्षेत्रमा धिरजको डिमाण्ड बढ्दै गएको छ । ‘इन्टु मिन्टु लण्डनमा’ पछि धिरजले नयाँ प्रोजक्ट ‘आईएम ट्वान्टी’ मा साइन गरेका छन् ।

३) हरिहर अधिकारी – शुभ लभ

यो वर्ष चर्चित युवा ज्योतिष हरिहर अधिकारीले पनि नेपाली रजतपटमा पाइला चाले । रियल लाईफमा ज्योतिषी पेसा अँगालेका युवा ज्योतिषी हरिहरले रिलमा पनि ज्योतिषको भूमिकामा निभाएका थिए । तर, उनी सोचे जति सफल हुन सकेनन् । उनी अभिनित चलचित्र ‘शुभ लभ’ १ साता पनि सिनेमा हलमा अडिन सकेन । चलचित्र प्रदर्शन हुनुअघि उनको जति चर्चा भयो, चलचित्र प्रदर्शन भएपछि उनको चर्चा एकाएक सेलायो । रियल लाईफमा उनको अभिनयलाई दर्शकले त्यति रुचाएनन् । अन्तत ः अधिकारीको पहिलो चलचित्र शुभ लभ फ्ल्प सावित भयो ।

४) आशिष पिया – समर लभ

केही वर्ष अघि सुविन भट्टराईले ‘समर लभ’ नामक पुस्तक लेखेका थिए । ‘समर लभ’ युवायुवती माझ यति लोकप्रिय भयो कि, यो पुस्तक माथि चलचित्र नै बन्यो । ‘समर लभ’ पुस्तकबाट नाम सापटी लिएर निर्माण गरिएको चलचित्र ‘समर लभ’बाट डेब्यु गरेका नायक हुन् आशिष पिया । उनको कोरियन लुक्सले गर्दा उनी निकै चर्चामा आएका थिए तर उनको अभिनयलाई भने दर्शकले खासै रुचाएनन् । मुस्कान ढकाल निर्देशित चलचित्र ‘समर लभ’ माघ २५ गते ‘भ्यालेनटाइन डे’ को अवसर पारेर प्रदर्शनमा आएको थियो ।

५) उमेश थापा – बोबी

सत्य प्रेम कथामा निर्माण गरिएको चलचित्र ‘बोबी’ मार्फत उमेश थापाले रजतपटमा प्रवेश गरेका हुन् । थापाले आफ्नै प्रेम कथामा निर्माण भएको चलचित्र ‘बोबी’ मा अभिनय गरेका हुन् । बोबीलाई व्यापारिक रुपमा सफल चलचित्र मानिएको छ । बोबी असार २९ गते प्रदर्शनमा आएको थियो । चलचित्र बोबीको सफलतासँगै ‘बोबी २’ बन्ने घोषणा समेत गरिएको छ ।

६) अभिषेक नेपाल – नाई नभन्नु ल ५

अभिषेक नेपालले भाद्र ८ गते प्रर्दशनमा आएको चलचित्र ‘नाई नभन्नु ल ५’ बाट डेब्यु गरेका हुन् । विकासराज आचार्य निर्देशित चलचित्रमा अभिषेक नेपाल र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् । तर, यस चलचित्रको जति चर्चा भयो त्यति अभिषेकको भने चर्चा भएन । ‘नाई नभन्नु ल ५’ पछि उनको हातमा अर्को कुनै चलचित्र परेको छ्रैन ।

७) समुन्द्र पण्डित – अनुराग

समुन्द्र पण्डितले चलचित्र ‘अनुराग’ मार्फत सिने क्षेत्रमा प्रवेश गरे । चलचित्र अनुरागमा पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम र समुन्द्र पण्डितले एउटै स्क्रिन शेयर गरेका हुन् । तर, यो चलचित्र पनि व्यापारिक रुपमा सफल हुन सकेन । साथै पण्डितको अभिनयलााई पनि खासै रुचाइएन । सत्यराज चौलागाई निर्देशित चलचित्र असोज १२ गते प्रदर्शनमा आएको थियो ।

८) कविर खड्का – लम्फु

नवनायक कबिर खड्काले चलचित्र ‘लम्फु’बाट आफ्नो फिल्मी करियर सुरु गरेका छन् । गोपाल चन्द्र लामिछाने निर्देशित चलचित्र ‘लम्फु’ ले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन । उनी अभिनित चलचित्र त्यति सफल नभए पनि उनललाई ‘तिमी र म’ चलचित्रको अफर आएको थियो । कबिरले उक्त चलचित्र साइन गरिसकेका छन् । खड्का अभिनित चलचित्र सफल नभए पनि उनी फिल्मकर्मीको नजरमा भने पर्न सफल नायक हुन् ।

९) सुनिल क्षेत्री – चि मुसी चि

नवनायक सुनिल क्षेत्रीले चलचित्र ‘चि मुसी चि’ बाट डेब्यु गरेका छन् । यो चलचित्र साउन ११ गते प्रदर्शनमा आएको थियो । चलचित्र ‘चि मुसी चि’ पनि व्यापारिक रुपमा सफल हुन सकेन । साथै नव नायक सुनिलको त्यति चर्चा पनि भएन । चलचित्र ‘चि मुसी चि’ पछि सुनिललाई कुनै नयाँ चलचित्रको अफर आएको छैन ।

२०७५ मा उदाएका ९ नायक (भिडियो रिपोर्ट)