कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई दिंदैन : विश्वप्रकाश शर्मा

कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई दिंदैन : विश्वप्रकाश शर्मा


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र) र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन नसकेको बताएका छन्।

बिहीबार समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा प्रतिक्रिया दिंदै प्रवक्ता शर्माले नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएको कारणले नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताएका हुन्। 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितियरुपमा एक ढिक्का भएर उभिएमा मात्रै नेपाली कांग्रेसको नेतृत्वमा अथवा अरु कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने बताए। 

उनले भने,  ‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुङ्गो गर्नुपर्ने हो। कि समर्थन निरन्तर छ भन्ने उहाँहरुले निर्णय गर्नुपर्ने हो। समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखितरुपमा संसद सचिवालयमार्फतबाट सूचना जारी गरेर गर्नु पर्ने हो। त्यो परिस्थिति विकास भइसकेपछि स्वभाविक रुपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ। 

नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिनेछैन । संसदमा सरकारलाई दिएको समर्थन उहाँहरुले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवतरुपमा यसको निर्णयमा पुग्नेछौँ । त्यसपछि विश्वासको मत प्राप्त हुने वर्तमान सरकारको अवस्था भएन भने नयाँ सरकारको लागि ढोका खुल्ने अवस्था हुन्छ। त्यो बेलामा सत्ता समिकरणको विषय ठिक समयमा परिपक्व ढङ्गले एउटा परिस्थितिको विकास भएर जान्छ। अनि सरकार बन्न सक्छ।’ 

प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीयरुपमा एक ढिक्का भएर उभिने सङ्केत प्रष्ट नगरेको अवस्थामा नेपाली कांग्रेस प्रधानमन्त्री पदको लागि तयार नरहेको पनि बताए।

Logo