डब्ल्यूएचओद्वारा सिनोफार्मले निर्माण गरेको चिनियाँ खोपलाई नेपालमा आपत्‌कालीन प्रयोगको अनुमति

डब्ल्यूएचओद्वारा सिनोफार्मले निर्माण गरेको चिनियाँ खोपलाई नेपालमा आपत्‌कालीन प्रयोगको अनुमति


विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले निर्माण गरेको कोभिड खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ।

डब्ल्यूएचओले स्वीकृति दिएको यो पहिलो युरोप बाहिर बनेको कोभिड खोप हो।

चिनियाँ सरकारले आठ लाख मात्रा सहयोग उपलब्ध गराएको सिनोफार्मको भेरो सेल खोप नेपालमा पनि दिइएको छ।

नेपाल र चीनसहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ।

यसअघि डब्ल्यूएचओले फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई अनुमति दिइसकेको छ।

अफ्रिका, दक्षिण अमेरिका र एशियाका विभिन्न देशका स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिइसकेका छन्।

चिनियाँ कम्पनीले थोरै मात्र तथ्याङ्क सार्वजनिक गरेका कारण यो खोपको प्रभावकारिताका विषयमा प्रश्नहरू उठेका थिए। तर शुक्रवार डब्ल्यूएचओले सो खोपको सुरक्षा, प्रभावकारिता र गुणवत्तालाई पुष्टि गरेको छ।

डब्ल्यूएचओले नयाँ खोपले आफ्ना स्वास्थ्यकर्मी र जनसङ्ख्यालाई जोखिमबाट बचाउने प्रयास गरिरहेका देशहरूका लागि कोभिड खोपसम्मको पहुँच बढाउने बताएको छ।

त्यो खोप १८ वर्षभन्दा माथिका व्यक्तिहरूलाई दुई मात्रा दिन सिफारिस गरिएको छ। डब्ल्यूएचओले अर्को चिनियाँ खोप सिनोभ्याक र रुसको स्पुत्निक भीको बारेमा पनि अध्ययन गरिरहेको छ र ती खोपका विषयमा चाँडै नै निर्णय आउने बताइएको छ।

डब्ल्यूएचओले स्वीकृतिको अर्थ

डब्ल्यूएचओले अनुमति दिएपछि राष्ट्रिय स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिन सहज हुन्छ। यसको अर्थ यो खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वभर वितरण पनि हुन सक्छ। कोभ्याक्स धनी र गरिब राष्ट्रहरूको खोपमा पहुँच न्यायिक होस् भन्ने उद्देश्यले स्थापना गरिएको हो।

कोभ्याक्स कार्यक्रममा खोपको आपूर्ति कम भएर समस्या परिरहेको अवस्थामा चिनियाँ खोपले सो कार्यक्रमलाई निरन्तरता र बिस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

डब्ल्यूएचओले स्वीकृति दिनु अघि नै यो खोप लगभग ६ करोड ५० लाख मानिसलाई दिइएको छ। यूएई, पाकिस्तान र हङ्गेरीमा पनि यो खोप दिइएको छ।

डब्ल्यूएचओको प्राविधिक परामर्श समूहले तथ्याङ्क अध्ययन गरेर स्वीकृतिका लागि सिफारिस गर्दा यसको प्रभावकारिता ७९ प्रतिशत रहेको बताएको थियो।

तर डब्ल्यूएचओले ६० वर्षमाथिका व्यक्तिका कमै तथ्याङ्क उपलब्ध भएका कारण त्यो उमेर समूहमा यसको प्रभावकारिता यकिन नभएको बताएको छ। उसले यसले त्यो उमेर समूहमा काम नगर्ने भन्ने कुनै कारण भने नरहेको समेत बताएको छ।

चिनियाँ खोपहरू पनि आस्ट्राजेनेका जस्तै साधारण चिसो तापक्रममा भण्डारण गर्न सकिन्छ जसलाई यसको फाइदा मानिएको छ।बीबीसीबाट

Logo