म हिरो पनि हुँ, जोकर पनि हुँः हरिवंश आचार्य

२०७६ को सुरुवातमा नै कमेडी चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शनमा आउँदैछ । महसञ्चारको प्रस्तुति चलचित्र ‘दाल भात तरकारी’ यहि शुक्रबार अर्थात बैशाख २० गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त चलचित्रमा हरिवंश आचार्य र निरुता सिंहले एउटै स्क्रिन शेयर गरेका छन् ।

लामो समयको अन्तरालपछि निरुताले नेपाली रजतपटमा कमब्याक गरेकी हुन् । किरण केसीले निर्माण गरेको यस चलचित्रलाई उनको छोरा सुदन केसीले निर्देशन गरेका छन् । कमेडी जनारामा निर्माण गरिएको चलचित्र ‘दाल भात तरकारी’ मा हरिवंश आचार्यको लेखन रहेको छ । चलचित्रकै विषयमा हरिवंश आचार्यसँग गरिएको कुराकानीः

१) मह जोडीले निर्माण गर्ने टेलिसिरिय तथा चलचित्रहरुमा हाँसोसँगै गम्भीर सन्देश दिन खोजिएको हुन्छ । दाल भात तरकारीको सन्दर्भमा त्यस्तो के छ ?

दाल भात तरकारी छुटै फरक प्रसंगको चलचित्र हो । समाजमा हामीले भोगी रहेका कुराहरु, हामी नेपाली कुन मनोदशामा अघि बढिरहेका छौं भन्ने विषयलाई हामीले कथा बनाएका छौं । साथै चलचित्रमा मनोरञ्जनलाई सबै भन्दा ठुलो प्राथमिकता दिएका छौं ।

२) चलचित्र ‘सत्रुगते’ प्रदर्शन भएको दुई वर्षपछि ‘दाल भात तरकारी’ लिएर आउनु भएको छ, चलचित्र क्षेत्रको बेतिथीलाई कसरी बुझ्नु भएको छ ?

हाम्रो नेपाली चलचित्र संस्कृतिमा मेरो मात्र चलचित्र चल्दिए हुन्थ्यो, मेरो मात्र चलचित्र हेर्दिए हुन्थ्यो भन्ने ‘वानम्यान’ सोचाई हुँदो रहेछ सबैमा । त्यो सोचाइबाट हामी माथी उठनुपर्छ । हामीले एक्लैले मात्र चलचित्र बनाएर एक्लैको मात्र चलचित्र चल्यो भने चलचित्रले उद्योगको रुप ग्रहण गर्न सक्दैन् । मेरो मात्र चलचित्र चलोस होइन् कि सबैको चलचित्र चलोस । सबैको चलचित्रले सामान्य मापदण्ड पुरा गर्न सकोस भन्ने सोचाइ हामीले राख्नु पर्दछ ।

३) नायक हुने उमेरमा क्यारेक्टर भएर पर्दामा दर्शकलाई हसाँउनु भयो, अहिले चलचित्रमा नायिकासँग नाचिरहेको दृश्य देखिन्छ, युवा अवस्थामा मैले यी चिजहरु मिस गरे भन्ने लाग्छ या लाग्दैन् ?

त्यो बेला यो चिज पाएको भए, आज म यो मान्छे नै हुन सक्दैन् थिए । त्यो बेला मैले हाँस्यव्यङग्यको जुन एउटा क्रेज भेटाए, त्यो स्थापना भएकोले नै आज म यो ठाँउमा उभिन पाएको छु ।

त्यो समयमा हिरो हुने मान्छे धेरै हुनुहुन्थ्यो, सायद म पनि हिरो जस्तै हुन्थे होला । म हिरो मात्र हुन्थे होला तर म अहिले चरित्र अभिनेता हुन पाएको छु । चरित्र अभिनेता भनेको यस्तो चिज हो हिरो पनि हुन पाइन्छ, जोकर नि हुन पाइन्छ जे पनि हुन पाइन्छ । त्यसैले म आफु हिरो हुन नपाएर होइन कि चरित्र अभिनेता हुन पाउँदा गर्व लाग्छ ।

४) रंगमञ्चमा जुन मह जोडीको एउटा क्रेज छ, त्यो समयमा जति क्रेज थियो, अहिले त्यो सुन्य भयो जस्तो लाग्दैन् ?

त्यो उपस्थिति सुन्य भएको छ, हाम्रो उपस्थिति मात्र सुन्य भएको छ्रैन् कि नेपाली टेलिभिजनहरुको उपस्थिति नै सुन्य भएको छ । किनभने त्यो बेलामा हामीले जुन टेलिसिरियलहरु बनायौं त्यो बेला विकल्पहरु थिएन् । भारतमा एउटा दुईवटा च्यानलहरु थियो । हाम्रो नेपालमा पनि एउटा दुईटा च्यानल मात्र थिए ।

अहिले हामी जुन ठाँउ जाँउ मानिसहरु नेपाली भन्दा पनि विदेशी चलचित्रमा टोलाएर बसिराख्नु भएको हुन्छ । यो चिजमा हामीले मात्र पहल गरेर सक्दैनौं । राज्यले पहल गर्नुपर्छ । भारतले त आफ्नो चलचित्र देखाएर आफ्नो सांस्कृतिक प्रभाव प्रत्यक्ष रुपमा पारेको छ । मिडियामा लगानी गरेर प्रत्यक्ष केही फाइदा छैन्, भन्ने सरकारको सोचाइ छ ।