पैसा थुप्रिएपछि लगानीका विकल्प खोज्दै बैंकहरू

पैसा थुप्रिएपछि लगानीका विकल्प खोज्दै बैंकहरू


काठमाडौं ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) थुप्रिएपछि बैंकहरुले लगानीका विकल्प खोज्न थालेका छन् ।

करिब ७ महिना लामो लकडाउन तथा निषेधाज्ञाका कारण लगानी गर्न नपाएका बैंकहरुले लकडाउन तथा निषेधाज्ञा खुकुलो भएसँगै लगानीका विकल्प खोज्न थालेका हुन् । केही समय अघि बैंकहरुले घर तथा गाडीको खरिदमा आकर्षक योजनासहित कर्जाका स्कीपहरु सार्वजनिक गरेका थिए । यतिबेला ठूला योजना तथा आयोजनाहरुमा पनि प्रशस्त मात्रामा कर्जा लगानी भएको छैन । कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहिरहने हो भन्ने यकिन नभएकाले कर्जा लगानीमा अन्योल बढिरहेको हो । बैंकहरुले असोजदेखि लागू हुने गरी नयाँ ब्याजदरमा पुनः घर तथा गाडी सम्बन्धी कर्जाका योजनाहरु सार्वजनिक गरेका छन् ।

नबिल बैंकले आफ्नो ३६ औं वार्षिक उत्सवको अवसरमा एक बर्षका लागि ७.४९ प्रतिशत ब्याजदरमा घर कर्जा तथा ७.९९ प्रतिशत ब्याजदरमा सवारी कर्जा योजना सार्वजनिक गरेको छ । निजी क्षेत्रको अग्रणी बैंक मानिएको यस बैंकले नेपालमै पहिलो पटक फोनबाट लोन (ऋण) लिन सक्ने स्कीम पनि सार्वजनिक गरेको छ । बैंकको तलबी खाता बाहेक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषता रहेको बैंकले जनाएको छ । कर्जा लगानीको विकल्प खोज्दै ल्याइएको यो सजिलो योजना ग्राहकको रोजाईको केन्द्र बन्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ऋण लिन चाहने ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै आफ्नो स्मार्ट बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सकिने छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले न्यूनतम १ वर्षदेखि १० वर्षसम्मका फिक्स्ड ब्याजदरमा घर कर्जा र सवारी कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले १०.५० प्रतिशत ब्याजदरमा ७ घर कर्जाको स्कीम सार्वजनिक गरेको छ । त्यस्तै, १० वर्षे समयावधीका लागि १२.५० प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराएको छ । त्यस्तै, बैंकले सवारी कर्जाका लागि ७ वर्ष समयावधीका लागि ११ प्रतिशत र १० वर्षे सवारी कर्जाका लागि १३ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै, सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले एक बर्षका लागि ७.२५ प्रतिशतमा घर कर्जा उपलब्ध गराउने जनाएको छ । त्यसैगरी, एनएमबी बैंकले २ वर्ष समयावधीका लागि ८.९९ प्रतिशतमा ५ वर्ष समयावधीका लागि १०.७५ प्रतिशतमा घर कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । बैंकले सोलार कर्जा पनि ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याजदरमा दिने घोषणा गरेको छ । यसको समयावधी १० वर्ष हो । त्यसैगरी, सानिमा बैंकले १५ वर्षे घर कर्जा तथा ५ वर्षदेखि ७ वर्षसम्मका लागि सवारी कर्जा ८.२५ प्रतिशत ब्याजदरमा प्रवाह गर्ने जनाएको छ । एभरेष्ट बैंकले एक वर्षभन्दा माथि ५ वर्षसम्म १०.९८ प्रतिशतमा घर कर्जा तथा ३ वर्षे सवारी कर्जा १०.७३ प्रतिशत, ५ वर्षे सवारी कर्जा ११.४८ प्रतिशतमा उपलब्ध गराउने जनाएको छ ।

तर लकडाउन तथा निषेधाज्ञा खुकुलो भएसँगै केही मात्रामा भने कर्जा लगानी बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा २ खर्ब रुपैँयाँ तरलता रहेको छ । एकातिर बैंकिङ प्रणालीमा बढी तरलता हुँदा बैंकलाई लगानीको चिन्ता बढेको छ भने अर्कातिर राष्ट्र बैंकले धमाधम तरलता प्रशोचन गरिरहेको छ । लगानी गर्ने प्रशस्त आधारहरु नदेखेपछि अहिले बैंकहरुले कर्जा लगानीका विभिन्न स्कीमहरु सार्वजनिक गरिरहेका छन् । जसले गर्दा केही मात्रामा कर्जा लगानी बढेको देखिन्छ । बैंकहरुले घर तथा गाडी बाहेक अन्य लगानीका लागि विकल्प खोजिरहेका छन् ।

जसका कारण बैंकहरुले लगानीका अन्य स्कीमहरु पनि सार्वजनिक गरिरहेका हुन् । जसमा ग्लोबल आइएमई बैंकले होटल व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा दिने गरी सम्झौता गरेको छ । बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेबारे सम्झौता भएको छ । बैंकले महासंघसँग आबद्ध नेपालभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैँकिङ्ग कारोबारको पहुँच भित्र ल्याउने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । होटल व्यवसायी महासंघसँग आवद्ध व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पुर्याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पुर्याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सो सहमति भएको हो ।

त्यसैगरी, प्रभु बैँकले ‘सहयात्रा समृद्धिको’ नामक कर्जा योजना सुरु गरेको छ । बैंकले कोभिड–१९ का कारणले प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार यूवा, परम्परागत पेशा र व्यबसायमा संलग्न उद्यमीहरुको विद्यमान आर्थिक कठिनाईलाई व्यवस्थापन गर्न यस्तो कर्जा योजना सार्वजनिक गरेको हो । कोरोना महामारीमा विभिन्न पेशा, व्यवसाय, उद्यमलाई पुन सुचारु गर्न यस्तो कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

यस कर्जा योजना अन्तर्गत प्रथम चरणमा काठमाडौं उपत्यका भित्रका महिला सफा टेम्पो चालकहरुलाई अधिकतम एक लाख तथा विद्यालय शिक्षकहरुलाई अधिकतम चार लाख कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउने जनाएको छ । बैंकको यस योजनासँगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन तथा अनुशासनको ज्ञान तथा सीपहरु सिक्ने अवसर मिल्नेछ ।

Logo