दशैंमा ‘डिजिटल’ दक्षिणा : कति सम्भव, कति असम्भव ?

दशैंमा ‘डिजिटल’ दक्षिणा : कति सम्भव, कति असम्भव ?


काठमाडौं । पछिल्लो समय सरकारले डिजिटल कारोबारलाई बढावा दिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि डिजिटल कारोबारलाई प्राथमिकता दिन थालेका छन् ।

नोटबाट कोरोना भाइरसको संक्रमण हुने भन्दै नोटको प्रयोगलाई निरुत्साहित गर्न बैंक तथा वित्तीय संस्थाहरुले दशैंमा मोबाइल बैंकिङबाट दक्षिणा दिने व्यवस्था गर्ने गरी योजना ल्याउने तयारी थालेका छन् । त्यति मात्रै होइन, नेपाल राष्ट्र बैंकले नोटको प्रायोगलाई निरुत्साहन गर्न केहि वर्ष यता डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएपछि बैंक तथा वित्तीय संस्थाहरुले मोबाइल बैंकिङका प्रयोगकर्ताहरुका लागि दशैंको दक्षिणा दिने योजनाहरु सार्वजनिक गर्दै आएका हुन् ।

यसपालीको दशैं कार्तिक महिनामा परेको छ । कति बैंकहरुले यस्तो योजना ल्याउलान् भन्ने ठ्याक्कै यकिन तथ्यांक नभए पनि पछिल्लो समय यस्ता योजनाहरु आउन थालेका छन् ।

इमेल इन्टरनेटको पहुँच हुने स्थानमा मात्रै यस्तो कारोबार सम्भव छ । नेपालका सबै स्थानमा इन्टरनेटको पहुँच छैन । जति क्षेत्रमा इमेल इन्टरनेटको पहुँच छ, त्यस्ता स्थानमा मोबाइलबाट दशैंको दक्षिणा पठाउन सम्भव हुन्छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आम मानिसमा जनचेतना आएकाले मोबाइल बैंकिङको प्रयोगबाट दक्षिणा लगायतका अन्य कारोबार गर्न सकिने बताए । सानिमा बैंकले गत २/३ वर्ष देखि नै दशैंमा मोबाइलबाटै दक्षिणा भन्ने स्कीम ल्याएको अध्यक्ष दाहालले बताए । दाहाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

नोटको कारोबारबाट आजको भोलि नै डिजिटल कारोबारमा कायापलट हुन नसक्ने भन्दै यसको विस्तार विस्तारै हुने उनले बताए । ‘आजको भोलि नै त कायापलट हुँदैन, विस्तारै बढ्दै जाने कुरा हो ।’ अध्यक्ष दाहालले भने । मोबाइल बैंकिङका लागि इन्टरनेट र स्मार्ट फोन भएपछि समस्या नहुने उनको भनाई छ । यस वर्ष पनि बैंकले दशैंमा दक्षिणा मोबाइलबाटै गर्ने गरी योजना ल्याउने तयारी गरेको छ । अघिल्ला वर्षहरुमा दशैंको स्कीममा सानिमा बैंकले कार्ड तथा क्युआर कोडको प्रयोग गरेर कारोबार गर्दा १० प्रतिशत क्यास ब्याकको व्यवस्था गरेको थियो । त्यसका साथै बैंकले दशैंलाई लक्षित गरी कुनै योजना नल्याए पनि कार्ड तथा क्युआर कोर्डको प्रयोग गरेका इच्छुक प्रयोगकर्ताले मोबाइल बैंकिङको प्रयोग गर्न सक्छन् ।

त्यसैगरी, एनआइसी एसिया बैंकले पनि दशैं, तिहार लगायतका विभिन्न चार्डवार्डलाई लक्षित गर्दै विभिन्न योजनाहरु ल्याउने गरेको छ । यस बैंकले गतवर्ष खुशीको अपलोड गरौँ भन्ने स्कीम ल्याएको थियो । त्यस्तै, यस बैंकले तिहारमा दिदी बैनीलाई दक्षिणा दिने लगायतका स्कीम ल्याएको थियो ।

त्यस्तै, नबिल बैंकले पनि चार्डवाडलाई लक्षित गर्दै विभिन्न स्कीमहरु ल्याउने गरेको छ । त्यस्तै, कृषि विकास बैंक, बैंक अफ काठमाडौँ, नेपाल बंगलादेश बैंक, ग्लोबल आइएमई बैंक लगायतका वाणिज्य बैंकहरुले मोबाइलमार्फत भुक्तानी गर्ने गरी स्कीमहरु ल्याउने गरेका छन् । पछिल्लो समय इन्टरनेट तथा मोबाइल बैंकिङका प्रयोगकर्ता बढिरहेकाले पनि दशैंका बेला दक्षिणा दिँदा यस माध्यमको प्रयोग बढ्ने राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए । गत वर्षहरुमा पनि मोबाइलबाटै दशैँ तिहारको दक्षिणा दिने गरी स्कीम ल्याएका बैंकहरुले त्यसमा अझै बढाउन सक्ने प्रवक्ता भट्टको भनाइ छ ।

‘तत्कालै सबैले प्रयोग गर्न नसके पनि जानेकाले क्याम्पियन गर्दै जाँदा प्रयोग बढ्न सक्छ ।’ उनले भने । पछिल्ला वर्षहरुमा नेपालमा बैंकिङ कारोबार नोटबाट डिजिटलतर्फ विस्तार भइरहेकाले कारोबारको मोडालिटी नै परिवर्तन भएको छ । ‘पहिले क्यास हातमा देखेर दंग पर्नेहरु अब मोबाइलमै पैसा आएको देखेर दंग पर्छन् ।’ प्रवक्ता भट्टले भने । यो समय भनेको डिजिटल कारोबारको दायरा विस्तार गर्ने सुनौलो अवसर भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी भएको प्रवक्ता भट्टको भनाइ छ । १ करोड १४ लाख प्रयोग प्रयोगकर्ताले मोबाइलबाटै कारोबार गर्ने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्मको तथ्यांकले डिजिटल कारोबार उल्लेख्य रुपमा वृद्धि भएको देखाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चैत महिनामा विद्युतीय उपकरणमार्फत ९ खर्ब १५ अर्ब ७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, मोबाइल बैंकिङमार्फत ३ महिनामा ४१ अर्ब २८ करोड रुपैयाँ, जेठमा १४ अर्ब १ करोड रुपैयाँ र असारमा १८ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

त्यस्तै, इन्टरनेट बैंकिङ कारोबार ४६ अर्ब रुपैयाँ, एटीएममार्फत १ खर्ब २२ अर्ब रुपैंयाँ बढी, डेविट कार्डमार्फत ८ अर्ब ५० करोड रुपैयाँ बढी, क्रेडिट कार्डमार्फत् ३ करोड ६० लाख रुपैयाँ बढी तथा प्रिपेड कार्डमार्फत १ करोड ४० लाख रुपैयाँ, इसिसिमार्फत् १३ खर्ब ८६ अर्ब रुपैयाँ बढी, आइपिएसमार्फत ४ खर्ब ८२ अर्ब रुपैयाँ बढी, कनेक्ट आइपिएसमार्फत १ खर्ब १३ अर्ब रुपैयाँ बढी तथा वालेटमार्फत् २२ अर्ब ९ करोड रुपैंयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

Logo