इन्धनमा करको भार अत्यधिक, कुन इन्धनमा कति कर ?

इन्धनमा करको भार अत्यधिक, कुन इन्धनमा कति कर ?


नेपाल आयल निगमले पछिल्लो ७ महिनामा ३३ अर्ब रुपैयाँ बढीको पेट्रोल खरिद गर्दा २१ अर्ब रुपैयाँभन्दा बढी रकम कर बापत सिधै सरकारले लिएको छ। 

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ३३ अर्ब ५६ करोड ५५ लाख ३ हजार रुपैयाँ बराबरको पेट्रोल खरिद गरेको निगमले २१ अर्ब ३३ करोड ५१ लाख ४९ हजार रुपैयाँ राजस्वका रुपमा सिधै सरकारले लिएको हो । 

भन्सार विभागको तथ्यांक अनुार निगमले चालु आर्थिक वर्षको सो अवधिमा ४ लाख २१ हजार १७२ किलोलिटर पेट्रोल आयात गरेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो यात्रामा छ। गत फेब्रुवरी २८ मा प्रतिब्यारेल १ सय डलर रहेको कच्चा तेलको मूल्य बुधबार १३१ डलर प्रतिब्यारेलका दरले कारोबार भएको छ।

आगामी दिनमा थप मूल्य वृद्धि नगर्नका लागि पेट्रोलियम पदार्थमा लाग्दै आएको कर हटाउनुपर्ने बेलामा सरकारले कुल खरिदको झण्डै दुई तिहाई हिस्सा (करिब ६४ प्रतिशत) राजश्व असुल्दै आएको भन्सारको तथ्यांकले देखाउँछ। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेको भन्दै यता नेपालमा पनि पेट्रोलको मूल्य बढाइएको छ। अन्तिम पटक निगमले बढाएको मूल्य अनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ रहेको छ। विगतको तुलनामा उक्त मूल्य अत्यधिक रहेको भन्दै आगामी दिनमा थप मूल्य बढाउँदा महंगी थप चुलिने जानकारहरुले औंल्याउँदै आएका छन्। 

सरकारले पेट्रोलमा भन्सार शुल्क प्रतिलिटर २५ रुपैयाँ, सडक मर्मत सम्भार शुल्क ४ रुपैयाँ प्रतिलिटर, पूर्वाधार कर १० रुपैयाँ प्रतिलिटर लिँदै आएको छ। त्यस्तै भन्सार सेवा शुल्क मूल्यस्थिरिकरण कोष शुल्कसमेत सरकारले भन्सार विन्दुमै लिने गरेको छ। 

त्यस्तै वातावरण प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर लगायत करसमेत गरि सरकारले चालु आर्थिक वर्षको ७ महिनामा पेट्रोलमार्फत मात्रै २१ अर्ब ३३ करोड ५१ लख ४९ हजार रुपैयाँ संकलन गरेको हो। सो बाहेक निगम सञ्चालन खर्च, प्राविधिक नोक्सानी, विक्रेता कमिशन आयल निगम आफैंले हिसाव गरेर पेट्रोलियम पदार्थको विक्री वितरण गर्दै आएको छ।

सरकारले डिजेल आयात गर्दा ३३ अर्ब १९ करोड ६६ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आवको ७ महिननामा ९ लाख ६८ हजार ५५७ किलोलिटर डिजेल खरिद गर्न ७२ अर्ब ९६ करोड १९ लाख ६४ हजार रुपैयाँ बाहिरिएको छ। सो मार्फत सरकारले सिधै ३३ अर्ब १९ करोड ६६ लख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

त्यस्तै हवाई इन्धन खरिद गर्न ६ अर्ब ४० करोड ७५ लाख ७ हजार रुपैयाँ बाहिरिएको छ। कुल २३ लाख ६० हजार १२ किलोलिटर हवाई इन्धन खरिद गरिएकोमा सरकारले हवाई इन्धनमार्फत मात्रै ५८ करोड १९ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। 

पछिल्लो समय मट्टितेलको उपभोग घट्दै गएपनि चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ९ हजार ५१२ किलोलिटर मट्टितेल आयात भएको भन्सार विभागको तथ्यांक छ। सो परिमाणमा मट्टितेल खरिद गर्न ७४ करोड ४४ लाख ६२ हजार रुपैयाँ बाहिरिएको र सो मार्फत सरकारले ११ करोड ४१ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको छ। 

सरकारले खाना पकाउने एलपी ग्यासमार्फत ६ अर्ब ४७ करोड ६ लाख १ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। कुल ३४ अर्ब ६९ करोड ४२ लाख ४६ हजार रुपैयाँ बराबरको एलपी ग्यास आयात गर्दा उक्त राजस्व संकलन गरिएको भन्सार विभागको विवरण छ।अभियान दैनिकबाट

Logo