विरेन्द्रनगरबीच बजारमै मडर, दुई महिनासम्म रहस्यमै (भिडियोमा)
"व्यापारीको बीच बजारमै हत्या भएको दुई महिना बित्यो "

कृष्णसिंह धामी 

काठमाडौं । सुर्खेतका चन्द्रप्रसाद आचार्य फागुन १८ गते दिनभर आफन्तकहाँ भेटघाटमा व्यस्त थिए । श्रीमती हरिकलासँगै उनले दिनभर आफन्तहरुसँग भेटघाट गरे । शनिवारको दिन भएकाले बजार पुरै बन्द थियो । खाजा पसल पनि बन्द गरेर उनी श्रीमतीसँगै आफन्तहरुकहाँ गएका थिए । बेलुकातिर हरिकलालाई घर पठाएर उनी किनमेल गर्न गए । ‘तिमि घर जाउँ विहान खाजा पसलको लागि आवश्यक पर्ने सर–सामान तयार पार्दै गर’ भन्दै श्रीमतीलाई घर पठाए ।

चन्द्रप्रसादको आज्ञापालन गर्दै हरिकला घर गईन् । राति अवेर भईसक्यो तर चन्द्रप्रसाद घर आएनन् । फोन गर्न खोज्दा चन्द्रप्रसादले बोकेको फोन उनकै व्यागमा रहेछ । राति उनी श्रीमानको पर्खाईमै बसिन् । दोस्रो बिहानै प्रहरीको फोन आयो । उनी एकाएक चकित परिन् । प्रहरीले फोन गरेर उनलाई तुरुन्त बोलाए । बेलुका ४ बजेसम्म सँगै रहेका श्रीमानको एकाएक बीच सडकमा विक्षप्त अवस्थामा शव देखेपछि उनी एकाएक वेहोस भईन् ।

हत्या गरिएको चन्द्रप्रसाद आचार्य ।

नजिकै रहेका होटल म्यानेजरले होटलको अगाडि शव फेला परेको भन्दै प्रहरीलाई खबर गरे । प्रहरी आएर मुचुल्का तयार पार्‍यो । अनि शवलाई पोष्टमार्टमको लागि अस्पताल पठायो । घटनास्थलमा दुई तिन थोपा मात्र रगत थियो । तर शव भने पुरै विक्षिप्त अवस्थामा । प्रहरीले अन्त कतै हत्या गरेर यता फालेको हुनसक्ने आशंका गर्‍यो ।

चन्द्रप्रसादले केहीदिन अघि मात्र एक छोरालाई कोरिया पठाएका थिए । एक छोरी र अर्का छोरा काठमाडौंमा बस्दै आएका छन् ।काठमाडौंमा रहेका छोरा–छोरीलाई दोस्रो दिन बिहान तुरुन्तै घर बोलाईयो । मामाले ‘बाबा सिकिस्त विरामी हुनुहुन्छ । आईसीयूमा उपचार भईरहेको छ’ भन्दै दोस्रो दिन बिहानै घर बोलाईयो । उनीहरु घरमा पुग्दा त बाबुको त्यस्तो हालत देख्दा उनीहरु पनि विक्षिप्त बने । आज त्यो घटना भएको ठिक २ महिना वितिसकेको छ । तर अझैसम्म घटनाका अभियुक्त पत्ता लाग्न सकेका छैनन् । नत पीडित परिवारले कसैविरुद्ध किटानी जाहेरी दिएको छ नत प्रहरीले नै अभियुक्त फेला पार्न सकेको छ ।

पोष्टमार्टम रिपोर्टले पनि छातीका ७ वटा हड्डी (दायाँ बायाँगरी ३–४) भाचिएको, गर्दनको हड्डी भाचिएको, एउटा हात भाचिएको र मुटु फुटेको देखाएको छ । उनको टाउँकोमा पनि धारिलो बस्तु प्रहार गरेको जस्तो घाउँ देखिन्छ । बाबुको निर्ममतापूर्वक हत्या गरिएको भन्दै छोरी संगीता आचार्य न्यायको लागि भौतारिरहेकी छन् । उनले प्रहरी प्रशासनलाई झक्झक्याउने देखि लिएर सञ्चारमाध्यमबाट दवाव दिनेसम्मको काम गर्दै आएकी छन् ।

रहस्यमय घटनाः
चन्द्रप्रसाद फागुन १८ गते राति साढे ८ बजेसम्म त्यही क्षेत्रमा देखिन्छ । बजार क्षेत्रमा राखिएको सीसीटिभी फुटेजका आधारमा उनी साढे ८ बजेपछि भने देखिदैनन् । शव फेला परेको होटलको सीसीटिभी क्यामेरा भने विग्रिएकाले त्यसपछिको अवस्थाबारे जानकारी छैन् । होटलमा जडान गरिएको सीसीटिभीमध्ये जहाँबाट बाहिर देखिन्छ त्यो नै बिग्रिएको छ ।

अन्य सीसीटिभीहरु भने राम्रै छन् । जसले गर्दा पनि घटना शंकास्पद भएको छोरी संगीताको भनाई छ । उनी भन्छिन्, ‘होटलको सबै सीसीटिभी क्यामेरा राम्रो छन्, तर जुन क्यामेराले बाहिर सडक क्षेत्रको क्याप्चर गर्छ त्यो चाँही बिग्रिएको रहेछ । अरु सबै ठिक हुने एउटा मात्र विग्रिने यो त अचम्मै भयो !’

उनले बाबुको कसैले हत्या नै गरेको तर विपक्षी आफुभन्दा बलियो हुँदा कारवाही गर्न नसकिएको बताईन् । ‘हामी भन्दा विपक्ष (पीडक पक्ष) बलियो छ । त्यही भएर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् । प्रहरीले पनि अनुसन्धानलाई लिएर एकदमै लापरवाही गरिरहेको छ’ उनले भनिन् ।

अनुसन्धान जारीः
उक्त घटनालाई प्रहरीले शंकास्पद मृत्यु भनेको छ । जुन स्वभाविक पनि हो । जबसम्म कसैले हत्या गरेको पुष्टि हुँदैन् तवसम्म यसलाई शंकास्पद नै भनिन्छ । तर शवको प्रकृति हेर्दा शतप्रतिशत हत्या नै भएको पीडित परिवारको दावी छ । प्रहरीले पनि मडर भएको हुनसक्ने भन्दै त्यही अनुसार अनुसनधानलाई अगाडि बढाईरहेको छ ।

सुर्खेत प्रहरी प्रमुख एसपी बसन्त रजौरेले घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको जानकारी दिए । ‘उहाँको शंकास्पद मृत्यु हो । कसैले हत्या गरेको भएपनि अपराधी पत्ता नलाग्दासम्म शंकास्पद नै हुन्छ । अनुसन्धान चलिरहेको छ’ उनले भने । प्रहरीले यो घटनालाई विशेष प्राथमिकता दिएर अनुसन्धान गरिरहेको एसपी रजौरेको भनाई छ ।

मुचुल्का तयार पार्ने प्रहरी अधिकारीको सात दिनमै सरुवाः
चन्द्रप्रसादको शवको मुचुल्का प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले गरेका थिए । संगीताका अनुसार सातदिन सम्म प्रहरी निरीक्षक सापकोटाले नै घटनाबारे अनुसन्धान गरेका थिए । तर सातदिनमै उनको काठमाडौं सरुवा गरियो । सरुवा गरिएको पनि करिब दुई सातापछि मात्र आचार्य परिवारले जानकारी पायो । उनको सरुवालाई पीडित परिवारले शंकाको घेरामा राखेको छ । संगीताले घटनाको १७ दिनपछि ‘प्रहरी निरीक्षक सापकोटा कता हुनुहुन्छ ?’ भनि प्रहरीसँग प्रश्न गर्दा ‘उहाँको सरुवा भएर काठमाडौं गएको’ जवाफ पाएको बताईन् । उहाँको एकाएक किन सरुवा भयो भन्ने प्रश्नमा प्रहरी अधिकारीले जवाफ दिन नसकेको उनको भनाई छ ।

तर प्रहरी निरीक्षक सापकोटाले भने आफुले घटनाको अनुसन्धान नगरेको जानकारी दिए । केन्द्रबिन्दुसँगको टेलिफोन सम्पर्कमा सापकोटाले आफुले मुचुल्का मात्र तयार पारेको तर अनुसन्धान अधिकृत अर्को प्रहरी अधिकारी भएको दाबी गरे । ‘मेरो पहिले नै सरुवा भएको थियो । काठमाडौं आउन मात्र बाँकी थियो । घटनाको मुचुल्का तयार मैले नै पारेको हो । तर अनुसन्धान अधिकृत भने अर्कै हुन् ।’ उनले भने ।

‘४५ वर्षमै आमा विधुवा, हामी टुहुरा’: संगीता
‘घर परिवारमा एकदमै मेलमिलाप थियो । लामो समयदेखि बाबा भारतमा काम गर्दै आउनुभएको थियो । बुढेशकालमा पनि किन अर्काको देशमा काम गर्ने, घरमै केही गरौं भन्ने सबैको सल्लाहले दुई वर्ष अघि विरेन्द्रनगर बजारमा खाजाघर खोले । खाजाघर ठिकै चलिरहेको थियो । बाबा–मम्मी दुवै जनाले खाजाघर चलाईरहनुभएको थियो । बाबाको बोलीले गर्दा पनि सबै ग्राहक मख्ख पथ्र्ये । बाबामा बोलेर सबैलाई लठ्ठै पार्ने खुबी थियो । बाबासँग केही समय भएपनि गफ गर्नकै लागि भएपनि साथीभाईहरु पसलमा आईरहन्थ्ये । यत्रो वर्षसम्म उहाँको सबैसँग झगडा, रिसीईबी केही थिएन् । सबैसँग मिठो बोल्ने गर्दा पनि अहिलेसम्म कोही विरोधी थिएनन् । फागुन १८ गते घरमा एकाएक बज्रपात भयो । अहिलेसम्मको सबै खुशी लुटियो । ४५ वर्षकै उमेरमा आमाको सिन्दुर पुछियो, हामी टुहुरा भयौं । हाम्रो घरको पिल्लर नै भत्कियो । हामी एकाएक ज्योतिबिहीन बन्न पुग्यौं । अब हामीले अरु केही पनि मागेका छैनौं । बाबाका हत्यारा पत्ता लगाई कानून बमोजिम कारवाहीको दायरामा ल्याएर हामीलाई न्याय मात्र चाहिएको हो । बस हामीलाई न्याय चाहिएको हो ।’