प्रतिस्थापन बजेटकै कारण अर्थतन्त्र संकटमा : नेकपा एमाले

प्रतिस्थापन बजेटकै कारण अर्थतन्त्र संकटमा : नेकपा एमाले


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूर्वअर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित पत्रकार सम्मेलन गरेर सरकारले गभर्नर निलम्बन गरेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेले सरकार छाडेपछि अर्थतन्त्र समस्यामा परेको बताएका छन्। अर्थतन्त्र जोगाउन सार्थक र प्रभावकारी हस्तक्षेप जरुरी रहेको बताउँदै उपाध्यक्ष पौडेलले गठबन्धन सरकारले मुलुकको अर्थव्यवस्था जोखिममा धकेलेको बताएका छन् ।

अर्थतन्त्रका सूचकहरु खराब अवस्थामा पुगेको बताउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले यो सरकारले सहि नीति लिएर अघि बढ्न चाहेको भए अर्थतन्त्र सवल हुने दावीसमेत गरे । 'नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकार छाड्दासम्म मुलुकको अर्थतन्त्र सृदृढ थियो', उनले भने 'त्यसबेला मुद्रास्फीति ४ प्रतिशतभन्दा तल थियो, रेमिट्यान्स १० प्रतिशतले बढेको थियो । अहिले सबैतिर समस्या छन् ।'

प्रतिस्थापन बजेटकै कारण अर्थतन्त्र संकटमा परेको दावी गर्दै पौडेलले आफूले ल्याएको बजेट लोकप्रिय भए पनि राजनीतिक कारणले नै प्रतिस्थापन बजेट ल्याएको बताए । कोभिड–१९ महामारीका बाबजुद पनि एमाले सरकारले अर्थतन्त्रलाई ट्रयाकमा राख्दै समष्टिगत अर्थतन्त्रका परिसूचक सबल अवस्थामा राख्दै अर्थतन्त्रलाई स्थायित्व प्रदान गरेको बताए। अहिलेको सरकार बन्दा कोभिड–१९ नियन्त्रणमा आउने क्रम सुरु भएको, खोपको सुनिश्चितता भैसकेको र आर्थिक गतिविधि चलायमान हुने अवस्थामा रहेको भन्दै पूर्वअर्थमन्त्री पौडेलले ओली सरकारले ल्याएको बजेटलाई राजनीतिक आग्रहका कारण प्रतिस्थापन गरिएको बताए।

सचेतरुपमा सार्थक हस्तक्षेप नभएमा मुलुक श्रीलंका हुनबाट रोक्न नसकिने नेता पौडेलको भनाइ थियो । उनले भने, 'अर्थशास्त्री, अध्येताहरूले मुलुकको अर्थव्यवस्था जोखिम उन्मुख रहेको निष्कर्ष निकाल्नुभएको छ। यदि सचेत भएर सार्थक हस्तक्षेप गर्न सकेनौं भने मुलुक श्रीलंका हुनबाट रोक्न सक्दैन ।' प्रधानमन्त्री, अर्थमन्त्रीले श्रीलंका हुँदैन भनेर दाबी गर्नुको कुनै अर्थ नरहेको बताउँदै अर्थतन्त्रमा परेका समस्या समाधानका लागि छिटो सम्बोधन गर्नुपर्ने बताए। 'हामीले सरकार छाड्दा मूल्यवृद्धि चार प्रतिशत तल थियो । रेमिट्यान्स बढीरहेको थियो र विदेशी मुद्रा सञ्चिति १४ खर्ब रुपैयाँ बराबर थियो', पौडेलले भने, 'जसले ११ महिनाको आयात धान्न पुग्थ्यो । सुरुका वर्षमा हामीले ७ प्रतिशतको आर्थिक वृद्धिदर पनि हासिल गरेका हौं ।' अघिल्लो सरकारले दातृ निकाय र निजी तथा विदेशी लगानीकर्ताको विश्वास जितेको समेत उल्लेख गर्दै एमालेको सरकारको समयमा कर्जाको ब्याजदर पनि एकल अंकमा रहेको र लगानीका लागि स्रोत पर्याप्त भएको बताए। 

राष्ट्र बैंकलाई मन्त्रालयको महाशाखा जस्तो गर्ने, मौद्रिक नीति ल्याउनसमेत गभर्नरलाई हस्तक्षेप गरेर रोक्ने बद्नियतपूर्ण काम भएको बताउँदै नेता पौडेलले राजनीतिक प्रतिशोधका आधारमा गभर्नर निलम्बन गर्ने वर्तमान सरकारको निर्णय बिडम्बनापूर्ण भएको बताए । चालु खाता घाटा जोखिमको अवस्थामा रहेको र विदेशी विनिमय सञ्चिति घट्दै जाँदा भोलि आयात गर्न नै कठिन हुने अवस्था आएको उनको भनाई थियो ।  

Logo