आफ्नो दु:ख र भाग्यको दोष

अन्नपूर्ण पोस्टमा लेखिका कुन्ता शर्माले लेखेको यौटा संस्मरण पढ्दै छु । ‘मेरा छोराका बाबुहरू’ आत्मकथा नै भन्दा हुन्छ । पढ्दै जाँदा थाहा भयो उनी कम्युनिस्ट नेता ‘मन्जुल’ कि धर्मपत्नी रहेछन् । लेख जति पढ्दै जान्छु उतिनै कथा भित्र आफूलाई भेटाउन थाले । कथा पढेर एकोहोरिएको बेलामा रोजगारदाता को कर्कस आवाज कानमा पर्‍यो मैले मोबाइल बिसाएर उनलाई स्याहार्न गएँ ।

अशक्त भएकी मेरी रोजगारदाता आमै सोफा बाट खसिन । उनलाई त्यसरी लड्न नदिनु मेरो काम हो । अहिले म चुकेँ । अब उनलाई उठाएर पहिलेकै स्थितिमा सुताउनु मेरो कर्तव्य हो । त्यही मेरो धर्म पनि हो । त्यही कामले मेरो अतीतका घाउहरू भरिएका छन् र मेरो भविष्य उज्यालिने तरखरमा छ भने म कसरी गैह्र जिम्मेवार बन्न सक्छु ? मैले आमैलाई उठाएँ, डाईपर फेरिदिएँ र सोफाबाट ओछ्यानमा बोकेरै लगेर सुताएँ । अहिलेको काम सकियो । अनि फेरी दौडिन थाले मेरा दिमागका कोशिकाहरू सुदूर अतीतको त्यो डरलाग्दो स्मृतिमा ।

म अनायासै सोच्छु अशक्त भएर म कतै लडेँ या लडाइयो मलाई । मैले खुट्टा चलाउन जानिन या मेरा गोडामा छिर्केनी पारेर मलाई उठ्नै नसक्ने गरी पछारिएको थियो ? म आफै लडेको हो भने मलाई उठाउन कसैको हात अगाडी सरेको थियो या थिएन ? अहँ मेरो मानसपटलमा न म आफै लडेको कुनै अनुभूति संग्रहित छ न मलाई लडेको अवस्थाबाट उठाउनकोलागि कुनै हात अगाडी बढेको अनुभव नै सँगाल्न पाएकी रहेछु । म मेरी रोजगारदाता आमैलाई पुलुक्क हेर्छु उनी पलङमा मस्त निदाइरहेकी छन् । म ढुक्क हुन्छु ।

म पनि थुनिएकी थिएँ कुनै बेला भावनाहरूको चार दिवारिमा । अनिर्णयको बन्दी बनेकी थिएँ । लछारिएकी पछारिएकी थिएँ दोबाटोमा र लान्छित भएकी थिएँ म । जसले सुरक्षाको जिम्मा लिएको थियो जसले सात जन्म सम्म सँगै मर्ने र सँगै बाच्ने कसम खाएको थियो उसैले मेरो घाँटीमा परिस्थितिको पासो लगाएर झुण्ड्याउने प्रपञ्च गरिरहेको थियो । काखमा साना साना नानीहरू थिए । म निरीह त्यो यातना सहेर बाच्न बाध्य थिएँ । सम्झन्छु, त्यति बेला म मरेको भए अहिले मेरो भागको संसार कुन आँखाले हेर्ने थिए होलान् ? हुर्कँदै गरेका छोरीहरू आँखा अगाडी आउँछन् । मन अलि शान्त हुन्छ, मेरो संसार रमाइलो छ, म ढुक्क हुन्छु ।

यता कथामा कुन्ताको लोग्नेले आफ्नै भाइ सामानको गोपाल सँग कुन्ताको सम्बन्ध रहेको शङ्का गर्छ र मन्जुल झोला बोकेर घर छोडेर निस्कन्छ । म सुदूर अतीतका ती काला रातहरूमा हराउँछु । लछारपछार हुँदै पर्वत देखि पोखरा सम्मको यात्रा तय गरेकी मैले उसलाई सोधेँ, हामी कहाँ हिँडेको हो ? उसले निर्धक्कै भन्यो इन्डिया लगेर तलाई बेचेर आउँछु । म सँग कहालिएर रुने बाहेक अन्य कुनै उपाय थिएन । जसो तसो त्यो अवस्था टर्‍यो म सामान्य जीवनमा फर्किएँ । मेरी जागिर दाता आमै मस्त निद्रामा छन्, यही मौकामा घरको काम सक्नु पर्छ, म फेरी कथा बिसाएर काम गर्न लागेँ ।

कथामा अर्को अध्याय सुरु भयो, मन्जुल ले कान्छो छोरो आफ्नो हुँदै नभएको आरोप कुन्तालाई लगायो । हठात् मेरी छोरीको सम्झनाले म भाव विह्वल हुन पुगेँ । जम्मा एक्काइस दिन कि मात्र भएकी थिई ठुली छोरी । दसैँको कालरात्रिको दिन थियो, मध्यरात भएको हुनुपर्छ, रक्सीले मातेर घर आएको उसले मस्त निदाइरहेकी छोरी मेरो काख बाट खोसेर बोकेर हिँड्यो । म कहालिंदै उसको पछि लागेँ । मारेर खाल्डोमा पुरिदिन्छु तेरी छोरी भनेर मलाई हकार्यो अनि लाछार्यो पनि ।

त्यति बेला म सँग रोएर छोरीको प्राणको भिख माग्नु सिवाय कुनै उपाय थिएन । केही गाउलेहरु जम्मा भए । उनीहरूले छोरी खोसेर मेरो काखमा राखिएदिए म छोरी लिएर घर फर्किएँ । सम्झँदा सम्झँदै मेरो छाती बेतोडले ढुकढुक गर्‍यो । शरीर पसिनाले निथ्रुक्कै भिज्यो । कथा पढ्न छोडेर छोरीलाई फोन गरेँ । एकै घण्टीमा छोरीले फोन उठाई । घरमै छु ममी भनी । मेरी छोरी सुरक्षित छ अहिले । मैले लामो सास फेरेँ । यता बिमारी आमैको डाईपर फेरी भिजेछ क्यारे । आमै कहराउदै कोल्टो फेरिन, मैले उनको डाईपर फेरिदिएँ।

कुन्ताको कथामा मदन भण्डारी आए । कुन्तालाई ‘मनोहर कुटी’ले संरक्षण दिइरहेको छ । म सोच्छु, मलाई ढाडस दिन पनि केही हातहरू आएका थिए । मेरो पनि कुन्ताको मनोहर कुटी जस्तै माइती छ जसले हिम्मत हार्नु हुँदैन है छोरी भनेर बारम्बार सिकाइरह्यो र मलाई मृत्युको मुखमा जानबाट जोगाइरह्यो । कुन्तालाई जिन्दगीले जिम्मेवारीहरू थपिदिए जस्तै मलाई पनि मेरा केही परिस्थितिहरूले जिम्मेवारी दिँदै गए र आफ्नै खुट्टामा उभिन सिकाउँदै गए ।

आज मेरो अगाडी एकजाना बुढी र रोगले जिर्ण भएकी आमै छन् । कर्कसिलो उनको बोली बारम्बार सुनिरहँदा अहिले मलाइ मिठो लाग्न थालेको छ । सुरुमा यो दु:ख मेरो भाग्यले म माथि थोपरेको जस्तो लाग्थ्यो । कहिले आफ्नै कर्मले बेसाएको जस्तो लाग्थ्यो । बिना कारणको गाली र एक किसिमको अपमान सहन गर्न मलाई निकै गाह्रो परेको थियो तर यी सबै परिस्थितिहरूलाई सजिलै पचाउन सक्ने तागत त मलाइ मेरो अतीत ले दिएको थियो । जीवनमा जे समस्या आउँछ त्यसले समाधान पनि त आउँदो रहेछ आखिर ।

यता मेरो रोजगारदाता आमैलाई औषधि खुवाउने बेला भयो । कथामा मन्जुलले मान्छे फेर्दै कुन्ताका छोराहरूको बाबु हो भन्ने आरोप लगाइरहे । डीएनए परिक्षन् को नतिजा आउने दिन सम्म पनि मन्जुल कुन्ता सँग नाजायज सम्बन्ध राख्ने मान्छेको खोजी गरिरहे । कुन्ता आफ्नो पतिव्रता धर्ममा कायमै रहिरहिन त्यति मात्र होइन पार्टीको काममा पनि निरन्तर खटिई रहिन । बिधिबिज्ञान प्रयोगशालाले त कुन्तालाई न्याय दियो तर के हाम्रो समाजले ‘मन्जुल’लाई कुनै सजाय दिन सक्छ त ? कुन्ताको अपमानको भरपाई हुन सक्ला त ? कति कुन्ता जस्तै नारीका अपराधीहरूले सजाय बिनै समाजबाट उन्मुक्ति पाएका छन् त आखिर –सोच्दै थिएँ फेरी बिमारी आमैलाई खाना खुवाउने बेला भएछ ।

-दीपिका भुसाल