जुम्लामा मुल्यसुची नभएका र म्याद गुज्रिएका खाद्यबस्तु बिक्री

जुम्लामा मुल्यसुची नभएका र म्याद गुज्रिएका खाद्यबस्तु बिक्री


जुम्लाका व्यवसायीले मूल्य सूची नभएका र म्याद गुज्रिएका सामान बेच्ने गरेको पाइएको छ।

मुल्यसुची नराखिएका र लेबलनै नटाँसिएका दैनिक उपभोग्य सामान पसलैपिच्छे फरक फरक मूल्यमा विक्री हुँदा उपभोक्ता मारमा परेका छन् । साथै यहाँ संचालित होटल तथा पसलहरुसमेत करदाता सेवा कार्यालयमा दर्ताविना नै सञ्चालनमा रहेको भेटिएका छन् । म्याद गुज्रिएका उपभोग्य बस्तु खरिदविक्री हुँदा पनि स्थानीय सरकार र प्रशासनको ध्यान जान नसकेको भन्दै प्रशासनको आलोचनापछि प्रशासनले बल्ल बजार अनुगमन सुरु गरेको छ ।

सदरमुकाम खलंगाका ठूला व्यापारीले मिति सकिएको अखाद्य बस्तु गाउँका बजार र पसलमा पठाउने गरेको भेटिएको  जुम्लाका  सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । उनका अनुसार अधिकांश पसल दर्ता नभएको भेटिएको छ । दर्ता नभएका पसलबाट नै अखाद्य बस्तु बिक्री भइरहेकाले स्थानीय सरकारले पनि कडाइका साथ बजार अनुगमन गर्नु पर्ने उनले बताइन् । 

बजार अनुगमन समितिले पातारासी गाउँपालिकाका मुख्य बजारमा अनुगमन गर्दा स्टिम नुडल्स, पेय पदार्थसहित बस्तुको म्याद सकिएको भेटिएको थियो । जुम्लाका व्यापारी व्यवसायीले बजार अनुगमन समितिको सुझाव  नमान्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका  खाद्य अनुसन्धान अधिकृत डा.ईश्वरी सुवेदील बताए ।

हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति भए पनि काम गर्न सकिरहेको छैन । पसलमा ढकतराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा बिक्री वितरण गरेको भेटिएको खाद्य अनुसन्धान अधिकृत डा.सुवेदीले जानकारी दिए ।

Logo