यस्ताे छ अबको पाँच वर्षका लागि कांग्रेसले देखाएकाे स्थानीय सरकारको मार्गचित्र

यस्ताे छ अबको पाँच वर्षका लागि कांग्रेसले देखाएकाे स्थानीय सरकारको मार्गचित्र


नेपाली कांग्रेसले स्थानीय सरकारको स्वायत्तता र सवलीकरण गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता, स्थानीय सरकारको पहिलो कार्यकालका अभ्यास, अनुभव र अवसरको कसीमा प्रभावकारी स्थानीय सरकारको अबको मार्गचित्र तय गर्ने जनाएको छ।

कांग्रेसले वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। ‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणा पत्रमा संविधानले स्थानीय तहलाई प्रदान गरेका अधिकारको अधिकतम उपयोग गरि स्थानीय तहमा विकास गरि जनतालाई सुखी, स्वावलम्बी तथा सबल बनाउने योजना अघि बढाएको छ।

कांग्रेसले समुन्नत नेपालको आधार नै गाउँ र नगरको समुन्नति भएको परिकल्पना गर्दै स्थानीय सरकारलाई अधिकार तथा साधनस्रोत सम्पन्न र प्रभावकारी बनाएर गाउँ र नगरको विकास र समुन्नतिको ठोस आधार तय गर्ने जनाएको छ।

नागरिकको पहिचान, प्रगति र प्रतिष्ठालाई मजबुद बनाउने, जनतामुखी नीति अनुसरण गरि उत्तरदायी र जवाफदेही रूपमा सरकार सञ्चालन गर्ने, समुन्नत नेपालको राष्ट्रिय आकाङ्क्षा अनुरुप स्थानीय तहले समुन्नत गाउँ, समुन्नत नगरका नीति र कार्यक्रमको ठोस मार्गचित्र तय गरि कार्यान्वयन गर्ने कांग्रेसको योजना छ।

कांग्रेसले परिकल्पना र प्रस्ताव गरेको मार्गचित्र अनुरुप स्थानीय सरकारले अबको पाँच वर्ष आफ्ना क्षेत्रगत नीति, योजना र कार्यक्रम अगाडि बढाउन नागरिकको स्वतन्त्रता र सम्मान संविधानले विस्तृतरुपमा राजनीतिक, सामाजिक–सांस्कृतिकलगायत अधिकारलाई अनुशरण गर्ने जनाएको छ।

सबल स्थानीय सरकारका लागि असल शासन र जवाफदेहिता, सहज र प्रभावकारी सेवा प्रवाह, नीतिगत, कानुनी तथा संस्थागत क्षमता विकास, स्रोतको उचित व्यवस्थापन, समन्वय, सहकार्य र साझेदारी, सामाजिक रुपान्तरणको मूल अभियन्ता, प्रमाण, तथ्य र तथ्याङ्कका आधारमा बजेट, नीति र योजना तर्जुमा, सूचना प्रविधिको प्रयोग, नागरिक सम्बन्ध र जनसहभागिता, सिर्जनशील र जनमुखी नेतृत्व मूलभुत सिद्धान्त अनुसरण गर्ने कांग्रेसले जनाएको छ।  

कांग्रेसले अबको दशकमा शिक्षा प्रणालीलाई व्यापक सुधार गर्दै सबैलाई गुणस्तरीय शिक्षा दिलाउने प्रमुख लक्ष्य राखी त्यसका लागि ‘रट्ने र घोक्ने’ खालको सिकाइ परम्परालाई निरुत्साहित गर्दै बालविकासदेखि माध्यमिक तहसम्मै  ‘सोच्ने, सोध्ने र सिक्ने’ शिक्षण परम्परा र अभ्यासलाई प्रोत्साहन गर्दै लाने जनाएको छ। विद्यालयमा उपस्थिति दर उत्साहजनक देखिए पनि ड्रप–आउट दर घटाउन र रिटेन्शन दर बढाउने नीति र कार्यक्रम अवलम्बन गर्दै जाने कांग्रेसले सङ्कल्प गरेको छ।

कांग्रेसले गाउँगाउँमा स्वास्थ्य सेवा र जनशक्ति पुर्याउने, स्वास्थ्य बीमालगायत विगतमा विभिन्न कालखण्डमा आफ्नो सरकारले गरेका प्रयास र उपलब्धिलाई स्मरण गर्दै स्वास्थ्यसम्बन्धी नागरिक अधिकारलाई कार्यान्वयन गर्न जनता केन्द्रित स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बढ्दो नसर्ने रोगको भार न्यून गर्न, स्वास्थ्यमा जनताको खल्तीबाट हुने खर्च कम गर्न, संविधान र दिगो विकासका लक्ष्यअनुसार स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच कायम गर्न गुणस्तरीय स्वास्थ्य सेवा उच्च प्राथमिकतामा रहनु पर्दछ भन्ने कांग्रेसको भनाइ छ।

संविधानले स्थानीय सरकारलाई प्रत्याभूत गरेका स्वास्थ्यको अधिकार कार्यान्वयन गर्दै निःशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय सेवामा सहज र समतामूलक पहुँच सुनिश्चित गर्न कांग्रेसले सङ्कल्प गरेको छ। किसान कल्याण, सामूहिक प्रयासबाट प्राप्त हुने खाद्य तथा पोषण सुरक्षा, कृषि उद्यम तथा उद्योगको विकास, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन र वातावरण तथा जैविक विवधताको संरक्षण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि, विविधिकरण, व्यावसायीकरण र औद्योगिकीकरणका माध्यमबाट किसानको आम्दानी वृद्धि, खाद्य तथा पोषण सुरक्षा र आत्मनिर्भर कृषि क्षेत्रलाई कांग्रेसको आफ्नो मार्गचित्र भनी उल्लेख गरेको छ।

Logo