कर्णालीमा कोरोना सङ्क्रमितलाई योगाभ्यास

कर्णालीमा कोरोना सङ्क्रमितलाई योगाभ्यास


कर्णाली ।

आयुर्वेद शाखा जुम्लाले यहाँका कोरोना सङ्क्रमितलाई योगाभ्यास गराउन थालेको छ । यहाँका विभिन्न आइसोलेशनमा रहेका सङ्क्रमितको प्रतिरक्षा प्रणालीमा सहयोग पु¥याउने उद्देश्यका साथ योगाभ्यास गराइएको हो ।

जुम्लाको चन्दननाथ नगरपालिकास्थित निर्माण व्यवसायी सङ्घको कक्षमा रहेको आइसोलेशनका कोरोना सङ्क्रमितलाई अहिले हरेक बिहान योगाभ्यास गर्न थालेका छन् । यहाँका विभिन्न आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई हरेक बिहान योगाभ्यास गराउन थालिएको आयुर्वेद शाखा जुम्लाका प्रमुख तथा आयुर्वेद चिकित्सक डा प्रतिभा शर्माले जानकारी दिइन्।

“यसअघि जुम्ला हिमा गाउँपालिकाको कालिकाखेतुको आइसोलेशनका ४० सङ्क्रमितहरुलाई योग अभ्यास गराइयो”, डा शर्माले भनिन् “अहिले यहाँका २७ सङ्क्रमितलाई अभ्यास गराइरहेका छौंँ । सबैले निकै आनन्द लिएर अभ्यास गरिरहनु भएको छ ।”

योगाभ्यासले मानव जीवनलाई अनुशासित बनाउन, शुद्ध पार्न र मन शान्ति दिन सघाउने भएकाले हरेक व्यक्तिले गर्नुपर्नेमा उनको जोड छ । उनले अगाडि भनिन् , “रोग प्रतिरक्षा प्रणाली कम भएपछि असर पार्न सक्ने अवस्थालाई ध्यान दिएर तीनदेखि सात दिनसम्मको योग अभ्यास शुरु गर्दा सङ्क्रमित निकै रुचि राखेर सहभागी भएका छन् । हामीले सबै कोरोना सङ्क्रमितलाई अश्वगन्धा, स्टीमधु, अमला जस्ता आयुर्वेदिक औषधि पनि वितरण गर्दै आएका छौंँ ।”

उनका अनुसार यसअघि जुम्लाका विभिन्न क्वारेन्टिनका ८०० व्यक्तिलाई योगाभ्यास गराइसकिएको छ । आयुर्वेद शाखा जुम्लाका अध्यक्ष मनोज बुढाथोकी मगरले व्यक्तिले सही तरिकाले योगाभ्यास गरेमा उसको परिवार पनि लाभान्वित हुने बताए ।

Logo