जोमसोम विमानस्थल १५ दिनका लागि बन्द

मुस्ताङको जोमसोम विमानस्थल शनिबारदेखि १५ दिनका लागि बन्द गरिने भएको छ ।

विमानस्थलको धावनमार्गमा कालोपत्र थप गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो ।

कार्यालय प्रमुख भानु कोइरालाले धावनमार्ग सुधारको काम गर्न असार ७ गतेसम्म विमानस्थल बन्द गर्न लागिएको बताए । विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्र थपलगायत मर्मतको काम भइरहेको छ ।

विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ । गत असोजमा नौ करोडमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम सुरु गरेको थियो ।

पोखरा–जोमसोम हवाई मार्गमा तारा, यती, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् ।