घना नेवा बस्तीमा बालेन साह कमजोर, समग्रमा १५ हजार मतको अग्रता

घना नेवा बस्तीमा बालेन साह कमजोर, समग्रमा १५ हजार मतको अग्रता


काठमाडौंको घना नेवा बस्ती मानिने क्षेत्रमा महानगर प्रमुखका लागि ठूला दलहरुबीच प्रतिष्पर्धा देखिएको छ। मखन टोल, जनबहाल र महाबौद्ध क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको हो।  

महानगरमा सुरुवातबाटै अग्रता लिँदै आएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको यो क्षेत्रमा पकड कमजोर देखिएको छ। मतगणना जारी रहेका विभिन्न १० वडामध्ये वडा नम्बर २४, २५ र २७ मा उनी अन्य वडाको तुलनामा कमजोर देखिएका छन्। 

मखन टोल क्षेत्रमा पर्ने वडा नम्बर २४ मा गणना भएका ९ सय मतमध्ये नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२४ मत ल्याएका छन्। 

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९० प्राप्त गर्दा शाहको पक्षमा १७३ मत आएको छ। २०७४ को निर्वाचनमा निवर्तमान महानगर प्रमुख विद्यासुन्दर शाक्यको गढ मानिन्थ्यो।

गत निर्वाचनमा यस वडाबाट एमालेका बालकृष्ण श्रेष्ठले १ हजार ४५२ मत पाएर वडाध्यक्ष जित्दा कांग्रेसले ९१४ मत पाएको थियो।

जनबहाल क्षेत्रमा पर्ने वडा नम्बर २५ मा खसेको कुल मतमध्ये शनिबार बिहानसम्म २ हजार १८ मत गणना भएको छ। जसमध्ये स्थापितले ४५२, शाहले २९४ र सिंहले २६७ मत पाएका छन्। घना नेवा वस्ती मानिने जनबहालमा कांग्रेस र एमालेको लगभग बराबरी भोट छ। 

२०७४ को चुनावमा यस वडाबाट कांग्रेसका नीलकाजी शाक्य १ हजार ५२५ मतका साथ विजयी भएका थिए। एमालेले यस वडामा १ हजार ४९० मत पाएको थियो।  

महाबौद्ध क्षेत्रमा पर्ने वडा नम्बर २७ मा २ हजार ६१८ मत गणना हुँदा एमालेका स्थापित अग्रस्थानमा छन्। उनले ७४३ ७७६ मत ल्याएका छन्। यो वडामा स्वतन्त्र उम्मेदवार ४१७ मतसहित तेस्रो स्थानमा छन्। यहाँ कांग्रेस उम्मेदवार सिंहले ६६८ मत पाएकी छन्। 

नेवार समुदायको बाक्लो बसोबास रहेको महावौद्ध क्षेत्रमा २०७४ को चुनाव एमालेका चिनियामान बज्राचार्य १ हजार ५६६ मतका साथ विजयी भएका थिए। यहाँबाट कांग्रेसले १ हजार ३५८ मत पाएको थियो। 

अहिले काठमाडौंका ६, ७, ८, ९, १०, २४, २५, २६, २७ र ३१ नम्बर वडाको गणना भइरहेको छ। १, २, ३, ४, ५, २८, २९, ३० र ३२ नम्र वडाको गणना सम्पन्न भइसकेको छ। 

अहिलेसम्म काठमाडौंमा खसेको कुल मतमध्ये ९१ हजार ९७२ मत गणना भइसकेको छ। जसमध्ये साह ३३ हजार ६२४ मतका साथ अग्रस्थानमा छन्। 

एमालेका स्थापित १८ हजार १८९ मतका साथ उनलाई पछ्याइरहेका छन्। कांग्रेसकी सिंह १८ हजार ५४ मतसहित तेस्रो स्थानमा छन्। वैशाख ३० मा सम्पन्न मतदानमा काठमाडौंमा १ लाख ८९ हजार ४२० मत खसेको थियो।

Logo