घोकन्ते शिक्षाबाट विकास हुँदैन- बाबुराम भट्टराई

सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आज आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा सङ्घीय नेपालमा शिक्षाको महत्व’ विषयको कार्यक्रममा उनले संसारलाई बुझ्ने र बदल्ने शिक्षा भएकाले घोकन्ते ढङ्गले पढाउने र पढ्ने गरेर प्रगति हुन नसक्ने बताएका हुन् ।

विकासको लागि शिक्षा आवश्यक भएकाले सबै काम गर्ने मान्छेको चेतनाशक्तिलाई बढाउन सक्ने शिक्षा दिन शिक्षक शिक्षिका लाग्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘आधुनिक युगको मन्दिर भनेको नै शैक्षिक केन्द्र हो, जसका पुजारी शिक्षक शिक्षिका हुन् ।

कर्मकाण्डी प्रकारको घोकन्ते शिक्षा दिएर खाली डिग्री मात्रै लिएर निस्कने खालको शिक्षण भएकाले त्यसले कुनै पनि विकासमा टेवा पु¥याउन नसक्ने उल्लेख गर्दै उनले अब स्थानीय तहले परम्परागत शैक्षिक प्रणाली  बदल्न लाग्नुपर्नेमा जोड दिए ।

उनले अमेरिकालगायतका देश धन सम्पत्तिले नभई शिक्षा प्रणालीको माध्यमबाट नै विकास भएको उल्लेख गरे ।