कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत,

कर्णालीमा प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसको असहमतिकाबीच प्रदेश सभाको शनिवारको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । सत्तारुढ नेकपाका सांसदहरूले नीति तथा कार्यक्रमको पक्षमा र प्रतिपक्ष कांग्रेसका सांसदहरूले विपक्षमा मतदान गरेका थिए ।

आर्थिक वर्ष २०७६/७७ का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालले बुधवार प्रदेश सभामा प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि प्रदेश सभामा शुक्रवार एकदिन मात्र छलफल भएको थियो ।

छलफलका क्रममा सत्तारुढ सांसदहरूले नीति तथा कार्यक्रमको प्रशंसा गरे । तर प्रतिपक्ष कांग्रेसका सांसदले भने प्रदेश सरकारले संघीय सरकारको नक्कल गरेर कार्यक्रम ल्याएको र कर्णालीलाई सुहाउँदो नीति नआएको भन्दै नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

नीति तथा कार्यक्रममाथि सांसदहरूले राखेका प्रश्न र जिज्ञासाको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिवार प्रदेश सभाको बैठकमा जवाफ दिएका छन् । सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम बैठकमा निर्णयार्थ पेश गरिएको थियो ।
अन्नपूर्णबाट