भारतीय गायिका कक्करको कार्यक्रममा विवाद, ३ जना पक्राउ

काठमाडौं । भारतीय गायिका नेहा कक्करको प्रस्तुति रहेको कार्यक्रमा विवाद हुँदा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ठमेलको लाइट क्लब एलओडी (लर्ड अफ डिस्को) मा शनिबार राति आयोजित कार्यक्रममा टिकटको विषयलाई लिएर विवाद भएको थियो ।

आयोजक पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले क्लबको क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादित बनेको हो । कक्करको कार्यक्रम हेर्न पुगेका सयौं दर्शक क्लब बाहिरै बस्नु परेपछि उनीहरुले प्रहरी गुहारेका थिए । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले आयोजक संस्थाका दीपक घिमिरे, रविन श्रेष्ठ र अर्का एक जनालाई पक्राउ गरेको हो ।