सुदूरपश्चिम प्रदेशको बजेट अपेक्षा अनुसार नआउने संकेत

धनगढी,

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा अपेक्षा अनुसारको बजेट ल्याउन नसक्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संघीय सरकारले वित्तीय समानीकरण र सशर्त अनुदान दुई अर्बभन्दा बढी घटाएर प्रदेशलाई दिएपछि प्रदेश सरकारले अनुमान गरे अनुसार बजेट ल्याउन नसकिने बताए ।

आर्थिक वर्ष २०७६/७७ को पूर्वबजेटबारे सञ्चारकर्मीहरूसँग गरिएको छलफलमा मन्त्री बोहराले प्रदेश सरकारले ३० अर्बको बजेटको अनुमान गरेकोमा २९ अर्बको आउने प्रक्षेपण गरिएको बताए । चालू आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट ल्याउने अन्तिम तयारी गरेको हो ।

“प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुतको अन्तिम तयारीमा रहेको छ,” मन्त्री बोहराले भने, “अहिलेनै बजेटको आकार भने टुङ्गो लाग्न सकेको छैन । प्रदेशको बचतका आधारमा बजेटको आकारको टुंगो लगाइने छ ।” मन्त्री बोहराले सरकारले कृषि, भौतिक पूर्वाधार, सामाजिक विकास, लक्षित वर्गलगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जानकारी दिए ।
कारोबारबाट