दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु, चार घाइते

सर्लाही,

सर्लाहीको हरिपुरमा गएराति दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । हरिपुरबाट बयलवास जाँदै गरेको ना २५ प ६९२२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ५ प ७८८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुबै मोटरसाईकलका चालकको मृत्यु भएको हो ।

ना २५ प ६९२२ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ज ५ प ७८८६ नम्बरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

राति साढे १० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका चौधरीद्वयको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुबै मोटरसाईकलमा तीन तीनजना चढेको र तीब्र गति रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ । चार जना घाइतेको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।