विकासको बाटोमा अघि बढ्दै ‘विराटनगर महानगर’

विकासको बाटोमा अघि बढ्दै ‘विराटनगर महानगर’


स्थानीय तहमा दुई दशक लामो समयसम्म जनप्रतिनिधिविहीन हुँदा जनताको अपेक्षा अनुसारको विकास निर्मााणको काम हुन सकेको थिएन । स्थानीय आवश्यकता अनुसार विकास निर्माणका काम त भएका थिएनन् नै शुरू भएका काम समेत समयमा नसकिने समस्या थियो । 

जनताप्रति उत्तरदायी जनप्रतिनिधिको अभावमा दीर्घकालिन र दूरगामी महत्व, सबै क्षेत्रलाई समेटेका योजना सञ्चालन गर्ने परिपाटीको अभाव थियो । २०७४ साल असारमा विराटनगर महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विराटनगर समृद्धिको बाटोमा अघि बढेको हो । समानुपातिक रूपमा दीर्घकालिन महत्वका परियोजनाहरू सञ्चालन भएका छन् । एक आधुनिक सुविधा सम्पन्न शहरमा चाहिने पूर्वाधार निर्माणमा महानगर अघि बढेको छ । व्यवस्थित र योजनाबद्ध रूपमा शुरू गरिएको यो विकास योजनाले भोलीको आधुनिक सुविधा सम्पन्न शहरको खाका कोरेको छ । 

जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । जनताको घर दैलोमा पुग्ने स्थानीय सरकारले प्रवाह गर्ने सेवा छिटो, छरितो र गुणस्तरीय बनाउनका लागि आफ्नै कार्यालय हुन आबश्यक छ । आफ्नै कार्यालय हुँदा सेवा प्रवाह प्रभावकारी हुने भएकाले महानगरपालिकाले प्राथमिकताका साथ वडा कार्यालय र महानगर कार्यपालिकाको भवन निर्माण गरेको छ । वडा नम्बर ३, ५, ६, ७, ८, ९, १०, ११, १२, १४, १५, १६, १७, १८ र १९ का सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भइसकेका छन् । महानगरपालिका कार्यालयको भवन निर्माणको काम समेत धमाधम भइरहेको छ । 

अत्यधिक सवारी चापका कारण कोशी राजमार्गमा पैदल यात्रीलाई सडक पार गर्न समस्या थियो । द्रुत गतिमा आएका सवारी साधनका कारण पैदल यात्रीलाई बाटो काट्न समस्या त थियो नै सडक दुर्घटना समेत बढेको थियो । यसलाई दृष्टिगत गरी महानगरपालिकाले बढी सवारी चाप हुने मुख्य चोकमा आकाशे पुल निर्माण गर्न शुरू गरेको छ । विराटनगरको कञ्चनबारी चोकमा आकाशे पुल निर्माणको काम शुरू भएको छ । त्यस्तै, २०७९ साल भित्र आकाशे पुल निर्माण सम्पन्न गर्ने गरी वगरगाछी र वसपार्कमा काम अघि बढेको छ । घाँस चोकमा पनि सुविधा सम्पन्न आकाशे पुल निर्माण गर्नका लागि महानगरले योजना अघि बढाएको छ । 

त्यसैगरी, हिमालय रोडलाई महानगरपालिकाले सौन्दर्यीकरण गर्दैछ । एक करोड ६१ लाख रूपैयाँ लागतमा सौन्दर्यीकरणको काम भइरहेको यो योजना सम्पन्न भएपछि विराटनगरको गरिमा अझ बढ्न् छ । निर्माणको अन्तिम चरणमा रहेको यो योजना सम्पन्न भएपछि हिमालय रोडमा पानीको फोहोरा, राजनीतिक कार्यक्रम गर्न खुल्ला मञ्च, नाटक देखाउने डबली, बगैँचा, विद्युतिय सजावट लगायतका संरचनाले सजिने छ ।

त्यस्तै, महानगरले विराटनगर विमानस्थलको सडकलाई पनि सौन्दर्यीकरण गरिरहेको छ । ९६ लाख ११ हजार रूपैयाँ लागतमा सडकलाई सौन्दर्यीकरण गर्ने काम धमाधम भइरहेको छ । २०७९ साल जेठ महिनामा सम्पन्न हुने यो योजना सम्पन्न भएपछि एयरपोर्ट सडक एउटा पर्यटकिय गन्तव्य बन्नेछ । पर्यटकलाई लक्षित गरी यो क्षेत्रको विकास र विस्तार भइरहेकै कारण यो क्षेत्रमा पछिल्लो समय होटल, रेष्टुरेण्ट खुल्ने क्रम बढेको छ । चौविसै घण्टा यहाँका होटल रेष्टुरेयट खोल्ने गरी काम भइरहेको छ । यहाँका होटल तथा रेष्टुरेण्ट २४ सै घण्ट सञ्चालनमा आए रोजगारी सिर्जना हुनुका साथै आय आर्जन समेत बढ्ने महानगरले अपेक्षा गरेको छ । 

विराटनर पुरानो र ऐतिहासिक शहर मात्र होइन एक नम्बर प्रदेशको राजधानी पनि हो । ऐतिहासिक शहरको साथै प्रदेश एकको राजधानी भएपनि विराटनगरमा सुविधा सम्म सभागृहको अभाव थियो । ठूला कार्यक्रम गर्नुपर्दा होटल या मैदानमा काम चलाउनुपर्ने अबस्था थियो । भएको वीरेन्द्र सभागृहको मरमत सम्भार नहुँदा कार्यक्रम गर्न नै समस्या थियो ।

प्रदेशको राजधानीमा सुविधा सम्पन्न सभागृहको आबश्यकतालाई महसुस गरी महानगरले वीरेन्द्र सभागृहको स्तरोन्नतीको काम शुरू गरेको छ । २४ करोड ७९ लाख रूपैयाँ लागतमा सभागृहको स्तरोन्नतीको काम धमाधम भइरहेको छ । यही वैशाखमा सम्पन्न हुने गरी काम भइरहेको सभागृहको स्तरोन्नती भएपछि विराटनगरमा ठूला कार्यक्रम आयोजना गर्नुपर्दा समस्या हुने छैन् । विराटनगर महानगरपालिकाले प्रादेशिक सभाहल निर्माण गर्ने पनि योजना अघि सारेको छ । प्रादेशिक सभाहल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन महानगरले तयार गरिसकेको छ भने सभाहल निर्माणका लागि जग्गा प्राप्तिका लागि जग्गा अधिग्रहणको प्रकृया शुरू गरेको छ । 

आधुनिक शहरमा स्लटर हाउसको पनि त्यत्तिनै आबश्यक हुन्छ । नागरिकलाई स्वस्थ्य, सफा मासु उपलब्ध गराउन स्लटर हाउसको महत्वपूर्ण भूमिका हुन्छ । तर विराटनगर पुरानो र ऐतिहासिक शहर भएपनि स्लटर हाउस छैन् । जसले गर्दा विराटनगरवासीले सफा, स्वस्थ्य मासु उपभोग गर्न पाएका छैनन् । यो समस्या समाधान गर्न विराटनगर महानगरपालिकाले स्लटर हाउस निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरि सकेको छ । अहिले स्लटर हाउस निर्माणका लागि बोलपत्र आह्वान गर्ने चरणमा छ । निर्माणको प्रकृया शुरू भइसकेको हुनाले महानगरवासीको स्वस्थ्य र सफा मासु खाने चाहना छिट्टै पुरा हुने देखिन्छ । 

विराटनगरवासीलाई शुद्ध, सफा पिउने पानी उपलब्ध गराउन महानगरले शुद्ध खानेपानी परियोजना सञ्चालनको तयारी भएको छ । शुद्ध खानेपानीका लागि जाइकासँगको सहकार्यमा दुई अर्व ६१ करोड रूपैयाँको परियोजना सञ्चालन हुने भएको छ । यसको बजेट स्वीकृत भई निर्माण प्रकृया अघि बढेको छ । यो परियोजना सम्पन्न भएपछि खानेपानीको समस्या समेत समाधान हुनेछ । 

महानगरको वडा नम्बर नौ स्थित ई प्लटमा महानगरले २५ तले आधुनिक व्यवसायिक भवन निर्माण गर्दैछ । अण्डरग्राउण्ड पार्क सहितको आधुनिक व्यवसायी भवन सार्वजनिक नीजि साझेदारीमा निर्माण गर्ने गरी सम्झौता भएको छ । प्रदेश लगानी बोर्डको समन्वयमा निर्माण हुने यो परियोजनाले विराटनगरको गरिमा त बढाउँछ नै रोजगारी वृद्धिका साथै व्यवसायिक गतिशिलता बढाउने छ । यो बहु उपयोगी भवन निर्माण पछि व्यवसाय सञ्चालन र विस्तार गर्न सहज हुनेछ । त्यस्तै, ए प्लट र वी प्लटमा स्मार्ट पार्किङ्ग, चमेनागृह सहितको पार्क निर्माण गरी सञ्चालन गर्ने महानगरपालिकाले योजना बनाएको छ । 

विराटनगरको हाटखोलामा गुरूकूल आरोहण थिएटर भवन निर्माण भएको छ । भारतीय दूतावासको सहयोगमा उक्त थिएटर भवन निर्माण सम्पन्न भएको हो । करिव तीन करोड ९० लाख रूपैयाँ लागतमा निर्माण भएको यो थिएटरले कला सस्कृतिको संरक्षणमा टेवा त पु¥याँछ नै विराटनगरवासीले नाटकको प्यास समेत मेट्न पाउने छन् । 

विराटनगरको वडा नम्बर दुई र सात स्थित घोघापैनीको एक किलोमिटर क्षेत्रमा प्रधानमन्त्री पार्क बनाउन महानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको छ । पार्क निर्माणका लागि बोलकबोलको प्रकृया अघि बढेको छ । सात जना व्यक्तित्व प्रधानमन्त्री बनेको शहर विराटनगर भएकाले महानगरले प्रधानमन्त्री पार्क बनाउन लागेको हो । विराटनगरका वी. पी. कोइराला, मातृकाप्रसाद कोइराला, गीरिजाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, कृतिनिधी विष्ट, मनमोहन अधिकारी र सूर्यबहादुर थापा प्रधानमन्त्री भएका थिए । नेपालको राजनीतिक इतिहासका अध्ययन र अनुसन्धानको थलोका रूपमा विकास गर्ने गरी महानगरले प्रधानमन्त्री पार्कको अवधारणा अघि ल्याएको हो । प्रधानमन्त्री पार्क निर्माण भएपछि यो क्षेत्र पर्यटकिय गन्तव्य बन्नेछ । 

एशियाली विकास बैंकको ऋण सहयोगमा विराटनगरको ढल, नाला र डुवानको समस्या समाधान भएको छ । करिव छ अर्व रूपैयाँ लागतमा सम्पन्न यो परियोजनाले वडा नम्बर सात, नौ र १० को सबै ठाउँमा ढलको बिस्तार गर्नुका साथै वडा नम्बर दुई, आठ, पाँच, छ, ११ र १२ को घना बस्तीको भएको क्षेत्रमा ढल निर्माण गरको छ । छ हजार घर परिवार ढलको सञ्जालमा जोडिएका छन् । परियोजनाले विराटनगरको जतुवामा १३ बिघा जमिनमा ढलबाट आएको फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरेको छ । परियोजनाले ४५ किलोमिटर सडक स्तरोन्नती गरी कालोपत्रे गर्नुका साथै ६५ किलोमिटर नाला र ६५ किलोमिटर ढल निर्माण गरेको छ । यो परियोजनाले विराटनगरवासीको सुविधा त थपेको छ नै शहरको सौन्दर्यता समेत बढाएको छ । 
यस्तै, विराटनगरमा तारणीप्रसाद कोइराला स्मृती सञ्चारग्राम र महानगर एफएम सञ्चालनमा आएको हो । 

विराटनगरको वसपार्कमा आधुनिक वस टर्मिनल भवन निर्माण भएको छ । यो निर्माणसँगै हल्का पानी पर्दा पनि जलमग्न हुने विराटनगर वसपार्कको समस्या समाधान भएको छ । विराटनगर महानगरपालिकाको पहलमा शहीद मैदानमा फ्लड लाइट जडान भएको छ । फ्लड लाइट जडान पछि शहीद मैदानमा रातिको समयमा पनि खेल खेलाउन सहज भएको छ ।

यी र यस्ता भौतिक पूर्वाधारले विराटनगरको सुविधा मात्र थपेका छैनन् एउटा आधुनिक सुविधा सम्पन्न शहरको पहिचान दिएको छ । 

Logo