जिल्ला र प्रदेश भलिबलको निर्वाचन असार दोस्रो साता

जिल्ला र प्रदेश भलिबलको निर्वाचन असार दोस्रो साता


नेपाल भलिबल संघ (एनभिए)  को पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले  १० असारसम्म जिल्ला र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ ।

शनिबार गण्डकी प्रदेशमा बसेको बैठकले सात प्रदेशको लागि निर्वाचन केन्द्रीय प्रतिनिधि तोकेको छ । जसमा १ नम्बर प्रदेश संयोजकमा मदन खड्का, मधेस प्रदेशमा उपेन्द्र यादव, बागमती प्रदेशमा कुमारराज सुवेदी, गण्डकीमा याम गुरुङ, लुम्बिनीमा निरोज मास्के, कर्णालीमा ऎनबहादुर शाही र सुदूरपश्चिमको संयोजकमा हर्क सिंह धामीलाई छनोट गरिएको छ ।

भलिबल संघले असार १५ सम्म जिल्ला र प्रदेशबाट छनोट भएका प्रतिनिधिको नामावली राखेपलाई बुझाउने छ । यसैगरी बैठकले खेलकुद ऎन २०७७ र संघको बिधानलाई टेकेर निर्वाचन प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । यद्यपि बैठकले निर्वाचन मिति भने तोक्न सकेन । बैठकले पूर्वअध्यक्ष गंगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय संघको विधान मस्यौदा समिति गठन गरेको छ ।

जसको सदस्यमा रामचन्द्र भण्डारी र रोशन श्रेष्ठ सदस्य रहेका छन् । बैठकले महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई सुझाव सहित केन्द्रीय अधिवेशनमा लग्ने, एशियाली महिला भलिबलको तयारी सुरु गर्ने, रेफ्री, खेलाडीको विवादबारे छानबिन गर्न महासचिवको नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ । जसको सदस्यमा मनवीर छन्त्याल, जुनु पुन, जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी रहेका छन् ।

Logo