#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31656010972327742673923256944
नेपाल666324291814248061

सिंहदरबारभित्रको हेल्थ डेस्कमै औषधि अभाव

काठमाडौं,

सिंहदरबारभित्रको हेल्थ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेव दीपक मुडभरीले बताए । देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका लागि राज्यका निकायबीच समन्वय नहुँदा सेवा नै अवरुद्ध हुने अवस्था देखिएको छ ।

सिंहदरबारभित्रका करिब सात हजार कर्मचारीको स्वास्थ्योपचारका लागि भनेर सरकारले १६ फागुन ०७४ देखि पिएचसीसरहको स्वास्थ्य संस्था (हेल्थ डेस्क) सञ्चालन गरेको थियो । तर महिनौँदेखि औषधि अभाव हुँदा कर्मचारीले स्वास्थ्य सेवा पाएका छैनन् । मुडभरीका अनुसार अहिले सिंहदरबारमा सिटामोल, एन्टिबायोटिक्स, बान्ता रोक्ने ओन्डेम, डायबिटिजका बिरामीलाई दिइने मेटफर्मिन, ग्यास्ट्रिक, प्रेसर, कोलेस्ट्रोल, एलर्जीका औषधि तथा कान र आँखामा हालिने ड्रप पनि अभाव छ ।

जिंक चक्की, जीवनजल, मेन्ट्रोनिडाजोल र सलाइन मात्रै पर्याप्त छ । औषधि माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पाँचपटक परिपत्र गरे पनि औषधि नआएको मुडभरीले बताए । ‘प्रधानमन्त्री कार्यालयले पनि दुईपटक स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक औषधि उपलब्ध गराउन पत्राचार गरेको छ,’ मुडभरी भन्छन्, ‘तर, मन्त्रालयले त्यसको सुनुवाइ गरेको छैन ।’ सिंहदरबारभित्रै अत्यावश्यक औषधि अभाव हुनुले स्वास्थ्य मन्त्रालयले दिने स्वास्थ्य सेवाप्रति नै प्रश्न उब्जिएको कर्मचारीको भनाइ छ ।
नयाँ पत्रिकाबाट

सम्बन्धित समाचारहरु