४६ हजार शिक्षक दरबन्दी थप्ने सरकारको तयारी

काठमाडौं । सरकारले ४६ हजार शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । एक कक्षादेखि १० सम्म २०६० सालदेखि राहत दरबन्दीमा नियुक्त भएका ४० हजार र कक्षा ११ र १२ पढाउन अनुदान कोटामा नियुक्त भएका ५ हजार नौ सय ५९ जना शिक्षकलाई दरबन्दीमा रुपान्तरण गर्ने तयारी थालिएको हो ।

विद्यार्थीको अभावमा सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्ने तयारी गरेको हो ।

शिक्षकलाई दरबन्दीमा रूपान्तरण गर्दा राज्यलाई वार्षिक थप १ अर्ब ५० करोड व्ययभार पर्नेछ । मुलुकभर सञ्चालित २७ हजार ८ सय ८३ सामुदायिक विद्यालयमा १ लाख ९ हजार शिक्षक दरबन्दी स्वीकृत छ ।

सरकारी अनुदानबाट आधारभूत तहमा एक लाख २६ हजार तीन सय ७२ प्राप्त र निजी तथा स्थानीय स्रोतबाट ६६ हजार नौ सय ९२ जना शिक्षक कार्यरत छन् । माध्यमिक तहका शिक्षक भने मुलुकभर १९ हजार ५ सय १७ छन् ।

सरकारले २०६० देखि राहत कोटामा शिक्षक नियुुक्त गर्ने कार्यक्रम ल्याएको थियो। दरबन्दीमा रुपान्तरण गर्न लागिएको कक्षा ११ र १२ पढाउने शिक्षकलाई पनि राज्यले उपप्राध्यापकसरह रकम दिँदै आएको छ।

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने माग गर्दै उनीहरु आन्दोलित बनेका छन् । माग पूरा गराउन दबाब दिने उद्देश्यले उनीहरूले पटक–पटक आन्दोलन पनि गरिसकेका छन् । यतिबेला अस्थायी, राहत, बालविकास शिक्षकहरुको आफ्नो स्थायीत्वको माग गर्दै आन्दालनमा छन् ।

४६ हजार शिक्षक दरबन्दी थप्ने सरकारको तयारी