तीन कोइराला – को कति पानीमा

दिवस गुरागाईं । काठमाडौं, १७ साउन ।

नेतृत्व सुस्त भयो ।”
नेपाली कांग्रेसका तीन कोइराला नेताहरू शशांक, शेखर र सुजाताले दुई साताअघि एकै स्वरमा भनेको गहन हरफ हो यो । झट्ट सुन्दा सामान्य लागे पनि यो बोली वर्तमान कांग्रेस संस्थापनमाथिको प्रत्यक्ष धावा हो । यससँगै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्व नस्विकारेर आपूmहरूमध्येकै एकजना अघि बढ्ने संकेत पनि हो तीन कोइरालाको संयुक्त स्वर ।

गुटबन्दीले पार्टी कमजोर भयो ।”
यसअघि कहिल्यै सँगै नउभिएका यी तीन नेताहरूले गुटबन्दीका विरुद्धमा आवाज उठाएर संस्थापन र पौडेल पक्ष भन्ने गुटगत बुझिने शब्दमा प्रहार गरे । यी तीन एक भएर तराईमा हुने स्थानीय निर्वाचनमा उत्रिने कार्ययोजना सार्वजनिक गर्नुको मतलब पनि परम्परागत गुट नमान्ने संदेश छर्नु नै हो । सँगसँगै अब कोइरालाहरूको नयाँ क्याम्प बनाउने उद्घोष पनि मान्नुपर्छ यसलाई, किनभने यी तीनको यो जम्काभेट नभएर प्रायोजित भेटघाट नै हो ।

पार्टी संस्थापनलाई च्यालेञ्ज गर्ने यी तीन कोइराला नेताहरू एक भए भने नेपाली कांग्रेसमा के हुन्छ ? यी नेताहरू पार्टी र जनमानसमा कति प्रिय छन् ? के यी आशाका केन्द्र हुन् नेपाली राजनीतिका ? सायद अहिलेका मुख्य प्रश्न यिनै हुन् ।

यी नेताको समान पक्ष के हो भने यी तीनै जना कोइराला हुन् । कोइरालामा पनि उनीहरू कृष्णप्रसाद कोइरालाका नाति–नातिनी हुन् । शशांक विपी पुत्र । शेखर विपीका भाइ–बुहारी केशव र नोना पुत्र । त्यसैगरी विपीका कान्छा भाइ गिरिजाप्रसादकी एकमात्र छोरी हुन् सुजाता । यी तीनैजना उमेरले ६० कटिसकेका छन् । जागिरमा हुन्थे भने उनीहरू “रिटायर्ड” भइसकेका हुन्थे । तर, उनीहरू सुरु हुनुअघिको “वार्म–अप” मा भएझैं गरिरहेका छन् ।

शशांक र शेखर निर्वाचित सांसद हुन् । पार्टीको महाधिवेशनमा भने तीनैजना निर्वाचित भएका हुन् । शशांक त भारी मतले विजयी भएका हुन् भने शेखरले पनि लोकप्रिय मत ल्याएका थिए ।

यी तीन नेताका बारेमा नेपाली कांग्रेसमा विश्लेषण गर्न जान्नेहरूचाहिँ धेरै कमजोरी रहेको उल्लेख गर्छन् । कार्यकर्ताको पहुँचमा नआउनु उनीहरू तीनैजनाको नकारात्मक पक्ष हो । स्पष्ट भिजनको अभावका कारण उनीहरू आम नेताभन्दा फरक लाग्दैनन् । तर यिनको एकता कायम रहे कांग्रेसभित्रको आगामी शक्ति संतुलनमा भने परिवर्तन ल्याउने निश्चितप्रायः छ ।

को कस्ता ?

शशांक
नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि शशांकको सम्भावना नियाल्न थालिएको हो । समकालीन नेताहरूमा धेरै सम्भावना भएको अर्को नेता नदेखिएकाले सबैका आँखा उनैमा पर्न थालेको छ ।

विपी पुत्र हुनु उनको प्लस प्वाइन्ट हो । निर्वाचित महामन्त्री भएपछि कार्यकर्तामाझ उनी प्रिय छन् भनेर बुझ्न गार्हो छैन । शालीन र भद्रता उनको सबल पक्ष हो ।

तर, शशांक कमजोर संगठक हुन् । उनको अल्छीपनको चर्चा नेपाली कांग्रेसभित्र अक्सर भइरहन्छ । उनका अन्यखाले कमजोरी पनि छन् । बेलाबेला उनले व्यक्त गरेका विचार सुनेर भन्ने हो भने उनी राजनीतिक दृष्टिकोण नभएका नेता जस्ता लाग्छन् । खासगरी अदालत र हिन्दु धर्मका सम्बन्धमा उनले राखेका विचार विवादित भएका छन् । उनी विचार गरेर बोल्दैनन् भन्ने आरोपलाई व्यवहारले खण्डन गर्न सकेका छैन ।

शेखर
नेपाली राजनीतिको नाडी राम्रोसँग छामेर बस्ने नेतामा शेखरको नाम अग्रपंक्तिमा आउँछ । उनको यस्तो खुबीको जस पूर्व सभापति गिरिजाप्रसाद कोइरालाई दिने गरिन्छ । किनभने शेखरले लामो समय गिरिजाप्रसादको संगत गरेका हुन् ।

उनी कोइराला हुनुलाई पनि कांग्रेसभित्र प्लस प्वाइन्ट मानिन्छ । उनले कोइराला खानदानको विरासत थाम्ने हैसियत राख्छन् । उनी विपीका भाइ केशवका छोरा हुन् । लामो समय नेपाली कांग्रेस नेतृत्वको शक्तिशाली किचन–क्याबिनेट चलाउने मध्येकी नोना–पुत्र हुन् उनी ।

शेखरको भारतीय पक्षसँग सुमधुर सम्बन्ध रहेको कुरा पार्टीभित्र पनि उठिरहन्छ । कतिपयले यसलाई सकारात्मक पक्ष भन्छन् । त्योभन्दा पनि उनी राजनीतिक विश्लेषणमा माहिर मानिन्छन् । उनलाई नजिकबाट जान्नेहरू भन्छन् “शेखर दूरदर्शी नेता हुन् ।” तर टर्राे स्वभाव र कार्यकर्तालाई नजिक राख्न नसक्ने भनेर पनि उनको कुरा काट्ने गरिन्छ ।

सुजाता
गिरिजा–पुत्री भएका कारण नै सुजाताले राजनीतिक उचाइ लिन सफल भएको आम विश्लेषण छ । आजसम्मका उनका राजनीतिक “मुभ” ले पनि यही भन्छ । अर्को कुरा उनी महिला हुन् । नेपाली कांग्रेसमा उनको जत्तिको उचाइ भएका महिला नेतृ नहुनु पनि सुजाताको प्लस प्वाइन्ट हो ।

खर्च गर्न र बोल्न नडराउने सुजातालाई उपप्रधान तथा परराष्ट्र मन्न्त्रालय सम्हालेको अनुभव छ । कार्यकर्ताको मन जित्न उनी सफल हुँदै आएको पनि पार्टीभित्र चर्चा हुने गर्छ । उनको धेरै जिल्लाका कार्यकर्तामा पकड रहेको विश्लेषण गर्नेहरू पनि छन् ।

जिल्ला सदरमुकामका चुल्ठे–मुन्द्रेहरूलाई संरक्षण गरेको आरोप छ, उनीमाथि । तर निर्वाचनमा पराजय भोगेको तीतो अनुभव पनि छ उनीसँग ।

 

 

ताजा समाचार

तीन कोइराला – को कति पानीमा