झाँक्री, माता र बोक्सीको विश्वास कहिलेसम्म ?
  • रामजी बलामी-

भद्रकाली मन्दिरमा हालै एक जना ‘माता’ ले देखाएको हर्कत अहिले सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ । उनले एक किशोरीमाथि गरेको कुटपिट र दुर्व्यबहारको यतिबेला चर्काे विरोध भईरहेको छ । यो उनीहरुको नाटक हो वा वास्तविकता ।  जे भए पनि सार्वजनिकस्थलमा देखिएको यो हर्कत कुनै हालतमा सही हुन् सक्दैन।  त्यसो त आज (शुक्रबार) उनी बालाजुबाट पक्राउ परेकी छिन्।

भद्रकालीमा माताको हर्कत  

 

बि.स. २०७४ फागुन २४ गते कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरीमाथि भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीलेले बर्बर यातना दिए । रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले कारागारमा सजाँय भोगिरहेका छन्।

राधा चौधरीमाथि बर्बर यातना दिइएको भिडियो 

बि.सं. २०६८ फागुन ५ गते चितवनस्थित बघौडाकी ४० बर्षिय ढेगनीदेवी महतोको शव जिउँदै जलाइएको अवस्थामा फेला पर्याे । अनुसन्धानका क्रममा जिल्ला अदालत, पुनरावेदन अदालत हुँदै सर्वाेच्च अदालतले समेत स्थानीय झाँक्रीले बोक्सी आरोप लगाएको भन्दै स्थानीय लक्ष्मी महतोका परिवार मिलेर ढेगनीदेवीको हत्या गरेको ठहर गर्याे । सर्वाेच्चका तत्कालिन न्यायाधीशहरु केदारप्रसाद चालिसे र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बोक्सी प्रथालाई निकृष्ट तहको फौजदारी अपराध भन्दै धामी झाँक्री प्रथालाई बोक्सीप्रथाको कारकको रुपमा व्याख्या गरेको थियो ।

यी त प्रतिनिधि घटना मात्रै हुन् । धामी झाँक्रीले बोक्सी आरोप लगाएकै भरमा महिलाको इज्जत लुट्ने, मलमुत्र खुवाउने, कालोमोसो दल्ने, गाउँ निकाला गर्नेदेखि हत्या गर्नेसम्मका अपराधहरु अझै पनि यत्रतत्र सर्वत्र छन् । कहिँकतै बोक्साको नाममा पुरुषहरुमाथि पनि यी र यस्तै प्रकृतिका अपराधिक घटनाहरु हुने गरेका छन् । गाउँको कुना कन्दारामा हुने यस्ता घटनाहरु कमै मात्र प्रशासन र सञ्चारमाध्यमसम्म आईपुग्छन् । यद्यपि सहरी क्षेत्रमा भएका घटनाहरु पनि छिटपुट मात्रामा सार्वजनिक हुने गरेका छन् ।

उपचारको कुनै विकल्प नभएको प्राचिन समयमा तान्त्रिक धामी र झाँक्रीबाट उपचार गर्ने प्रचलन थियो । सर्वाेच्च अदालतले भने झै उनीहरुले नै बोक्सी जन्माएका थिए अर्थात कारक उनीहरु नै थिए ।

किनकी कसैको उपचार गर्न उनीहरु कोही कोहीलाई बोक्सी, डाकिनी, शाकिनी आरोप लगाईदिन्थे । उनीहरुले आरोप लगाउने महिलाहरुमा धेरैजसो आफ्नो मन नपरेको, आफूले भनेको नमान्ने र आफ्नो विरोधीहरु पर्दथे । त्यसबेला धामी झाँक्री गाउँका ठूला राजासरह हुन्थे । उनीहरुले जे भन्यो त्यँही हुनुपर्थ्यो । भलै त्यो जस्तोसुकै होस् । उनीहरुको प्रतिवाद गर्ने कुरा कसैले सोच्नसम्म पनि सक्दै थिए ।

तर, अहिलेको युग एकजना मान्छेको शरिरको टुक्रा काटेर अर्काे मान्छेको शरिरमा जोड्ने युग हो । जमाना त फेरियो, पात्र फेरियो तर प्रवृति अझै फेरिन सकेको छैन । ठूल्ठूला पुस्तकका ठेली घोकेकाहरुले समेत आफ्नो सोचको दायरा फराकिलो बनाउन सकेका छैनन् ।

धामी, झाँक्री र माता भनिएकाहरु उपचार गर्न ठूल्ठूला हस्पिटल चहारिरहेका हुन्छन् । यदि तिनले अरुको रोग निको पार्न सक्थ्यो भने किन आफ्नो रोग निको पार्न हस्पिटल चाहार्थे ? अरुको बच्चा जन्माउन झारफुक गर्ने धामी झाँक्रीहरु आफू चाँही किन निःसन्तान हुन्थे ? अरुलाई छोरा जन्माउन भन्दै झारफुक गर्ने धामी झाँक्रीको चाँही किन दर्जनौ छोरी मात्रै जन्मिन्छन् ? गर्भ खेर गयो भनेर महिलाको यौनांगमा अरुको बच्चाको बली चढाउने कुरा कुन चाँही धामी झाँक्रीको कुन शास्त्रको कुन अध्यायमा लेखिएको छ ? तर, विडम्वना त तब लाग्छ जव यिनै कुरा आँखै अगाडि देखेर पनि मान्छेहरु अन्धभक्तहरु आँखा चिम्लेर उनकै कुरा पत्याईरहन्छन् ।

एकपटक गाउँको एकजना भाईलाई ग्याँष्ट्राइटिक्सले नराम्ररी सतायो । ऊ काठमाडौमा औषधि खाँदै थिए, उता गाउँमा चामल हेराउने काम भएछ । झाँक्रीले ठूलै बिगार लागेको र जतिसक्दो बिगार ननिकाले जे पनि हुन सक्ने बताएछ । तर उसले औषधि खाएर नै ग्याँष्ट्राइटिक्स निको पारे । झण्डै १० बर्ष हुन लाग्यो तर झाँक्रीले तत्कालै निकाल्नुपर्छ भनेको त्यो बिगारले उसलाई अझै बिगारेको छैन ।

अचेल गाउँको टोलदेखि शहरको बस्ती बस्तीसम्म ‘माता’ हरु भेटिन्छन् । अचेल मन्त्रीको घरमा कार्यकर्ता झुमेजस्तै माताहरुको घरमा सर्वसाधारणको भिड लाग्छ । थरिथरिका माता छन् तर उनीहरुको उपचार पद्धती भने करिव उस्तै उस्तै हुन्छन् । कसैको परिवारमा झगडा पर्यो, कुनै सामान हरायो, बिरामी परियो अथवा निरन्तर असफलता हात लाग्यो भने अचेल ‘माता’कोमा देखाउन जाने चलन छ ।

कोही विरामी भएर देखाउन गयो भने ‘तिम्रो घरमा सधै ओहोरदोहोर गर्ने नजिकको मान्छेले बिगारेको’ भनिदिन्छन् । सामान हराएर देखाउन गयो भने सहकर्मीहरुलाई दोष देखाईदिन्छन् । यसले गर्दा कयौ घरपरिवार भाँडिएका छन् भने कतिपय कानुनी झमेलामा फसेका छन् । बिना कुनै आधार र प्रमाण कोही कसैलाई अपराधी ठहर गर्ने ‘माता’हरु न्यायाधीश भन्दा उच्च ओहोदाका हुन् ?

समाजशास्त्रीहरुको भनाईलाई आधार मान्ने हो भने समाजमा पुर्नार्स्थापना हुन, स्थापित हुन र व्यवसायिक दृष्टिकोणले ‘माता’ को भेषधारण गर्ने धेरै छन् । व्यवहारिकरुपमा हेर्ने हो भने पनि माता भनिएकाहरुको विगत नियाल्दा समाजशास्त्रीहरुको भनाईसँग केही हदसम्म मेल खान्छ ।

ठेट शब्दमा भन्नुपर्दा सामान्य मानसिक रोगको लक्षण निको पार्ने सामान्य चिकित्सक हुन् धामी झाँक्री । जुन काम अलि टाठोबाठो मान्छे सबैले गर्न सक्छन् ।

जुन गलत पनि होईन तर यहाँ उपचारको नाममा आफ्नो दुुनो सोझ्याउने दुहुनो गाई बनेको छ धामी, झाँक्री, माता पेशा । अस्वभाविक लक्षण देखाएर आफुले आफैलाई झाँक्री र माता घोषणा गरे पुग्ने । कति सजिलै नियुक्ती पाइने अजिवको पेशा । न सर्टिफिकेट चाहिने न कुनै अनुभव चाहिने । न कुनै परीक्षा पास गर्नुपर्ने न कुनै चुनौती मोल्नुपर्ने ।

लाखौँ खर्चेर कपाल फुल्ने गरी पढेका डाक्टरले सानो गल्ती गरे जन्मकैद हुन्छ तर तन्त्रमन्त्र गर्दागर्दै विरामीको ज्यान गईहाल्यो भने पनि धामी झाँक्रीहरुलाई केही हुँदैन ।

कुन पुस्तक कति पढेर कुन लेवलको ज्ञान हासिल गरेपछि कुन खालको धामी, झाक्री, माता बन्न पाउँछ ? कोही कसैलाई केही थाहा छैन तर पनि सर्वसाधारण उनीहरुकै पछि लागिरहेका हुन्छन् । हामी प्राय सुन्छौ, बोक्सी मन्त्र टाउकोमा फुकेको भरमा सिकिन्छ, झाँक्रीको पुस्तक अरुलाई देखाउनै हुँदैन । ॐ बिरबिर नरसिंह नौ ज्ञानी चौसट्ठी जोगिनी चौरासी सिद्द भक्त ज्ञानी सर्बजात हिमाल कास्य हिमल देबि सोमल देबि मालिका देबि तीन भुवन तिनै लोक सुधारी पाताल झारु सौर्य मुख पारु गुरु मुख पारु बाचा बाधु फट ‘ यो वाक्यमा  के छ र त्यस्तो जुन अरुले पढ्नै नहुने।  यस्तो वाक्य बक्दैमा विरामी निको हुन्छ भनेर बिश्वास गर्ने आधार के ?

पर्दा लगाउनुपर्ने कामलाई सही मान्न सकिदैन भने अरुलाई देखाउँनै नहुने पुस्तकमा लेखिएको कुरालाई कसरी सही मान्ने  ? अनि त्यस्तो पुस्तक पढेकाहरुले समाजमा राम्रो काम गर्लान् र ? त्यो पुस्तक सार्वजनिक गर्ने कोही धामी झाँक्रीको हिम्मत छ ? कतिपय त पढ्दै नपढी यी पेशाहरुमा तल्लिन छन् ।

संसारमा एउटै मात्र काम होला धामी, झाँक्री, माता पेशा जसका लागि पढ्नै पर्दैन । पढ्नै नपर्ने पेशालाई विश्वास गर्ने आधार के त ? हामी भ्रम नै भ्रममा छैनौ त ?

उनीहरुको शंकास्पद गतिविधिले एकातिर निर्मम अपराधहरु बढ्दो छ भने अर्काेतिर टोल टोलमा उनीहरुको तानाशाही शासन हावी छ । रोग निर्काे पार्ने बहानामा तातो रडले डाम्ने र झारफूक गर्न आएका चेलीबेटीमाथि यौनहिंसा गर्ने त चलन नै बसिसकेको छ । बच्चा नभएको पीडाले झारफुक गर्न गएकी एउटी महिलामाथि बलात्कार हुन्छ । के झाँक्री विद्यामा यस्तै लेखिएको हुन्छ ? कि झाँक्रीहरुको उपचार पद्धती नै यस्तै हुन्छ ?

बलात्कार गरेर निसन्तानको उपचार गर्ने पद्धतीलाई हामीले कतिञ्जेल स्विकार्ने ? जवानी नदिए बोक्सीको आक्षेप लगाउने, जानाजान अर्काको जग्गा जमिन हडप्ने आदि इत्यादि पनि झाँक्री विद्याको सिद्धान्त हो र ?

मागेजति जग्गा जमिन, जवानी र पैसा नदिए वाण हानेर मारिदिन्छु भनि धम्काउने धामी झाँक्रीहरु र खुँखार डनमा के फरक रह्यो र ?

उनीहरुकै अत्याचार सहन नसकेर यहाँ धर्म परिर्वतन गर्नेहरु समेत छन् । अझ आम मानिस बोक्सीप्रथाप्रति कति छिट्टै विश्वास गर्छन् । एकल महिला हुँदैमा, दाँत बांगिदैमा, मुख बिग्रिँदैमा, कपाल बिग्रिदैमा कोही मान्छे बोक्सी कसरी हुन्छ ? आफ्नो स्वार्थ पूरा नगरेको रिस फेर्नका लागि झाँक्रीले आक्षेप लगाएकै भरमा कोही मान्छे बोक्सा बोक्सी भईदैन ।

समाजमा विषालु बोक्सीहरु त ति हुन् जो अरुको भलो चिताउँदैनन्, स्वार्थी सोच राख्छन्, आफूले  भने जस्तो नहुँदा अरुको चरित्रमाथि प्रहार गर्छन्, अरुको खुट्टा तान्छन् आदि इत्यादि ।

अचम्म त त्यतिबेला लाग्छ जतिबेला देशमा यो भएन र त्यो भएन भनेर खोक्ने पढेलेखेका पछिल्लो पुस्ताहरु समेत यावत अन्धविश्वाससामु घुँडा टेकेर लम्पसार पर्छन् । उनीहरु समेत यस्ता गलत प्रवृतिको खुलेर विरोध गर्न सक्दैनन् । यही मौकाको दुरुपयोग गर्दै झाँक्री र माता भेषधारीहरु झन झन मौलाईरहेका छन् , सल्बलाईरहेका छन् ।

अर्काे यथार्थ के हो भने उनीहरुप्रति आम सर्वसाधारणले मनमनै घृणा गर्छन्, सराप्छन् तर मुख खोल्न सक्दैनन् । सर्वसाधारणले मुख खोल्न नसक्दा उनीहरुमा घमण्ड हावी हुन्छ । गाउँलेहरुको मनबाट ‘एक्लो’ बनिसक्दा पनि उनीहरु आफू ठूलो मान्छे भएको भ्रममा हुन्छन् ।

मान्छेको अंग काटेर जोड्ने युगमा आईसक्दा पनि ढुंगाले आगो बाल्ने युगको उपचार पद्धतीमा अल्झिरहेका छन् कतिपय ।

अन्त्यमा, कसैको भावना र आस्थामा चोट पुर्याउने यो लेखको आशय होईन । तर तन्त्रमन्त्रको त्रास फैलाएर समाजमा अपराधिक ढंगले रजाँई गर्ने छुट कसैलाई छैन । बरु धामी झाँक्री र माताहरुले साँच्चै ज्ञान सिकेकै हुन् भने आफूले सिकेका ज्ञानगुणका कुराहरुलाई समाजिक रुपान्तरण र समृद्ध समाज निर्माणमा लगाउन सके उत्तम हुन्छ । ति तन्त्रमन्त्रहरुलाई समाजमा तानाशाही प्रवृतिको शासन गर्ने होईन मान्छेमा भएको लोभ, अंहकार, स्वार्थ, नकारात्मक सोच र अपराधिक मनोवृतिलाई नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ ।

गाउँगाउँमा डोजर, तार, पाइप, प्रविधि पुग्दैमा विकासले पूर्णता पाउँदैन । विकासले पूर्णता पाउनका लागि त भौतिक विकास सँगसँगै सामाजिक विकासले पनि निरन्तरता पाउनुपर्छ । सामाजिक विकासबिनाको भौतिक विकासलाई विकास मान्न सकिँदैन । सामाजिक विकासका लागि पहिलो कुरा मान्छेमा चेतनाको विकास हुनुपर्छ । अनि त्यो चेतनालाई व्यवहारमा पालना गरिनुपर्छ ।

जवसम्म मान्छेमा सकारात्मक चेतना जाग्दैन, त्यो चेतनालाई व्यवहारमा लागु गरिँदैन तवसम्म दिगो विकास सम्भव हुँदैन । टोल, समाज र गाउँगाउँमा भएका यस्ता चरम अन्धविश्वास र संकुचित सोच रहेसम्म विकास सम्भव छैन । आधुनिक शिक्षा घोकेका, विज्ञान प्रविधिमा रमाएका पुस्ताहरु समेत यस्तो अन्धविश्वास र संकुचित सोचविरुद्ध बोल्न हिच्किचाउने हो भने त्यो टोल, गाउँ र समाजको विकास कसरी सम्भव होला ?