इटहरीका मेयरलाई कारवाही गर्न सांसदहरुको माग

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गर्न सांसदहरूले माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले महिलामाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका हुन ।

कांग्रेस कोषाध्यक्ष समेत रहेकी सांसद सीतादेवी यादवले सम्पूर्ण महिलामाथि अपमानजनक शब्द प्रयोग गर्दा पनि मेयरलाई अहिलेसम्म कारवाही किन नगरेको भन्दै प्रश्न गरिन् । उनले बैठकमा भनिन्, ‘यस्तो घृणित काम गर्ने मेयरलाई तुरुन्त कारवाही गर्न जोडदार माग गर्दछु ।

नेकपा नेतृ तथा सांसद विन्दा पाण्डेले स्थानीय तहदेखि संघीय तहसम्मका कतिपय जनप्रतिनिधिका अभिव्यक्तिले मतदाताको समेत शीर निहुर्‍याउनु पर्ने अवस्था देखिएको बताईन् ।
जनप्रतिनिधिको बोली अशिष्ट मात्रै होइन आपराधिक समेत भएको सांसद पाण्डेको भनाई छ । त्यस्तै सांसद लक्ष्मी परियारले इटहरी नगरपालिकाका मेयरले अपमानजनक शब्द प्रयोग गरेर महिलाको इज्जतमाथि खेलवाड गरेको बताइन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले इटहरीका मेयर चौधरीले नारीको अपमान गरेको भन्दै यो घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

इटहरीका मेयरलाई कारवाही गर्न सांसदहरुको माग