विप्लव र बिनिताको दमदार गजल वाचन

कविता कोरियोग्राफीमा पीएचडी गरेका डा. विप्लव ढकाल र अर्का साहित्यकार बिनिता कार्कीले दमदार गजल तथा कविता प्रस्तुत गरेका छन् । काव्य मुशायरा परिवारले काठमाडौको थापागाउँस्थित कुञ्ज थिएटरमा आयोजना गरेको गजल र कविता वाचनको सत्रौं श्रृंखलामा उनीहरु गुञ्जिएका हुन् ।

नयाँ पुस्ताका गजलकार बिनिता कार्की र करिव चार दशकदेखि लेखन यात्रामा लागेका पुराना पुस्ताका स्रष्टा डा. विप्लव ढकालले उपस्थित सबैको वाहवाही पाए । बिनिता कार्कीका दमदार गजल र विप्लव ढकालको वजनदार शव्दले भरिएका कविता हलमा गुञ्जायमान हुदा तालिको गड्गडाहट नै चलेको थियो ।

लामो समय नेपाली साहित्यमा लागेर गजल कविता एवम अन्य विधामा कलम चलाउदै आएका विप्लव ढकालले नया पुस्तालाई पुराना पुस्ताले प्रोत्साहन गर्नुपर्ने बताउदै बिनिताको गजल वाचनको प्रशंसा गरे ।

करिव एक दशकदेखि गजल लेखनमा लागेकी बिनिता कार्कीकोे २०६८ मा आगमन गजल संग्रह प्रकाशित भएको थियो । त्यस्तै २०७० मा प्रकाशित भएको २० गजलकारको २०/२० गजल समेटिएको गजल संग्रह ‘कैफियत’मा पनि उनका गजल समावेश छन् । बिनिताले विशेष गरि युवाहरुलाई तताउने खालको गजल वाचन गरेकी थिइन् ।