ईपीएसमा १२ हजार पास, ६ हजार ७ सय मात्र कोरिया जान पाउने

काठमाडौं । कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास भए पनि त्यसको आधा मात्र कोरिया जान पाउने भएका छन् । सन् २०२० मा दक्षिण कोरियाले ६ हजार ७ जना नेपालीलाई मात्र वैदेशिक रोजगारीका लागि लैजाने भएको हो ।

यो वर्षका रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । जसमध्ये कोरियाको मानव संशाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र रोष्टर (दर्ता) गर्ने जानकारी गराएको वैदेशिक रोजगार र्इपीएस शाखाले जनाएको छ ।

ईपीएसको लिखित परीक्षामा पास भएकाहरुको सीप परीक्षा भदौ ४ देखि १८ गतेसम्म हुँदैछ । कोरियन भाषा उत्तीर्ण गरेका परीक्षार्थीले सीप परीक्षणमा सहभागी हुन असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फाराम भरिसक्नुपर्ने शाखाले सूचना प्रकाशन गरेको छ ।

उक्त सीप परीक्षाका लागि कोरियाको एचआरडीले ६ हजार ७ सयको मात्र नाम रोष्टरमा चढाउन शाखालाई निर्देशन दिएको शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले जानकारी दिए ।

सन् २०२० का लागि सञ्चालित ईपीएस परीक्षामा औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । एचआरडीले औद्योगिक क्षेत्रका लागि ४ हजार ७ सय र कृषिमा २ हजार जनालाई सीप परीक्षण सहभागि गराउन शाखालाई जानकारी गराएको हो । शाखाले सोही अनुसार सूचना प्रकाशित गरेको छ ।