लुम्बिनी विकास बैंक र खल्तीबीच सम्झौता

काठमाडौँ,

‘लुम्बिनी विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सेवाप्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका तर्फबाट निर्देशक ध्रुव अधिकारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब लुम्बिनी विकास बैंकका ग्राहकहरूले उक्त बैंकको मोबाइल बैंकिङ सेवाप्रयोग गरी तथा बैंकका ६५ वटै शाखाहरूमा उपलब्ध डिपोजिट भौचर मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरूको भुक्तानी गर्न सक्नेछन् । सम्झौताको बारेमा बोल्दै लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले प्रविधिको प्रयोग गरेर मानिसहरूका विभिन्न बैंकिङ तथा वित्तीय समस्याहरू समाधान गर्न खोजिरहेको बताए ।

यस्तै, खल्तीका निर्देशक ध्रुव अधिकारीले लुम्बिनी विकास बैंकका ग्राहकहरूले बैंकबाट नगद झिक्ने तथा राख्ने झन्झट गर्नु नपर्ने भन्दै बैंकबाट सिधै ‘खल्ती’मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने बताए ।