चितवनमा एकै दिन १०२ जनामा कोरोना सङ्क्रमण, दुई जनाको मृत्यु

चितवनमा एकै दिन १०२ जनामा कोरोना सङ्क्रमण, दुई जनाको मृत्यु


चितवन ।

एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् ।

धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएका छन् । त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उनले जानकारी दिए।

जिल्लाबाट नमूना सङ्कलन गरिएका १२० जनामा सङ्क्रमण देखिएको छ । अठार जना भने जिल्ला बाहिरका रहेको उनले बताए। जिल्लामा सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन् ।

शनिबारै यहाँको चितवन मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लामा ११ जनाको मृत्यु भएको छ । तीमध्ये चार चितवनका हुन् भने अन्य उपचारका लागि यहाँ आएका हुन् । जिल्लाको सरकारी अस्पताल भरतपुर, दुई मेडिकल कलेज, निजी अस्पताल, संस्थागत आइसोलेसन र घरमा सङ्क्रमित रहेका छन् । एकै दिन यतिधेरै सङ्क्रमण देखिएको यो पहिलो हो । दैनिक सङ्क्रमण बढ्दै गएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

चित्तलको मासुसहित पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले शनिबार चित्तलको मासुसहित चार जनालाई पक्राउ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको वटुकदल गण प्यारिधाप गुल्म र निकुञ्जको गस्ती टोलीले उनीहरुलाई राप्ती नगरपालिका–६ बाट पक्राउ गरेको हो ।

निकुञ्जका अनुसार पक्राउ पर्नेमा राप्ती–६ का ३५ वर्षीया पैगी चौधरी, १९ वर्षीय साजन चौधरी, ३० वर्षीया सुमित्रा चौधरी र एक जना नाबालिग रहेका छन् । उनीहरुलाई एकता सामुदायिक वनमा पासो थापी चित्तल मारेको आरोपमा पक्राउ गरिएको हो । घटनास्थलमा गएको प्रहरीसहितको टोलीले चित्तलको मासु र चित्तल थाप्न प्रयोग भएको पासो बरामद गरेको छ ।

घटनास्थलबाट १२ किलो, पैगी चौधरीको धान खेतबाट पाँच किलो र सुमित्रा चौधरीको खेतबाट एक किलो मासु बरामद भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको उनको भनाइ छ । अपराध प्रमाणित भएमा रु २० हजारदेखि ५० हजारसम्म जरिवाना र छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

Logo