स्प्राइटमा मदिरा हालेर १४ वर्षीया बालिकाको बलात्कार
File Photo

सप्तरी । स्प्राइटमा मदिरा हालेर एक १४ वर्षीया बालिकाको बलात्कार भएको छ । तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक विद्यालयमा एक बालिकामाथि बलात्कार भएको हो ।

झुक्याएर मदिरा खुवाई १४ वर्षीयामाथि बलात्कारमा सहयोग गरेको आरोपमा उनकै काकी पक्राउ परेकी छन् । सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाएर खुवाएपछि नशामा लठ्ठिएकी बालिकामाथि बलात्कार गरिएको पीडितको भनाई छ ।

यो घटनाको मुख्य योजनाकार ती बालिकाकी नाताभित्रकै ३५ वर्षीया काकी रहेको उजुरी परेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

लक्ष्मीबल्लभ नरसिंह माविको प्राङ्गणमा निर्माण भइरहेको नयाँ भवनमा मजदुरी गर्ने बालिकालाई पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म प्रतिक्षा गर्न लगाई खाना खान जबर्जस्ती गरी झुक्याएर नशालु पदार्थ सेवन गराइएको रिमालको भनाई छ ।

मजदुरीको काममा लगाइदिने काकीकै दबाबमा विद्यालयका कार्यालय सहायक शिवशङ्कर मण्डल र भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको मुन्सीले झुक्याएर नशालु पदार्थ सेवन गराई घटना गराएको पीडितले बताएकी छन् ।

झुक्याउँदै स्प्राइटमा वाइन मिसाएर नशामा लठ्याई बलात्कार गर्न लगाएको तथ्य बिहीबार छोरी होसमा आएपछि बताएको पीडितकी आमाले बताइन् । पीडितकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले उनकी काकीलाई पक्राउ गरेर जबर्जस्ती करणीअन्तर्गतको मुद्दा चलाईएको हो ।