जासुसी अभियोगमा ३० जनालाई मृत्युदण्डको फैसला

यमनमा साउदी अरब नेतृत्वको सैनिक गठबन्धनका लागि जासुसी गरेको अभियोगमा ३० जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

राजधानी सानाको एक अदालतले हुथी विद्रोहीविरुद्ध कारवाही गर्दै आएको साउदी नेतृत्वको गठबन्धनका लागि जासुसी गरेको अभियोगमा ३० जनालाई मृत्युदण्डको फैसला सुनाएको हो ।

मृत्युदण्ड पाउनेहरु इस्लाहा भनिने मुस्लिम ब्रदरहुड पार्टीको यमनी शाखाका सदस्यहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्युदण्ड पाउने अधिकांश प्राध्यापक, विद्वान् तथा विद्यार्थीहरु छन् ।

उनीहरुलाई सन् २०१६ मा हुथी विद्रोहीले गरेको कारबाहीका क्रममा पक्राउ गरिएको थियो । मृत्युदण्ड पाएकाहरुले अदालतको आदेशविरुद्ध पुनरावेदन दिनसक्ने प्रावधान रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले अदालतको आदेशलाई कानूनी राज्यको उपहास भएको जनाउँदै उनीहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।