झुट बोल्ने आमा म
"म नै सबैभन्दा धेरै झुट बोल्ने आमा हुँ जस्तो लाग्छ छोरी"

दिपिका भुसाल

छोरी, आज तिम्रो जिन्दगीको सबैभन्दा ठुलो उत्सवको दिन हो । तर म त्यो उत्सवमा प्रत्यक्ष सहभागी हुन पाइन किनकि तिम्रो र मेरो बिचमा केही थान बाध्यताका समुन्द्रहरू तेर्सिएका छन् लम्पसार परेर र केहिथान परिस्थितिका पहाडहरू ठडिएका छन् बाधक बनेर । त्यसैले छोरी तिम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिनमा पनि म तिमी सँगसँगै हुन पाइन मलाई माफ गर ।

समयले यसरी ठग्छ भन्ने मैले कल्पना नै गरिन । अव परिस्थितिहरू सुधारिँदै थिए । अव त समाजले आयस्ता हेरेर पनि हाम्रो अवस्था उकासिँदै गएको देखिरहेको थियो । जे होस दु:ख सुख हामी स्थापित हुँदै गएका थियौँ अनि समयले तिमीलाई हुर्काउँदै लगेको थियो र मेरो अनुहारमा केहिथान धर्साहरू थप्दै गरेको थियो ।

जीवनचक्रको यो सुन्दरता म शब्दमा बयान गर्न सक्दिन । ‘ऐनामा म आफैलाई म आफैले मेरै आमा जस्तै देख्न थाल्नु र मेरी छोरी तिमीलाई म जस्तै देख्न थाल्नु’ उमेरको यस्तो पडाव हो जहाँ आफ्नो अनुहारमा थपिँदै गएका रेखाहरूको पिरलो हुँदैन रहेछ । छोरीको अनुहारमा चढ्दै गरेको रङ्ग देखेपछी त्यही अनुहारमा आफ्नो खुसी भेटिँदो रहेछ । त्यसरी नै मेरी छोरी मेरो प्रतिबिम्ब हुन भनेरै खुशी भईदो रहेछ । हो, म त्यही छायामा रमाउन चाहने आमा हुँ ।

अहिले आफैलाई सम्झन्छु । आफ्नै परिस्थिति सम्झन्छु । म नै सबैभन्दा धेरै झुट बोल्ने आमा हुँ जस्तो लाग्छ छोरी । तिम्रो अगाडी झुटको खहरे जो बगाएकी छु मैले । तोते  बोलीमै तिमीले कहाँ जानेँ मम्मी ? भनेर सोध्दा नै पहिलो झुट बोलेर ‘बेलुकी नै फर्किन्छु’ भनेर मेरो झुटको सुरुवात भएको थियो ।

त्यसपछि तिम्रा प्रश्नहरू कहिले आउने? भएर बदलिए । मैले भोलि पर्सी, अर्को महिना वर्ष, भन्दै टार्दै गएँ म झुट माथि झुट बोल्दै गएँ र तिमीले पत्याउँदै गयौ । फर्कने बाचा पुरा गर्न म दुई तिन पटक तिमीलाई भेट्न आएकी थिएँ नि छोरी । तिमीलाई सम्झना होला । त्यो बेलामा पनि म झुट नै बोलेँ । ‘अव नजानुस् है मम्मी’ भनेर तिमीले मेरो धोतीको फेर समातेर अनुनय विनय गर्दा मैले अव त जाँदै जान्न भनेर ढाँटेँ । मम्मी फेरी फर्कन्छे भन्ने बुझेरै पनि तिमी ढुक्क भएझैँ गर्थेउ र मेरो काखमा निदाउँथ्यौ । हो त्यही तिमी निदाएको मौकामा म फेरी झिटी गुन्टा बोकेर जहाज चढ्दथेँ । हेर त म कति झुट बोलेँ ।

समय फेरियो तर तिम्रो कहिले आउने भन्ने प्रश्न फेरिएन । तिम्रो एसईई, तिम्रो एघार कक्षा, तिम्रो बाह्रको फाइनल हुँदै तिमी विदेश जाने तयारीको बेलामा भन्दै मेरा जबाफहरू मात्रै फेरीदैं गए । तर पनि तिम्रा जुन जुन महत्त्वपूर्ण समय थिए मैले टाढैबाट आशीर्वाद दिन बाहेक केही गर्न सकिन छोरी ।

‘तिम्रो बिहेमा त पक्का आउँछु’ यो प्रसङ्ग त उठेकै थिएन । तिमीले प्रश्न सोध्नु र मैले अर्को झुटो जवाफ दिनु अगाडी नै मैले म फर्कने निर्णय गरेकी थिएँ । मलाई थाह थियो यो बनावटी जवाफ दिने समय होइन । मेरी छोरीको जिन्दगीको सबैभन्दा ठुलो र महत्त्वपूर्ण दिन हो । मैले पनि म जीवितै हुनुको प्रमाण पेस गर्ने दिन हो । त्यसैले साँच्चै म फर्कने निर्णय गरेँ र टिकट समेत काटेँ ।

छोरी बेहुली बनेको हेर्ने रहर कसलाई हुँदैन र बाबा । छोरी अन्माउने बेलामा काखमा च्यापेर छाँद हालेर रुने मन कसको हुँदैन र बाबा । आफूले सिकेका दुख सुखका कुरा प्रत्यक्ष सिकाएर डोली चढाउने रहर कसलाई हुँदैन र बाबा । बाह्रवर्ष सम्म फुट्न नसकेको भक्कानो फोरेर पोलिरहेको छातीलाई अलिकति शीतल बनाउने आशा त मेरो पनि थियो बाबु तर परिस्थितिले त्यस्तो कहाँ हुन दियो र छोरी । म फेरी झुट बोलेँ तिमी सँग । म तिमी बेहुली बनेर अन्मिदा पनि तिमी संगै हुन पाइन, एक्लै कुनामा बसेर रुन्छु अनि सम्झन्छु म जति झुट बोल्ने आमा को होला यो संसारमा ।

हुन त यो उत्सवको समय हो । मेरो छोरी, यो तिम्रो बिहेको दिन हो ।  यहाँ मैले अरू प्रसङ्गका कुरा लेखेर म आउन नपाएको कारण प्रष्ट्याउँन हुन्छ कि हुँदैन मलाई थाहा छैन । तर पनि नलेखी नहुने कुरा छुट्यो भने ‘छोरीको बिहेमा पनि आउन नसक्ने आमा’ भनेर मलाई समाजले गाली गर्ला त्यसैले प्रसङ्ग बाहिरका केही कुरा लेख्छु त्यो पढेर तिमीले आमाको समस्या बुझ है ।

समयले यो पटक पनि धोका नै दियो छोरी । जसको सेवा गरे बापत हामीले पाउँदै आएको सहारामा हामीहरू यहाँ सम्म आइपुगेका थियौँ, तिनै हाम्री रोजगारदाता आमाले हामीलाई सदाको लागि छोडेर परलोक हुन पुगिन । एक हप्ता मात्र उनलाई केही नभइदिएको भए म आज तिम्रो शृंगार गरिरहेको हुने थिएँ होला । तिम्रो सारीको फुर्को मिलाई रहेकी हुने थिएँ होला । तिम्रो हातमा चुरा लगाई रहेकी हुने थिएँ होला । तिमी हाँस्दा म मुस्कुराइरहेकी रहेकी हुने थिएँ होला र तिमी पिल्पिलाउदा धत् लाटी भनेर हकारीरहेकी हुने थिएँ होला ।

तर फेरी ठग्यो हामीलाई यो परिस्थितिले छोरी । ती रोजगारदाता जसले मलाई यो देशमा बसेर तिमीहरूको लालन पालनको लागि सामल जुटाउने बाटो दिएकी थिइन ती आमा समान दाता जसले दिएको जागिर बाट हामी अहिलेको अवस्थामा छौं उनै मान्छे संसारबाट बिदा हुनु त्यो पनि यस्तो समयमा ।,

मेरो जागिर अक्करे भिरमा फलेको तरकारी जस्तो भयो छोरी । टिप्न पनि नसकिने छोड्दा के पकाउने भन्ने समस्या हुने । जागिर छोडेर फर्कौँ फेरी यो देशमा आउने बाटो बन्द हुन्छ, यता फर्कने बाटो बनाएर नेपाल आउँ त्यसको लागि लामो समय लाग्छ । अगाडिका पहाड हेर्छु, ती पहाड छिचोल्न त पर्छ नै, त्यसको लागि यहाँको जागिर नभई सम्भव छैन । आज सम्म जति सङ्घर्ष गरियो त्यो भन्दा बढी नै सङ्घर्ष गर्नै वाकी देखिन्छ ।

तिम्रो बिहे भन्दा मेरो जागिर महत्वपुर्ण कुनै हालतमा होइन छोरी तर केहि त्यस्ता आवस्यकताहरु पुरा हुन बाकीनै छन् जुन मैले अझै केहिबर्ष मेहनत नगरे अधुरै रहन्छन । तिमी ज्वाइँको हात समातेर मलाई भेट्नको लागि माइत आउने यौटा सानो संसार तयार गर्नु छ । बहिनी सानै छे, उसलाई पनि पढाउनु छ, बढाउनु छ र स्थापित गराउनु छ । तिमी त बरु कहाँ जाने मम्मी भनेर सोध्न सक्ने भएकी थियौ म हिँड्ने बेलामा । बैनी त निदाई रहेकी थिई । आज तिम्रो बिहे भयो, यही दिन यस्तै समय सानीको पनि आउँछ, ती सबै जिम्मेवारी हरूले मलाई जहाज चढ्नबाट रोके सानु मलाई आशा छ तिमीले बारम्बार झुट बोल्ने यो आमालाई फेरी एक पटक माफ गर्ने छौ ।

-उही तिम्री झुट बोल्ने आमा