के तपाईंलाई थाहा छ, महामृत्युञ्जय मन्त्रको रहस्य ?
" त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ।"

अहिले साउन महिना चलिरहेको छ । सनातन धर्मअनुसार यो महिनालाई भगवान् शिवको महिना मानिन्छ । त्यसैले सनातन धर्मावलम्बीहरू यो महिनामा शिवलाई प्रसन्न तुल्याउन तीर्थ, व्रत, जप, तप आदि अनेकौं कृत्य गर्छन् । ती कृत्यमध्ये महामृत्युञ्जय मन्त्रको जप गर्नु सबैभन्दा उत्तम उपाय भएको कुरा पुराणहरूले बताएका छन् ।

शिवपुराणसहित अन्य थुप्रै ग्रन्थमा महामृत्युञ्जय मन्त्रको विषयमा लेखिएको छ । भगवान् शिवलाई प्रसन्न पार्नका लागि यो मन्त्रको जप गर्नुजस्तो सहज र प्रभावकारी उपाय अर्को छैन । समस्त रोगव्याधी एवं हरेक किसिमका मानसिक एवं शारीरिक समस्याको निराकरणका लागि यो मन्त्रको जप सारै असरदार मानिन्छ । समस्त ग्रन्थहरूको भनाइलाई मान्ने हो भने यो मन्त्रको जपले अकाल मृत्युको योगलाई समेत टार्नसक्छ ।

स्वर विज्ञानको हिसाबले हेर्दा महामृत्युञ्जय मन्त्रका अक्षरहरूलाई विशेष स्वरका साथ उच्चारण गरिने हो भने त्यसबाट उत्पन्न हुने ध्वनीबाट शरीरमा एक विशेष कम्पन पैदा हुन्छ । उक्त कम्पनबाट उच्चस्तरीय विद्युत प्रवाह पैदा हुन्छ जसले मानव शरीरमा विद्यमान नाडीहरूलाई शुद्ध बनाउन मद्दत गर्दछ ।

पूर्ण महामृत्युञ्जय मन्त्र

ॐ हौं जूं सः ॐ भूर्भुवः स्वः ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॐ स्वः भुवः भूः ॐ सः जूं हौं ॐ

महामृत्युञ्जय मन्त्रको आध्यात्मिक महत्व

महामृत्युञ्जय मन्त्रका पछाडि केवल धर्म होइन, पूरा स्वर सिद्धान्त छ । यसलाई संगीतको विज्ञान पनि भनिन्छ । महामृत्युञ्जय मन्त्रको शुरुआत ॐ बाट हुन्छ । यसको जपका क्रममा लामो स्वर र गहिरो सासका साथ ॐ को उच्चारण गरिन्छ । यसबाट शरीरमा विद्यमान सूर्य र चन्द्र नाडीहरूमा कम्पन हुन्छ । शरीरका सातवटै चक्रमा ऊर्जाको सञ्चार हुन्छ । जसको असर मन्त्र पढ्ने व्यक्तिमा मात्र नभई मन्त्र सुन्ने व्यक्तिको शरीरमा समेत पर्छ । यी सात चक्रको कम्पन हुँदा शरीरमा शक्ति आउँछ र रोग प्रतिरोधक क्षमता वृद्धि हुन्छ । यसैगरी स्वर र सासको तालमेल मिलाएर जप गर्दा रोगव्याधीबाट छिटै छुटकारा पाउन सकिन्छ ।

वैज्ञानिक महत्व

महामृत्युञ्जय मन्त्रका हरेक अक्षरको विशेष महत्व र विशेष अर्थ छन् । प्रत्येक अक्षरका उच्चारणमा फरक–फरक प्रकारका ध्वनिहरू निस्कन्छन् तथा तिनले शरीरका विशेष अंग एवं नाडीहरूमा खास किसिमका कम्पन पैदा गर्छन् । यस्तो कम्पनका कारण शरीरबाट उच्चस्तरीय विद्युत प्रवाह पैदा हुन्छ । यो विद्युत प्रवाहबाट निस्कने तरंगहरू वातावरण एवं आकाशीय तरंगहरूसँग जोडिन्छन् जसबाट मानिसलाई मानसिक एवं शारीरिक ऊर्जा प्राप्त हुन्छ ।

धार्मिक महत्व

महामृत्युञ्जय मन्त्र ऋग्वेद र यजुर्वेदमा भगवान् शिवको स्तुति गर्नका लागि लेखिएका छन् । यी बाहेक पद्मपुराण र शिवपुराणमा पनि यो महामन्त्रको महत्व बताइएको छ ।

शिव पुराणका अनुसार यो मन्त्र जप गर्दा दीर्घायु, आरोग्य, सम्पत्ति, यश र सन्तानप्राप्ति हुन्छ । त्यस्तै यो मन्त्र जप गर्नाले ८ प्रकारका दोषहरूको नाश हुन्छ । यो महामन्त्रबाट कुण्डलीका मांगलिक दोष, नाडी दोष, कालसर्प दोष, भूत–प्रेत दोष, रोग, दुःस्वप्न, गर्भनाश, सन्तानबाधाजस्ता अनेक दोषहरूको नाश हुन्छ ।

पुराणका अनुसार समुद्र मन्थनको समयमा देवता र दैत्यहरूका बीच लडाईं हुँदा दैत्यगुरु शुक्राचार्यले आफ्नो यज्ञशालामा महामृत्युञ्जय मन्त्रको अनुष्ठान उपयोग गरेर देवताहरूद्वारा मारिएका दैत्यहरूलाई जीवित तुल्याएका थिए । यसकारण यो मन्त्रलाई मृत सञ्जीवनीको नामले समेत चिनिन्छ ।