प्रचण्डकाे जापान भ्रमण, उदेश्य के उपलब्धि कति ?

प्रचण्डकाे जापान भ्रमण, उदेश्य के उपलब्धि कति ?


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ५ दिने जापान भ्रमणका क्रममा शनिबार बिहान टोकियो पुगेका छन् ।

नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा दाहाललाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलगायतका दूतावासका अधिकारी पुगेका थिए । त्यस्तै जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपाली पनि उनको स्वागतमा पुगेका थिए । विमानस्थलका सञ्चारकर्मीसँगको कुराकानीमा दाहालले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धमा विशेष सहयोग पुग्ने बताए । उनले नेपाल र जापानको सम्बन्ध धेरै पुरानो भएको पनि बताए ।

त्यस्तै युद्धबाट तवाह भएको जापानबाट आफ्नै मेहनतले कसरी समृद्ध बन्न सकिन्छ भन्ने कुरा पनि सिक्न सकिने उनको भनाइ थियो । दाहाल शुक्रबार राति पाँचदिने भ्रमणका लागि जापान गएका हुन् । दाहाल नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । उनीसँगै स्वकीय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल, सूर्य किरण रहेका छन् ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण उनका लागि प्रत्युत्पादक भएको छ । जापानको नरिता विमानास्थलमा ओर्लेपछि नेपाली संचारमाध्यमहरुसँग बोल्ने क्रममा हालै हत्या गरिएका जापानी पूर्वप्रधानमन्त्री सिन्जो आवेका बारेमा हुँदै नभएको टिप्पणी गरी आफूलाई जापानी नेतासँगको सम्पर्क भएको नेपाली नेताका रुपमा चिनाउन खोजेपछि उनीमाथि जापानवासी नेपालीहरु खनिएका छन् ।

सामाजिक सञ्जालहरुमा उनको भ्रमणको औचित्यमाथि प्रश्न गर्नेहरुको बाढी नै आएको छ । गोली हत्या गरिएका जापानी नेता आवे जापानवासी नेपालीहरुमाझ निकै लोकप्रिय नाम हो। उनीप्रति सम्मान व्यक्त गर्ने लहर नै चलेको बेला ती नेपालीको भावना जित्न जापानवासी नेपालीहरुलाई गलत तथा भ्रामक कुरा गरेकाले प्रचण्डको भ्रमण उनका लागि प्रत्युत्पादक भएको हो।

नेपालमा चुनाबको मिति घोषणा भएसँगै माओवादी अध्यक्ष प्रचण्डको जापन दौडाहा सुरु गरेका थिए। प्रचण्ड जापानको नारिता बिमानस्थल ओर्लिएर कार्यकर्तासँग बहकिएर बोल्ने क्रममा उनले जापानी पूर्ब प्रधानमन्त्री सिन्जो आबेसँग नेपाल आएको बेला दुई तीनपटक कुरा भएको र आफ्नो सुमधुर सम्बन्ध रहेको बताउँदै जापान आउँदा आफूले उनलाई भेट्ने इच्छा राखेको तर जुन घटनाक्रमले सिन्जो आबेको हत्या भयो त्यो दुखद रहेको बताएका थिए।

उनले आवेको परिवारप्रति साहनुभूति समबेदना पनि प्रकट गरेका थिए । नेपाल भ्रमण गर्दै नगरेका पूर्ब जापानी प्रधानमन्त्री सिन्जो आबेलाई भ्रमणमा आउदा भेटवार्ता गरेको हुँदै नभएको कुरा गरेका थिए ।

जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्दै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताए त्यस्तै जापानले नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुर्‍याएको सहयोगप्रति पूर्वप्रधानमन्त्री दाहालले जापान सरकारलाई विशेष धन्यवाद समेत दिएका थिए।

नागरिकता ऐन संसदबाट पारित गरेर गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक अन्य अधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको जानकारी गराउँदै उनले विधेयकमा गैरआवासीय नेपालीको हितलाई बढी ध्यान दिइएको बताएर जापानवासी नेपालीको मन जित्ने कोसिस गरेका थिए।

जापानमा रहँदा अध्यक्ष दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । तर, जापानमा हत्यापछि अत्यन्त सम्मानित बनेका नेता आवेको बारेमा भ्रमपूर्ण कुरा गरेको कुरा जापानी भाषाहरुमा समेत प्रकाशित भई सामाजिक सञ्जालभरि फैलिएपछि जापानी नेताहरुसंग उनले कसरी प्रस्तुत हुने हुन् भन्ने जिज्ञासा पनि जापानवासी नेपालीहरुले राखेका छन् ।

दुई पटक जापानका प्रधानमन्त्री भएका आबे नेपाल भ्रमणमा भने आएका छैनन् । नेपालस्थित जापानी दूतावासका अनुसार अहिलेसम्म जापानबाट एक पटक बहालवाला प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छन् । सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरी नेपाल भ्रमणमा आएका थिए । आबे प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीका रुपमा नेपाल भ्रमणमा नआएको पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले पुष्टि गरे । जापानका लागि पूर्वराजदूतसमेत रहेका उनले सिन्जो आबेले नेपाल भ्रमण नगरेको तर उनका हजुरबुवा र भाइ भने नेपाल आएको बताए । आबे २६ सेप्टेम्बर २००६– २६ सेप्टेम्बर २००७ र २६ डिसेम्बर २०१२– १६ सेप्टेम्बर २०२० गरी दुई कार्यकाल प्रधानमन्त्री भएका थिए ।

पूर्वपरराष्ट्र सचिव भट्टराईका अनुसार आबेका मावली हजुरबुवा नोबुसुके किसी भने पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमणमा आएका थिए । उनी सन् १९५७ देखि १९६० सम्म जापानको प्रधानमन्त्री भएका थिए । सन् १९८७ मा उनको निधन भएको थियो । त्यस्तै किसीका भाइ एइसाको सातो पनि सन् १९६४ देखि १९७२ सम्म प्रधानमन्त्री भएका थिए । परमाणु निशस्त्रीकरणसम्बन्धी महत्त्वपूर्ण कदम चालेका कारण उनलाई सन् १९७४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । सातोकै कार्यकालमा जापानले परमाणु अप्रसार सन्धिमा हस्ताक्षर गरेको भट्टराई बताउँछन् ।

त्यस्तै आबेका बुवा सिनतारो आबे लामो समय जापानका विदेशमन्त्री भएका थिए । उनका भाइ पनि नोबुओ किसी अहिले जापानका रक्षामन्त्री रहेका छन् । सन् २०१६ मा विदेश तथा रक्षा राज्यमन्त्रीका रूपमा उनले नेपाल भ्रमण गरेको भट्टराईले बताए ।

नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुवै देशबाट उच्चस्तरीय भ्रमण हुने गरेका छन् । सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापान भ्रमण गरेका थिए । त्यतिबेला जापानमा केइजो ओबुची प्रधानमन्त्री थिए । त्यसको दुई वर्षपछि जापानी प्रधानमन्त्री मोरी नेपाल भ्रमणमा आएका थिए । उनको भ्रमण नै जापानी प्रधानमन्त्रीको पहिलो औपचारिक नेपाल भ्रमण थियो । त्यसपछि जापानका विदेशमन्त्रीहरू कोइचिरो गेम्बा र तारो कोनो नेपाल भ्रमणमा आएका थिए ।

नेपालका तर्फबाट भने तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सन् २०१८ मा ५ दिने औपचारिक भ्रमणमा जापान गएका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी सम्राट नारुहितोको गद्दी आरोहणका क्रममा सन् २०१९ मा जापान भ्रमणमा गएकी थिइन् । त्यतिबेला उनलाई तत्कालीन प्रधानमन्त्री आबेले समेत भेटेका थिए ।

Logo