बाबा, मम्मीलाई पठाइदिनुस् न !

कृष्णसिंह धामी ।

काठमाडौं । सिभिल हस्पिटल । आइसीयू कक्षको क्याविन नं. ३१२ । ७ वर्षको बालक निमा लामा । हाँस्न खोज्छन्, हाँस्न सक्दैनन्, बोल्न खोज्छन्, राम्ररी बोल्न सक्दैनन् । घरी दायाँ फर्किन्छन्, घरी बायाँ फर्किन्छन् । कता र के गर्दा आफुलाई सहज हुन्छ, त्यसै गर्छन् । एकैछिन आराम गर्दा गर्दै उनको पेट दुख्छ, डाक्टर, नर्स, निमाका आमाबुवा सबै आत्तिन्छन् । केहीबेरमा सन्चो हुन्छ ।

फेरि उनको दिमागले कामगर्न छाड्छ अनि बेहोस हुन्छन् । डाक्टर र नर्सहरू अत्तालिँदै ‘कुनै राम्रो सुविधा सम्पन्न अस्पताल लैजानुहोस्’ भन्दै रिफरको प्रयास गर्छन् । उता निमा केही समयपछि फेरि नर्मल अवस्थामा फर्किन्छन् । उनले यो पछिल्लो समयको अवस्था हो ।

साथीभाइसँगै खेल्ने, स्कूलजाने उमेरमा निमा भने जीवनमरणको दोसाँधमा संघर्षरत छन् । उनले दुई वर्षदेखि यसरी नै ब्लड क्यान्सर जस्तो घातक रोगसँग संघर्ष गर्दै आएका हुन् । नाच्ने, दौडिने, उफ्रिने, आमाबाबुको काखमा रमाइलो गर्ने उमेरमा अस्पतालको बेडमा बसेका उनको दीर्घायूको कामना गर्दै आमाबाबु, हजुरआमा, ठूलो बुबाआदि अस्पतालमै बसेका छन् । उनीहरूले पनि एक महिनादेखि नराम्रोसँग खान पाएका छन्, नत सुत्न । केवल उनीहरूको एउटै ध्येय छ, ‘छोरा चाँडै निको होस् ।’

सिभिलको नर्मल वार्डमा राखिएका निमा एकाएक बेहोस भएपछि आइसीयूमा राखिएको हो । अहिले उनको दिनहुँजसो रगत परीक्षण हुँदै आएको छ । रगतमा हेमोग्लोविनको मात्रा कम हुँदा उनलाई थप समस्या भइरहेको छ । उनी बसेको बेड खेलौनाले भरिएको छ । जहाँ रिमोट कन्ट्रोलबाट चल्ने गाडीलगायतका अन्य खेलौना राखिएको छ । आफूलाई अलि सहज महसुस भएका बेला त्यही खेलौनासँग खेलिबस्छन् ।

आइतबार भेट्न जाँदा उनको त्यस्तो अवस्था देखेर मेरो मन रोयो । दिउँसो तीन बजे म पुग्दा उनको अनुहार मलिन थियो तर पनि उनी आफुलाई सकुशल देखाउने प्रयासमा थिए । त्यहाँ उनका बाबु टलक लामा र म थियौँ । हामी बाहिर निस्कन लाग्दा उनले बाबुसँग ‘बाबा, मम्मीलाई चाँडै भित्र पठाइदिनुहोस् है’ भन्दै सँग विदा भए । उनको त्यो भनाइ सुनेर मेरो मन छोयो । मलाई त्यतिखेर सन्तानले आमाप्रति देखाउने अथाह माया महसुस भयो । मन एकदमभारी बनाएर म बाहिर निस्किएँ ।

पढ्ने रहर अधुरै


निमासँगैका साथीहरू दिनहुँ स्कूल जान्छन् । तर उनले भने अहिलेसम्म स्कूलको ढोकामा समेत टेक्न पाएका छैनन् । उनलाई स्कूल पठाउन भन्दै विश्व निकेतन स्कूल त्रिपुरेश्वरमा नर्सरी कक्षामा भर्ना गरियो । तर, हस्पिटलको सबै रिपोर्ट हेरेपछि विद्यालयले उनलाई राख्न मानेन । उनको विद्यालय जाने सपना टुट्यो ।

७ वर्षअघिको हर्षित परिवार
आजभन्दा ७ वर्षअघि लामाको परिवारमा अत्यन्तै खुशी छाएको थियो । त्यो थियो निमाको जन्म । उनका बाबु टलकका सातभाइमा टलक माहिला । टलकको विवाह दाजु नारायण बहादुर लामाको भन्दा अगाडि भयो । र उनको घरमा दोस्रो सन्तानका रूपमा निमाको जन्मभयो । निमा ६ भाइका एक्ला भतिज ।

निमा परिवारमा सबैको प्यारो बने । सानोमा एकदमै चकचके, सबैभन्दा टाठो थिए । त्यसैले पनि सातबाबु भाइको उनी निकै प्यारो भतिज बने । उनलाई कहिल्यै पनि केही कुराको अभाव हुन दिइएन ।

खुसी एकाएक लुटियो


परिवारमा निकै माया र स्नेह पाएर निमा हुर्किए । उनी पाँच वर्षको हुँदा एक दिन अचानक बेहोस भएर भूइँमा लडे । त्यो दिनबाट टलकको घरमा कहिल्यै खुसियाली छाउन सकेन । उनलाई काठमाडौंका धेरै अस्पतालमा लगियो । सुरुमा त के रोग लागेको हो त्यो समेत पत्ता लाग्न सकेन ।

उपचार गराइरहेको लामो समयपछि उनलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो । त्यो बेला सम्म टलकले आफ्नो सबै सम्पत्ति सिध्याइ सकेका थिए । उनको उपचारका लागि १५ लाखभन्दा बढी रुपैयाँ खर्च भइसकेको थियो ।

थप उपचार गराउन आर्थिक अभाव भएपछि टलकको परिवार थप संकटमा पर्‍यो । उनीहरूले अब निमाको उपचार कसरी गराउने भन्ने आँट समेत गर्न सकेनन् । उनको थप उपचार गर्नझण्डै २५ लाख रुपैयाँ लाग्ने डाक्टरहरूको भनाइ थियो ।

२५ हजार कमाउन त धौधौ परिरहेका बेला टलकको परिवारले कसरी २५ लाख रुपैयाँ जुटाउन सक्थ्यो र ?आजभन्दाकरिब ६ महिनाअघि उनलाई सिभिल हस्पिटलले घर पठायो । आर्थिक अभावमा रहेको परिवारलाई अस्पतालले २५ लाख रुपैयाँ जम्मा भएपछि मात्र उपचार गर्न आउनु भन्दै घर पठाइदिएको थियो ।

मनकारीहरूको सहयोग


अस्पतालले घर पठाइदिएपछि उनीहरू थप मर्कामा परे । त्यसमाथि २५ लाख कुरा सुन्दा त जो कोहीको पनि दिमागले काम गर्न सक्दैन । जुन टलक परिवारलाई पनि भयो । त्यस्तो अवस्थामा देश परदेशमा रहेका नेपालीहरू भगवान बनेर आइदिए । निर्मला लामा, जीवन हमाल ठकुरी, पासाङ तामाङ लगायतका व्यक्तिहरूले निमा बचाऊँ अभियान सञ्चालन गरे ।

जुन अभियानबाट १० लाख रुपैयाँ भन्दा बढीको आर्थिक सहयोग जुट्यो । जुन क्रम अझै जारी छ । हो ,त्यही सहयोगको रकमले टलक परिवारले अहिले निमाको उपचार गराइरहेको छ ।

तिमी चाँडै निको हुन्छौं निमा