कास्कीको मादी गाउँपालिका-१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ ।
समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण पनि यो पछिल्लो समय चासो र चर्चामा छ ।
तालको महिमा र गरिमालाई स्वदेशी एवं विदेशी पर्यटक माझ पु¥याउँदै यसको प्वद्र्धन गर्ने लक्ष्यका साथ मादी गाउँपालिकाले यसको प्रवद्र्धनलाई जोड दिएको वडा नं १ का वडा अध्यक्ष देवीजंग गुरुङले बताए । सिक्लेसबाट कफुचेसम्म पुग्ने पैदलमार्गलाई व्यवस्थित गर्नेतर्फ आफूहरूको चासो र सक्रियता बढेको उनले बताए ।
हराउँदै गएको घोडचढी संस्कृतिको जगेर्नालाई लक्षित गरी गाउँपालिकाले सिक्लेसबाट कफुचेसम्मका लागि अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको उनले बताए । उक्त क्षेत्रमा घोडचढी व्यवसाय सञ्चालन गर्न चाहनेले ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्न पाउँछन् ।
अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको सो तालमा पुग्ने जो कोही त्यहाँको सुन्दर दृश्यबाट लोभिने गरेका छन् । लगभग एक हजार दुई सय वर्गमिटरमा फैलिएको तालको नीलो कञ्चन पानी मनमोहक छ । पछिल्ला वर्षमा उक्त क्षेत्रमा स्वदेशी एवं विदेशी पर्यटकको आगमन वर्षेनी बढ्दै गएको छ ।
ताल कहिले बन्यो भन्ने यकिन तथ्य नभए पनि अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो आएर सो ताल बनेको अनुमान गरिन्छ । उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहेपनि अहिले भने छैनन् । कफुचे नामाकरण सम्बन्धमा स्थानीयको आफ्नै तर्क छ ।
स्थानीयका अनुसार करिब डेढ दशकअघिसम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिन्थ्यो । पछिल्ला समयमा वर्षेनी बढ्दै गएको जलवायु परिर्वतको असरका कारण हिउँ पग्लेर ताल बनेको छ ।
स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य बन्न सक्ने कफुचे हिमतालसम्म पुग्नका लागि बाटोलगायत पूर्वाधारलाई राज्यले प्राथमिकता दिनुपर्ने सिक्लेस–कफुचे मार्गस्थित हुँगुमा होटेल आइसफल चलाउँदै आएका पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए । सिक्लेस–कफुचे मार्गमा पर्ने हुँगु यस क्षेत्रको प्राचीन भेडी गोठ रहने क्षेत्र हो ।
कफुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुँगु पुग्न सक्छन् । हिड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्दछ । हुँगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्ने गर्दछ ।
आज भन्दा डेढ दशक अघिसम्म १०÷१५ वटासम्म भेडी गोठ रहेको हुँगुमा अहिले भने त्यस्ता गोठ छैनन् । तीन वर्ष अघिसम्म स्थानीय मेजा गुरुङले भेडी गोठ सञ्चालन गर्दै आए पनि उनले पनि तीन वर्षयता भेडी गोठ छोडेर होटेल व्यवसाय गर्न लागेका छन् । सिक्लेस हुँदै कफुचेसम्मको पदयात्रा प्रवधन गर्न सकेमा ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक भित्र्याउन सकिने बताउँदै गुरुङले पदयात्रा मार्गलाई भने व्यवस्थित गर्नु जरुरी रहेको बताए । कतिपय स्थानमा बाटो अप्ठ्यारो भएका कारण यसतर्फ राज्यले ध्यान पु¥याउनुपर्ने उनको भनाइ छ ।
पोखराबाट छोटो दुरीमा रहेको कफुचे हिमतालसम्मको पदयात्रालाई प्रवद्र्धन गर्नु आवश्यक रहेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष धर्म पन्थीले बताए ।





























प्रतिक्रिया