काठमाडौं । पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ र सुर्खेतका थारु समुदायले आइतबार अटवारी पर्व मनाएका छन् । यो पर्व हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसीपछिको पहिलो आइतबारका दिन मनाइन्छ । अटवारी मूलतः थारु समुदायका पुरुषहरुले मनाउने भए पनि महिला पनि अटवारी पर्वमा व्रत बस्ने गर्दछन् ।
थारु समुदायको दोस्रो ठूलो पर्वका रुपमा रहेको अटवारी पर्व आज मनाइएको छ । माघीपछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्वका रुपमा थारु समुदायले यो पर्व मनाउने गर्छन । अटवारीको अघिल्लो दिन मध्यरातमा दर खाएर यो पर्व सुरु हुन्छ । दोस्रो दिन व्रत बस्ने र साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरी चोखो रूपमा रोटी, पूरी पकाएर अटवारी पूजा गर्ने चलन रहेको थारु समुदायका स्थानीबासी बताउँछन ।
अटवारी पूजामा रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । ५ अथवा ७ प्रकारका गेडागुडीयुक्त तरकारी र भातको पकाउने गर्दछन । फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन छ । अटवारी पर्व परापूर्वकालदेखि चल्दै आएको थारु समुदायको माघीपछिको ठुलो चाड रहेको स्थानीयबासी बताउँछन् ।
अटवारी पर्व माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाइ र दिदी बहिनी बीच माया, प्रेम साट्ने पर्वका रूपमा मनाइने गरिन्छ । त्यस्तै अटवारीलाई एकता, विजय तथा भ्रातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रूपमा मनाइने गरिन्छ ।































प्रतिक्रिया