योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

केन्द्रबिन्दु
0
Shares

तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । 

बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ । राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार योजनाबद्ध रुपले महेन्द्रनगर बजार बसालेका थिए । महेन्द्रनगरमा विपद्को बेला पनि सहज हुने हिसाबले गल्ली निर्माण गरिएका छन् तर पछिल्लो समय ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार नै डुबानमा पर्न थालेको हो । 

बिहीबार रातिको वर्षाले महेन्द्रनगरको मुख्य बजार डुबानमा परेको छ । यहाँको मदन चोक आसपासका पसल अगाडि जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् । यहाँका व्यवसायी मदन चन्दले ढल निकास र खोलानाला अतिक्रमण गरेका कारण बजार डुबानमा पर्न थालेको बताए । उनले पसल अगाडि डुबान हुँदा आफू धेरै समस्यामा परेको गुनासो गरे। उनका अनुसार कङ्क्रिटले पानी जमिनमुनि रिचार्ज हुन नपाएकाले पनि डुबानको समस्या आएको बताए। 

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पछिल्लो समय खोलानाला अतिक्रमण हुन थालेपछि बजार डुबानमा पर्न थालेको बताए । उनका अनुसार अहिले एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा महेन्द्रनगर बजारलाई आधुनिक सहर बनाइँदै छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणको काम सुरु भएको छ । 

सहरी सडक निर्माण एडीबीको सहयोगमा ३६ दशमलव छ किलोमिटर नालीसहित पक्की सडक निर्माण हुने योजना छ । पहिलो चरणमा १३ दशमलव ८५ किलोमिटर सडक निर्माणको काम सुरु गरिएको छ । विसं २०१४ मा तत्कालिन राजा महेन्द्रले देश दर्शनको क्रममा पूर्वको झापा, ताप्लेजुङ, पश्चिमको दार्चुला हुँदै बैतडी पैदल भ्रमण गर्ने क्रममा बाटोमा भेटिने व्यक्तिलाई सोधपुछ गर्दा त्यहाँको नाजुक स्थिति, गरिबी, खान नपुग्ने कमाइ, खान जमिन पनि नभएको अवस्था थाहा पाएपछि त्यहाँका जनतालाई तराई झर्न आग्रह गरे । 
    
विसं २०१८ देखि पहाडबाट तराई बसाई सर्न सुरु भएको यहाँका जानकार बलदेव अवस्थी बताउँछन् । उनका अनुसार त्यति बेला महेन्द्रननगर बजार गौचरन, खेत रजङ्गल रहेको थियो भने थारुको बस्ती पनि त्यो बेला यहाँ रहेको पाइन्छ । विसं २०१८ मा राजा महेन्द्रले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएको बताइन्छ । त्यति बेला भारतको चण्डीगडको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बनाएको बलदेव अवस्थीले बताए । 
 

Logo