मजदुरीले जीविका चलाउने मुक्तकमैया तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै

मजदुरीले जीविका चलाउने मुक्तकमैया तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै

केन्द्रबिन्दु
0
Shares

कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन । 

विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत छैन । घरमै बसीबसी चौधरीले मनग्य आम्दानी लिँदै आउनुभएको छ । चौधरीको आम्दानी गर्ने माध्यम भनेको तरकारी खेती हो । कमैया मुक्तिको घोषणा भएपछि पुनःस्थापन हुँदा सरकारबाट उपलब्ध गराइएको पाँच कट्ठा जग्गामध्ये दुई कट्ठा जग्गामा चौधरीले घर बताए । 

बाँकी तीन कट्ठा जग्गामा तरकारी खेती गर्छन् । तरकारी खेतीले वर्ष भरिको घरको खर्च चल्छ । “विगतमा घरखर्च चलाउनकै लागि मजदुरी गर्नु पर्ने बाध्यता थियो”, उनले भने, “तरकारी खेती गर्ने तौर तरिका सिकेपछि यसबाटै सहजरुपमा घर खर्च चल्न थालेको छ, वर्षभरि तरकारी खेती हुन्छ, त्यही तरकारी खेतीले जीवन धानिएको छ ।”

चौधरीले वर्षमा तीन पटकसम्म तरकारी रोप्छन् । जसबाट वार्षिक रुपमा रु पाँच लाख जति आम्दानी हुन्छ । हिउँदको समयमा बस्ती नजिकै भएर बग्ने वनहरा नदीको बगरमा बगर खेती गर्नुहुन्छ । त्यसबाट दुई लाख जति आम्दानी हुन्छ । तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि दश कट्ठा जग्गाको वार्षिकरुपमा रु १० हजार भाडा तिर्ने गरी लिजमा लिएका छन् । 

अन्नको जोहो गर्नका लागि स्थानीय बासिन्दाको दुई बिघा जग्गा अधियासमेत उनले कमाउँदै आएका छन् । “छोरालाई महेन्द्रनगरमा डेरामा राखेर स्तरीय विद्यालयमा पढाउँदै आएको छु”, उनले भने, “तरकारी खेतीको कमाइले सबै धानिएको छ”, “बिरामी पर्दा, घरको गर्जो टार्न, बालबालिकाको विद्यालयको खर्च चलाउन र अरु कार्यका लागि कसैसँग कमैया मुक्ति पछि हात थाप्नुपरेको छैन, पाखुरी खियाएर, मिहिनेत गरी आम्दानी गर्दै आएको छु, यसमा परिवारले साथ दिँदै आएका छन्”, चौधरीले गर्व गर्दै भने । 

चौधरीले १३ वर्षको उमेर छँदै चार वटा जमिन्दारको घरमा कमैया बसेर काम गरेका थिए। दत्तरामजस्तै बस्तीका २० मुक्तकमैया परिवारले बर्सातमा काँक्रा, लौका, बोडी, भिन्डीलगायतको तरकारी खेती गर्दछन् । हिउँदमा दुई पटक काउली, बन्दागोभी, टमाटर, लौका, खुर्सानी, हरियो सागपातलगायतको तरकारी रोपेर आम्दानी लिन्छन् । 

जेठ, वैशाखमा प्लाष्टिकको टनेलभित्र काँक्रो रोप्ने गरेका छन् । माघ महिनादेखि जेठको अन्त्यसम्म नदीको बगरमा लौका, फर्सी, काँक्रो, तरभुजा खेती गरेर आम्दानी लिन्छन् । 
“तरकारी खेती गरेर यति धेरै आम्दानी हुन्छ भन्ने पहिला थाहा थिएन”, सैवनिया वडायकले भने, “परिवारका श्रीमान श्रीमती दुवै जना मजदुरीमा जाने गरेका थियौँ, त्यसबाट दैनिक खर्च चलाउनसमेत निकै समस्या हुन्थ्यो, कुनै दिन मजदुरी नपाइँदा भोकैसमेत बस्नुपर्ने अवस्था आइलाग्दथ्यो ।” 

बगरमा उत्पादित तरकारी गहुँलगायतका अन्नसँग साटेर लिने भएकाले अन्नको अभाव नहुने बरु बढी भएको अन्न बेचेर अरु कार्यका लागि खर्च गर्दै आएको उनले बताए । गएको एक महिनामै काँक्रो मात्रै बिक्री गरेर रु २५ हजार बढी आम्दानी गरेको विमल रानाले बताए । तरकारी बजारसम्म बोक्नसका लागि सबै जनासँग मोटरसाइकलको व्यवस्था रहेको छ । 

बाह्रै महिना तरकारी खेती गर्ने थोरै भए पनि बगर खेती गर्नेको सङ्ख्या भने ७० बढी रहने गरेको छ । नगरपालिकको कृषि शाखाका प्रमुख लालबहादुर धामीले तरकारी खेतीमा संलग्न किसानलाई अनुदानमा प्लाष्टिक घर, बीउबिजन, कृषि औजार र यन्त्र उपलब्ध गराइँदै आएको बताँछन्। उनका अनुसार किसानलाई मागअनुसारको बेलाबेलामा तालिमको समेत व्यवस्था गरिँदै आएको छ । 

डकर्मी, कारपेन्टर, प्लम्बिङको सीप सिकेका भने अरु कहाँ अहिले पनि काममा जाने गरेका छन् । तरकारी खेतीमै संलग्नजस्तै अरु सीप सिकेकाले पनि आम्दानी गर्दै आएका छन् । बस्तीमा दुई सय बढी परिवारको बसोवास रहेको छ । 

Logo