नेटुवा समुदायमा छैन दसैंको रौनक

नेटुवा समुदायमा छैन दसैंको रौनक

केन्द्रबिन्दु
0
Shares

वरिपरि पक्की घर, लटरम्म धान झुलेका फाँट, भित्री सडक भए पनि पक्की बाटो तर यही परिवेशमा रहेका छन्, नेटुवा समुदायका एक दर्जन बढी फुसका घर । 

यी नेटुवा जाति दशकौंदेखि सरकारी जग्गामा फुसका घर बनाएर बसेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा नेटुवा समुदायको बसोबास छ । नेपाली हिन्दूहरूको महान् पर्व वडादशैंको चहलपहल चारैतिर बढिरहँदा नेटुवा समुदायमा भने दशैंको उल्लास छैन । 

मधेशी समुदायको दलित जातिको रूपमा परिचित नेटुवाले विजयादशमी पर्व सुनेका छन् तर अझै मनाएका भने छैनन् । सो समुदायमा वडादशैंको टीका नलगाए पनि नवदुर्गाभर हर्षौल्लास छाउने गरेको छ । सो समुदायमा भने चाडपर्वले रौनकले छुन सकेको छैन ।

उमेरले चालिस काटेका महेन्द्र नटुवाले बडादशैं आफूहरूका लागि कुनै रौनकको पर्व नभएको बताउँछन् । सधैं एकछाक कसरी खाने भन्ने पिरलोमा रहेका उनी भन्छन्, ‘एक छाक कसरी खाने चिन्ता यसैमा छ, केको दशैं आउनु ?’

दशैं कसरी मनाउने भन्ने गुनासोभन्दा बढी गुनासो राज्यसामु उनको छ । उनी भन्छन्, ‘हामीहरू राज्यबाटै सबैभन्दा बढी अपहेलित भएका छौं ।’

‘सरकारसँग अल्पसंख्यक जातिको सूचीमा राख्न माग गर्न थालेको ३ दशक बित्यो,’ उनी भन्छन्, ‘राज्यले अझै सुनेको छैन ।’

यही माग लिएर ३ पटक सिंहदरबार धाएको उनले सुनाए । हातमा नागरिकताको प्रमाणपत्र बोकेर गृह मन्त्रालयको दैलो ढकढकाउन अधिकारको लागि पुगेका उनी बताउँछन् । ४५ वर्षीय दिलीप नेटुवाले राज्यले आफूहरूलाई अल्पसंख्यक जातिको सूचीमा राखेर केही सहयोग गरे धेरै चाड खुशीमा बित्ने सुनाए ।

‘न गाँस, न बाँस, न जग्गा जमिन,’ उनले भने, ‘हामी सबैभन्दा पीडित छौं, राज्यले हाम्रो माग कहिल्यै सुनेन ।’ निरास मुद्रामा उनी भन्छन्, ‘गरीब भएर जिउनुको पीडा राज्यको अहोदामा बस्नेलाई के थाहा ?’ थर नेटुवा भएको नागरिकता बनाए पनि आफूहरू पथ्थरकट्टाभन्दा तल्लो जाति भएको उनको दाबी छ ।

‘हामीभन्दा पथ्थरकट्टा उपल्लो जाति हो,’ उनी भन्छन्, ‘हामीले छोएको पानी पनि खाँदैनन् पथ्थरकट्टा । पथ्थरकट्टालाई राज्यले अल्पसंख्यकको सूचीमा राखेर सरकारी सेवासुविधा दिएको छ तर हामीलाई दिएन । सरकारी सुविधा माग्न जाँदा किन दिँदैनन् ? राज्यले भत्ता दिए दशैं पर्व राम्रो मानिन्छ ।’

दशैंमा वरिपरिका अरु समुदायले राम्रो लाउने, मिठो खाने गरिरहँदा नेटुवा समुदायका मानिस भने दिनभरि भिक्षा मागेर पेट पाल्ने योजनामा छन् ।

पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन् भने महिला तथा बालबालिकाले भिक्षा मागेर ज्यान पाल्दै आएका छन् । जिल्लामा झण्डै ३०० को हाराहारीमा नेटुवा जातिको बसोबास रहेको छ । 

Skip This
Skip This
Logo